नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगीसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी बुधबार साँझदेखि सम्पर्कविहीन छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका उनलाई पक्राउ गर्न प्रहरीले अदालतबाट पुर्जी लिएको केही घण्टामै फरार भएका हुन् ।
रायमाझीले प्रयोग गर्दै आएको प्रदेश–३–०१–०२२ च–०५८२ नम्बरको टाटा हेक्सा गाडी बिहीबार दिउँसो चितवनबाट मुग्लिन हुँदै काठमाडौँ आएको छ। सो गाडीमा रायमाझी आफैँ काठमाडौँतर्फ आइरहेको अनुमान गरी पिछा गरेकोमा काठमाडौँ आइपुग्दा भने गाडीमा चालक मात्र रहेको पाइएको प्रहरीले जनाएको छ।
रायमाझी सो गाडीमा नआएको हो वा बीच बाटोबाटै फरार भएको हो भन्नेबारे यकिन भएको छैन। रायमाझी सम्पर्कविहीन भएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए। नक्कली भुटानी शरणार्थी बनाउन प्रमुख भूमिका खेलेको आरोपमा प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई बुधबार पक्राउ गरेको थियो।
२०७८ साउन २७ देखि २०७९ असोज २ सम्म गृहसचिव रहेका पाण्डेले सङ्गठित गिरोहसँग मिलेमतो गरी नक्कली शरणार्थी बनाउन नीतिगत निर्णय गराएको र रकमसमेत लेनदेन गरेको खुलेको प्रहरीको दाबी छ। काठमाडौँ जिल्ला अदालतले सचिव पाण्डेलाई तीन दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमतिसमेत दिएको छ। एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई प्रहरीले बुधबार बुटवलबाट पक्राउ गरी काठमाडौँ ल्याएर अदालतबाट थुनामा राख्न अनुमति लिएको छ। यस प्रकरणका ‘बादल’का छोरा प्रतीक तथा पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएकोमा प्रहरीले अझै नियन्त्रणमा लिएको छैन।
दिनभर सुरक्षा घेराबीच भएको कार्यक्रम सकेर रूपन्देही झरेपछि रायमाझी सम्पर्कविहीन भएका हुन् । उनले नेपाल प्रहरीका पीएसओलाई काठमाडौंमै छाडेर गएका थिए । नेपाल प्रहरीका अधिकारीले बुधबार साँझबाट रायमाझी सम्पर्कमा नरहेको र खोजी जारी रहेको जानकारी दिए ।