१२ मंसिर २०८०, मङ्लबार
१२ मंसिर २०८०, मङ्लबार

नेपाल र युएई बिचको खेल जारी, नेपालको राम्रो प्रदर्शन

एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ। नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै युएईले ब्याटिङ गरिरहेको छ।

युएईले ताजा अवस्थामा १५ ओभरमा ५ विकेटको क्षतीमा ५८ रन बनाएको छ ।  नेपालले युएईको पाँच विकेट लिएको छ। सन्दीप लामिछानेले रोहान मुस्ताफालाई कुशल मल्लबाट २ रनमा क्याच गराए। युएईले १३।१ ओभरमा ५ विकेटको क्षतिमा ५१ रन जोडेको छ। त्यसअघि नेपालका लागि ललितनारायण राजवंशीले चौथो सफलता दिलाए। उनले ९।१ ओभरमा रामेज शाहजादलाई १ रनमा आउट गरे। युएईले ९।१ ओभरमा चार विकेट गुमाउँदा ३५ रन जोडेको छ।

यस्तै करण केसीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा युएईका आर्यन लक्रालाई १३ रनमा आउट गरे। अघिल्लो ओभरमा १२ रनमा ललितनारायण राजवंशीको बलमा भीम सार्कीले बाउन्ड्रीमा क्याच मिस गर्दा उनले जीवनदान पाएका थिए। करणले युएईका वृत्य अरिवन्दलाई विकेटकिपर आसिफ शेखबाट ८ रनमा क्याच गराए।

यस्तै युएईका कप्तान मोहमद वासीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच गराएका थिए। उनले ८ बलमा ११ रन जोडे।

खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झाले स्थान बनाएका छन्। दीपेन्द्रले पछिल्ला पाँच खेलमा राम्रो ब्याटिङ गर्न सकेका छैनन्। तीन पटक दोहोरो अंकमा रन बनाउन चुकेका दीपेन्द्रले पछिल्ला पाँच खेलमा कुल ३४ रन मात्र बनाएका छन्।

नेपाल एसिया कप नजिक
एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै नेपाल एसिया कप २०२३ मा खेल्ने सपनाको नजिक पुगेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई पराजित गर्न सके नेपालको एसिया कप खेल्ने सपना पूरा हुनेछ।

एसिया कपमा स्थान बनाएपछि नेपालले विश्व क्रिकेटका शक्ति राष्ट्रद्वय भारत र पाकिस्तानसँग खेल्न पाउनेछ। आगामी सेप्टेम्बरमा हुने तय एसिया कपको समूह ‘ए’ पाकिस्तान र भारतसँगै एसिसी प्रिमियर कप विजेता खेल्ने तालिका छ। एसिया कपको अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

नेपालका लागि भारत र पाकिस्तानसँग खेल्नु ठूलो अवसर हो। कप्तान रोहितकुमार पौडेलले सोमबार युएईविरूद्धको खेल नेपालका लागि एकदमै महत्वपूर्ण भएको बताएका छन्।

‘भारत र पाकिस्तानसँग खेल्नु हाम्रा लागि ठूलो अवसर हो। त्यसैले फाइनल हाम्रो लागि धेरै महत्त्वपूर्ण छ,’ उनले भने, ‘हामीले फाइनल खेललाई जस्तो परिस्थिति आउँछ, त्यसरी नै लिनेछौं। युएईविरूद्ध खेल्नु दबाबको कुरा हो। फाइनलमा टिमले परिस्थितिलाई राम्रोसँग सम्हाल्छ उसले जित्न सक्छ।’

सेमिफाइनलमा नेपालले कुवेतलाई पछि पारेर फाइनलमा स्थान बनाएको हो। वर्षाका कारण खेल रद्द हुँदा नेपाल समूह विजेता भएको आधारमा फाइनलमा पुग्यो। युएईले भने ओमानमाथि डिएलएस मेथडमा २ रनको जित निकालेर फाइनलमा स्थान बनायो।

पछिल्लो समय यूएईले उत्कृष्ट खेल देखाइएको छ। आइसिसी विश्वकप लिग(२ मा खराब प्रदर्शन गरेपछि क्वालिफायर प्लेअफमा धकेलिएको युएई त्यसपछि भने उत्कृष्ट खेल देखायो। नामिबियामा उत्कृष्ट खेल देखाएर युएईले एकदिवसीय मान्यता जोगाउनुका साथै विश्वकप छनोटमा समेत स्थान बनायो।

जारी प्रिमियर कपमा युएईका युवा ब्याट्सम्यान वृत्य अरविन्दले दुई शतक र एक अर्धशतक प्रहार गरिसकेका छन्। यस्तै कप्तान मोहमद वासीमले पनि एक शतक हिर्काएका छन्। नेपालविरूद्ध खेलेका पछिल्ला तीन खेलमा पराजित भएको युएई घरेलु टिमलाई स्तब्ध पार्न चाहान्छ। तर घरेलु मैदानमा नेपाली टिम लयमा छ। कप्तान रोहित पौडेलसँगै कुशल मल्ल तथा भीम सार्कीले पछिल्ला खेलमा राम्रो ब्याटिङ गरिरहेका छन्। सधैं झैं सन्दीप लामिछाने नेपालका मुख्य हतियार हुन्।

नेपालले पछिल्ला ९ खेलमा अपराजित छ। ११ खेल खेल्न तालिका भए पनि दुई खेल भने वर्षाले अवरूद्ध भएको थियो। भारतीय प्रशिक्षक मोन्टी देसाई नेपाली टिमको प्रशिक्षक नियुक्त भएसँगै नेपाली टिमको प्रदर्शनमा सुधार आएको छ भने टिम भावना बलियो देखिएको छ। गत वर्ष टिम विभाजन भएको भन्दै दुई प्रशिक्षकले राजीनामा दिएका थिए।

पछिल्लो समय नेपालमा भइरहेको वर्षा कारण भने आज सोमबारको खेललाई पनि प्रभावित पार्ने देखिन्छ। मौसम पूर्वानुमानअनुसार आज सोमबार काठमाडौंमा वर्षाको सम्भावना छ। आज नेपाल र युएईबीचको खेल हुन नसकेको अवस्थामा खेल भोलि रिजर्भ डेसम्मका लागि स्थगित हुनेछ।

भोलि मंगलबार पनि मौसम सफा नरहने पूर्वानुमान छ। यद्यपी सोमबारको तुलनामा मंगलबार मौसममा केही सुधार आउनेछ।

भोलिको खेलमा पनि खेलको नतिजा आउन नसके सुपर ओभर हुनेछ। सुभर ‌ओभर टाइ भए दोस्रो सुपर ओभर हुनेछ। सुपर ओभर सम्भव पनि नभए प्रतियोगिताको वरीयतामा अघि रहने टिम च्याम्पियन हुनेछ। यस्तो अवस्थमा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?