नयाँ निर्वाचनपछि एक सय १० दिन संसद चल्दा प्रतिनिधि सभा एउटा कानुन समेत बनाउन असफल भएको छ। २०७९ साल पुस २५ गते सुरू भएको संसदको पहिलो अधिवेशन शुक्रबार राति १२ बजेबाटै अन्त्य हुँदैछ।
कानुन बनाउने मुख्य जिम्मेवारी पाएको प्रतिनिधि सभा कानुन बनाउने कार्यमा भने असफल भएको छ। प्रतिनिधि सभाले एक सय १० दिनमा ८ वटा विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। जबकि शुक्रबारै मात्र संसदीय समिति गठन भएका छन्। जसमध्ये तीन वटा कानुन मात्र यसपटक प्रतिनिधि सभामा पेस भएका थिए। बाँकी पाँच वटा विधेयक राष्ट्रिय सभामा छलफल भई संशोधन भएर प्रतिनिधि सभामा आएका थिए। भ्रष्टाचार निवारण ऐन पहिलो संशोधन विधेयक सैद्धान्तिक छलफल भएर समेत समितिमा गएको छैन।
एक सय दस दिन चलेको संसद अधिवेशनको दौरान २८ वटा बैठक बसेका थिए। संसदको पहिलो अधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुईपटक विश्वासको मत लिएका थिए। सभामुख, उपसभामुख चयनको काम यो अधिवेशनबाट भएको थियो।
प्रतिनिधि सभाले आफ्नो नियमावली निर्माण गर्नेबाहेक कुनै पनि काम यो अधिवेशनमा गर्न सकेन। सांसदहरूले पटकपटक सरकारलाई विभिन्न विषयमा प्रश्न राखे पनि सरकारका तर्फबाट जवाफ नदिएको भन्दै गुनासो गरेका थिए।