प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले तातेको छ । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसद, नेमकिपाका सांसद र स्वतन्त्र सांसदले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण उठाएका हुन् ।
संघीय संसद्को बजेट अधिवेशनको पहिलो बैठक आइतबार प्रतिनिधिसभाको बैठकको सुरुमा नै सांसदहरूले आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै सिटबाट उभिएका थिए । सभामुख देवराज घिमिरेले अधिवेशन आह्वान गर्न राष्ट्रपति कार्यालयको पत्र वाचन नगर्दै उक्त विषय राख्नुपर्ने माग गरेका थिए ।
सभामुखले आकस्मिक समयमा बोल्ने व्यवस्था मिलाउने भनेपछि मात्रै सांसहरू बसेका थिए । सांसद प्रेम सुवालले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको बताए । ८ सय ७५ जनाबाट १५ देखि ५० लाखसम्म उठाएर अर्बौं रकम ठगी गर्ने को हुन् ? भन्ने प्रश्न उनको थियो ।
सांसद अमरेशकुमार सिंहले २०६३ पछि सर्वदलीय भ्रष्टाचारको नमुना नेपाल भएको बताए । ‘कर्मचारी फसाउने राजनीतिक नेतृत्व जोगिने’ गलत प्रवृत्ति अगाडि बढेको सिंहको भनाइ थियो । भुटानी शरणार्थीको नाउँमा नेपालीलाई भुटानी शरणार्थी बनाउने कागजातमा मुख्यसचिवको हस्ताक्षर भएको पनि उनको भनाइ थियो ।
‘बहालवाला सचिव पक्राउ परेका छन्, पहिलोपटक । मिलिजुली गरेर राजनीतिक व्यक्तिलाई उम्काउने कुरा जनता स्वीकार गर्दैन । २०६३ यताका जति ठूला भ्रष्टाचारको उच्च स्तरीयमा छानबिन समिति गठन गर्नुपर्छ,’ उनले भने । उनले एउटै बिचौलिया सबै पार्टीको प्यारो कसरी भयो भनेर प्रश्न गरेका थिए ।
एमाले सचेतक महेश बर्तौलाले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा गिराउने काम भएको बताए । त्यस कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।