लक्ष्मण घिमिरे ।
अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्दिय अध्यक्ष चित्र बहादुर केसीले नेपालमा अन्तराष्ट्रिय चलखेल बढेको बताएका छन् । नेपालमा चलखेल गर्न विदेशीले पार्टी खोली सकेको उनले बताए ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाँचौं जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै नेता केसीले नयाँ खोलिएका केही दल विदेशबाट परिचालित भएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रती संकेत गर्दै उनले नेपालमा विदेशीहरुको प्रत्यक्ष संलग्नता रहेको बताए ।
यद्दपी विदेशी चलखेल नेपालमा पहिल्यैदेखी रहेकाले नेपाललाई आत्मनिर्भर बन्न नदिने निति उनीहरुको रहेको बताए । ‘नेपालमा भारत र चिनको हस्तक्षेप पहिल्यै थियो,केसीले भने,‘अहिलेबाट अमेरिका पनि थपिएको छ ।’ चिनलाई कमजोर गराउन अमेरिकाले नेपाललाई प्रयोग गरिरहेको उनको भनाई छ । एमसिसी लगायतका परियोजना त्यसैको एउटा स्वरुप रहेको उनले बताए ।
नयाँ दल बिदेशबाट संचालित रहेकाले उनीहरुले पनि नेपाललाई निकास दिन नसक्ने बताए । नेपालका गरिब नागरिकलाई विदेश पठाउने र यहाँ विदेशी एजेण्डा लागु गर्ने काम भईरहेको नेता केसीको तर्क छ । पुराना दल र नेताहरु पनि निजी स्वार्थमा चुर्लुम्म डुबेकाले देशको स्थिती भयावह भईसकेको उनले बताए । ‘नयाँहरु विदेशी ईशारामा काम गर्ने पुरानाहरु भ्रष्टाचारमा लिप्त छन्,उनले भने,‘अब नेपालको स्थिती के हुने हो ? सम्झदा पनि डर लाग्छ ।’
नेपाली नागरिकले सरकार भएको अनुभुती गर्न नपाएको भन्दै उनले खेतबारी बाँझै राखेर, गाउँ रित्तै गराएर कुन समृद्धीको कल्पना गरेका छौं भन्ने प्रश्न उब्जिएको बताए । गाउँमा बुढाबुढीहरु मात्र रहेकाले युवायुवती सबै विदेश जाने होडबाजिमा रहेको बताए । नेपालमा भएका उद्योग, कलकारखाना ध्वस्त बनाएर युवायुवतीलाई विदेशमा श्रम बेच्न पठाएर नेपालमा सममृद्धी नआउने उनको भनाई छ ।
नयाँ पिढी विदेशी मोहमा परेको भन्दै नेता केसीले नेपालमा बस्न अहिलेको पिढी अनिच्छुक देखिएको बताए । विगतमा बनेका कम्युनिष्ट वा कांग्रेसको सरकारले युवा पिढीलाई विदेशिन बाध्य पारेको उनले आरोप लगाए । ‘कसैले आशा जगाउन नसकेपछी अहिलेको पिढी सबै विदेश तिरै जान थाले,उनले भने,‘मेरै छोराहरुलाई मेलै रोक्न सिकन, अरुलाई झन् कसरी भनौं ?’
संघियताले देशलाई झन् गाँजेको भन्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता केसीले तत्काल संघियताको विकल्पमा जानु पर्ने बताए । विदेशीले ल्याईदिएको संघियाता अहिले नेपालका लागी ‘भालुको कम्पारो’ भएको बताए । महंगो प्रणालीले गर्दा नै नेपालको अर्थव्यवस्था खस्केको उनले बताए ।