२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

सच्चिने कि सक्किने ?

अहिले नेपाली राजनीतिमा नेपालका पुराना भनिएका राजनीतिक दलप्रति लक्षित गरी ‘सच्चिने कि सक्किने’, सुध्रिने कि सक्किने’, ‘पुराना दलहरूको भविष्य छैन’ जस्ता पदावलीको प्रयोग भइरहेको छ । नयाँप्रतिको आकर्षण र पुरानाप्रतिको आक्रोश रास्वपामा केन्द्रित भएको छ । पुराना दल चकमन्न अँध्यारो रातमा मस्त निदाएर समाजवादको सपना बाँडिरहेका छन् । यी दलसँग समाजवाद बाँड्ने नीति त छ, तर जनताको मन छुने कार्यक्रम छैन ।

नेताहरूको आचरण र व्यवहार पञ्चयातकालीन पञ्चहरूको भन्दा फरक छैन । सचिवालय कमिसनको खोजीमा निस्किएको छ । त्यसैले उसलाई फोन उठाउनेसम्मको फुर्सद छैन । मन्त्रीहरू एक लाखको योजना उद्घाटन र शिलान्यास गर्न दश लाख खर्च गरेर हिँडिरहेका छन् । आफ्नो पद र प्रतिष्ठा धरापमा पर्न थाल्यो भन्ने लाग्यो भने राजनीतिक उपलब्धि गुम्न थाल्यो भनेर हल्ला, दंगा गर्ने प्रवृत्ति पनि हामीसँग जिउँदै छ । यी र यस्ता यावत् कुराहरू झेलिरहेका नेता, कार्यकर्ता र जनताले सिक्ने कि सच्चिने भन्नु स्वाभाविक हो । सच्चा दल बन्ने कि फोहरको ढल ? दलहरूसामु यक्ष प्रश्न बनेर उभिएको छ ।

दलहरूका गलेका ‘नौ नाडी’ : अहिले पुराना भनिएका दलहरूको ‘नौ नाडी’ गलेका छन् । नौ नाडी गल्नु भनेको समस्याको समाधान गर्न हम्मेहम्मे पर्नु हो । समस्याले थिचिएर अस्तव्यस्त बन्नु, निराश हुनु, काम र लक्ष्यप्रति आशावादी बन्न नसक्नु र अर्को शक्ति उदाएकामा छटपटी पैदा हुनु र कामप्रति थाकेर लखतरान बन्नु हो । अरू शक्तिभन्दा सापेक्षित बलियो मानिएको एमाले पनि पछिल्लो उपनिर्वाचनको परिणामबाट निकै झस्किएको छ । त्यसो त सहरी क्षेत्रमा एमालेको मत खस्किँदो स्थितिमै छ । गत निर्वाचनमा काठमाडौंको परिणाम हेर्दा एउटा क्षेत्रबाहेक अन्य क्षेत्रमा उसले विजय हासिल गर्न सकेन । महानगरपालिकामा समेत हार व्यहोर्नुपर्‍यो । त्यस्तै अन्य सहरी क्षेत्रमा समेत प्रत्यक्षतर्फको मत परिणाम निकै कमजोर देखिन्छ ।

नेपाली कांग्रेसको अवस्था पनि झन्डै त्यस्तै छ । विगतमा बाबुले भनेको ठाउँमा भोट खसाल्ने प्रवृत्ति बोकेको कांग्रेस पार्टीमा यसपटकदेखि मत रूपान्तरण हुन पुगेको छ । छोरा, नातिहरू आफ्ना बाबुआमाले भनेको ठाउँमा होइन, उनीहरूले भनेको ठाउँमा भोट खसाल्न बाध्य छन्, बाबुआमाहरू । माओवादीको कथा पनि यस्तै हो । अरू पार्टीभन्दा माओवादी नयाँ हो, तर यसको चरित्र, आनीबानी, कार्यशैली, आचरण र व्यवहार पुराना पार्टीको भन्दा फरक हुन सकेन ।

उही काम, उही धन्दा र उही कार्यशैली अपनाएपछि यो पनि पुरानै पार्टीमा दर्ज हुन पुग्यो । एजेन्डा र उपलब्धि नयाँ तर चरित्रचाहिँ पुरानै भएपछि माओवादीप्रति जनताको बुझाइ पनि एमाले र कांग्रेससरह हुन पुग्यो र ऊ पनि क्रमशः कमजोर हुन पुग्यो । सशक्त एजेन्डा बोकेको पार्टी भएर पनि जनताको मनोविज्ञानसित जोडिन नसक्दा दिन–प्रतिदिन कमजोर बन्दै जाने र उभिन पनि अरूको सहारा खोज्नुपर्ने बाध्यता माओवादीसामु छ ।

दलहरूसँग समाजवाद बाँड्ने नीति त छ, तर जनताको मन छुने कार्यक्रम छैन । नेताहरूको आचरण र व्यवहार पञ्चहरूको भन्दा फरक छैन । मन्त्रीहरू एक लाखको योजना उद्घाटन र शिलान्यास गर्न दश लाख खर्च गरेर हिँडिरहेका छन्, अनि कसरी बढ्छ, दलहरूप्रति जनविश्वास ?

पार्टीका नेताहरू पुराना अञ्चालाधीशजस्ता बन्न पुगेका छन् । नियम, विधि र प्रणाली मान्नु नपर्ने मनोविज्ञान बोकेर जनताका शासक बन्न खोज्दा जनमत अर्को ठाउँमा बदलिएको छ । दलहरूमा माथिल्लो पदमा जानु वा पुग्नुलाई माथिल्लो डिग्रीको सर्टिफिकेट लिएजस्तो बुझ्ने मनोरोग व्याप्त छ । भूमिका पूरा गर्न दिएको जिम्मेवारीलाई सानको पद सम्झनु पार्टीका लागि घातक प्रवृत्ति हो । सच्चिन दिएको सुझाबलाई आलोचना सम्झेर निषेध गर्ने र आफू नै ब्रह्मज्ञानी सम्झने मनोवृत्ति बोकेर अरूलाई पछि पार्न सकिँदैन । धर्तीमा नटेक्ने, व्यक्तिगत सम्बन्धका आधारमा नियुक्ति खाने, कमिटी र संस्थागत निर्णय नखोज्ने परिपाटीले पार्टीको जग र निर्णय क्षमता कमजोर हुँदै जाने प्रक्रियाका कारण जनताको पुराना दलप्रतिको भरोसा टुट्दै गएको छ ।

समाजवादी मोर्चा प्रतिगमन रोक्ने हतियार :  यतिवेला समाजवादी मोर्चा बनाउने हल्ला व्यापक छ । एकपटक पूर्वमाओवादीबीच पार्टी एकता गर्ने भनेर पनि यस्तै हल्ला मच्चिएको थियो । यद्यपि यो विषय मन्दगतिमा चलेकै छ । बाबुराम भट्टराई समूहसँग त झनै पार्टी एकता भई नै हाल्छ जस्तो गरी एकल चुनाव चिह्नमा चुनाव लडेर केही स्थानमा जित पनि हासिल भयो । तर, अहिले त्यो कुरा पनि सार्वजनिक मञ्चमा गफगाफ गर्ने मसला मात्र बनेको देखिन्छ ।

विषयहरू गम्भीरतापूर्वक उठ्ने तर त्यसको बैठान सही ढंगले नहुने हुँदा राजनीतिक दलको कार्य सम्पादन क्षमताप्रति वेलावेलामा प्रश्न उठ्ने गर्छ । मन्त्री भएपछि केही पढ्नै नपर्ने, नजानेका कुरा अरूसँग सोध्नै नहुने, पार्टीको उपल्लो पदमा पुग्नेबित्तिकै मभन्दा जान्नेबुझ्ने कोही छैन भन्ने घमण्ड गर्ने, जिम्मेवारी दिँदा शून्य परिणाम निकाल्ने, आर्थिक अनुशासन र पारदर्शिता मान्नु नपर्ने, उपल्लो पदमा हुनेबित्तिकै नियम मिच्न खोज्ने, नियम, विधि र प्रणालीलाई पैतालामा टेकेर हिँड्ने प्रवृत्तिलाई अभैm प्रोत्साहन गर्न खोज्ने भाष्य निर्माण गरेर दलहरूले आफैँप्रतिको विश्वास घटाएका छन् ।

एकपटक दलहरूले जनताबाट विश्वास गुमाइसकेपछि राजनीतिक कमाण्ड फेरि आफ्नो हातमा फर्किन कठिन हुन्छ भन्ने सत्य सायद सबैले बुझेकै होलान् । यस अवस्थामा समाजवादी मोर्चाको हल्ला चल्दा कतै यो पनि उम्रिन नपाउँदै तुहिने त होइन भन्ने आशंका व्याप्त छ । फेरि नौरंगी दल मिलेर समाजवादी मोर्चा बनिहाले पनि यसले प्रतिगमन रोक्छ कि यो नै प्रतिगमनको मतियार बन्छ ? यो पनि आशंकाकै घेरामा छ । कुराले मात्र प्रतिगमन रोकिँदैन, काम गरेर पनि देखाउन सक्नुपर्छ ।

एजेन्डा मात्र अग्रगामी भएर हुँदैन, लागू गर्ने निकाय, नेतृत्व र प्रणाली पनि अग्रगामी हुनुपर्छ । तर, हामी भने एजेन्डा प्रगतिशील छ भन्दै आफूचाहिँ प्रतिगामी काम र आचरणमा रमाइरहेका छौँ । अनि बन्ला त समाजवादी मोर्चा ? यहाँ समाजवादी मोर्चाको विरोध गर्न खोजिएको होइन, तर यसमा सामेल हुने दलहरूको प्रकृति आचरण हेर्दा स्वार्थका टोकरी बोकेर समाजवादको रटान लगाउने प्रयासबाहेक केही देखिँदैन । तर, फेरि साँच्चै प्रतिगमन रोक्ने हो भने समाजवादी मोर्चा अहिलेको पहिलो आवश्यकता भने हो । त्यसैले, सम्भावित समाजवादी मोर्चालाई कसैको आत्मसन्तुष्टि पूरा गर्ने साधन होइन, प्रतिगमन रोक्ने हतियार बनाऔँ ।

राजनीतिको मूल सफा गरौँ :  राजनीतिक दलहरूभित्र सबैभन्दा ठूलो समस्या भनेको नेतृत्व प्रणालीको हो । अझ कम्युनिस्ट पार्टीमा त झन् सामूहिक छलफलका आधारमा निकालिएको निष्कर्षलाई व्यक्तिगत जिम्मेवारीसाथ पूरा गर्नुपर्ने हो । तर, यहाँ त व्यक्तिले गरेका निर्णय समूहले लागू गर्नुपर्ने बाध्यता छ । यो रोग अरू लोकतान्त्रिक र गैरलोकतान्त्रिक सबै दलमा छ । अहिले मात्र जन्मेको रास्वपा पार्टीमा पनि यो समस्या प्रस्ट देखिन्छ ।

यो पार्टीका सभापतिले आफू गैरसांसद भएका वेला सकभर आफैँ मन्त्री बन्ने, नपाए आफ्नो दलका अरू बन्न नपाउने गरी बन्ध्याकरण गरिदिए । उनले अहिले फेरि जितेर आएका छन् र नयाँ स्तरको सत्ता बार्गेनिङ सुरु गरेका छन् । उपेन्द्र यादवलाई जसरी पनि सांसद बन्नुपर्ने बाध्यता के थियो ? अहिले प्रदेशहरूमा हेर्दा त्यहाँ सत्ताको रसास्वादन गर्न मरिहत्ते गर्नेको रमिता देख्न्न पाइन्छ ।

सुशासनको धज्जी उडाएर आर्थिक लेनदेनको बार्गेनिङ गर्न ठाउँ–ठाउँमा बिचौलिया नियुक्त भएका समाचार बाहिरिएका छन् । नियमले हुने काम पनि हप्तौँ लगाएर जनतालाई दुःख दिने क्रम रोकिएको छैन । यी सबै तथ्यले सरकारले गरेका अन्य कैयौँ राम्रा काम र निर्णय पनि बदनामीको सिकार भएका छन् । त्यसैले समाजवाद र समृद्धिको यात्रामा दलहरूको निर्णय प्रणाली, कार्यक्षमता र नियतको समस्या प्रबल देखिएको छ । सोच नै फोहोर भएपछि परिणाम पनि फोहोर नै निस्किनु स्वाभाविक हुन्छ । अहिले नयाँ भनिएको रास्वपा पार्टी पनि कालान्तरमा यही रोगको सिकार बन्नेमा शंका छैन ।

अहिलेको ऊप्रतिको आकर्षण क्षणिक उत्तेजना र अन्य दलप्रतिको आक्रोशको परिणाम हो । तर, यसो भन्दैमा राजनीतिक नेतृत्वले अरूलाई गाली गरेर होइन, परिणाम देखिने गरी काम गर्नुपर्छ । पहिले आफ्नो दलभित्र सुशासन कायम गर्ने, नेतृत्व प्रणालीलाई पारदर्शी बनाउने, कार्यसम्पादन मूल्यांकनलाई सही ढंगले कार्यान्वयन गर्ने, उपल्लो पदमा छ भने पनि शून्य परिणाम मात्र निकाल्नेलाई मन्त्रीमा सिफारिस नगर्ने, एउटा व्यक्तिलाई मात्र नियुक्ति र सिफारिसमा नपार्ने, दक्ष र योग्य अरू पनि छन् भन्ने बुझेर जिम्मेवारी दिने, पार्टीभित्र वंशवाद नलाद्ने जस्ता विषयमा सुधारका काम गर्ने हो भने दलहरू विघटन हुनबाट जोगिनेछन् । अन्यथा, हामी अग्रगामी भन्दाभन्दै राज्य प्रतिगामीको हातमा पुग्नबाट कसैले रोक्न सक्नेछैन । त्यसैले सबभन्दा पहिले राजनीतिको मूल सफा गरौँ, अरू कुरा क्रमशः सच्चिँदै जानेछन् ।

अन्त्यमा विश्व राजनीतिमा देखिएको पछिल्लो परिदृश्य, चीन र अमेरिकाबीचको बढ्दो टक्कर, भारतीय शासकको नेपाललाई गलाउने, थकाउने र आत्मसमर्पण गराएर आफ्नो अनुकूल सरकार बनाइराख्ने रणनीति, देशभित्रका राजावादीहरू गणतन्त्रको जग भत्काउन कम्मर कसेर लागेको राजनीतिक परिस्थितिमा प्रतिक्रियावादीहरूले नेपालमा बहुदलीय होइन, दुईदलीय सत्ताको अभ्यास गर्न खोजेको देखिन्छ । त्यसकारण दलहरू पनि एक–आपसमा गाभिने, मर्ज हुने र लोकतान्त्रिक तथा गणतान्त्रिक दलहरूका रूपमा अभ्यास गर्दा राम्रो हुन्छ कि !

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?