लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीमा आगलागीले भवितव्य बनाएको छ । मंगलवार लागेको आगोले भुमिकास्थानका चार जनाले ज्यान गुमाएका छन् ।
भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोलाबाट सल्किएको आगो पदम बेल्वासेको घरसम्म पुगेपछी निभाउने प्रयासमा पाँच जना जलेर घाईते भएका थिए । जसमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पुष्टी गरेको छ ।
आगोमा परेर ५५ वर्षिय पदम बेल्वासे, ३६ वर्षिय माधव बेल्वासे, ५२ वर्षिय घनश्याम बेल्वासे, ७२ वर्षिय पिताम्बर बेल्वासे र २६ वर्षिय अस्मिता बेल्वासे जलेर गम्भीर घाइते भएका थिए ।
घाइते मध्ये पिताम्बरको उपचारकै क्रममा पाल्पाको रामपुरमा मृत्यु भएको हो भने पदमको अस्पताल लैजाँदै गर्दा चितवनको नारायणघाट नजिक पुग्दा हिंजो नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए । यस्तै घनश्याम र माधवको उपचारका क्रममा काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा आज बिहान मृत्यु भएको हो ।
२६ वर्षिय अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहको छ । उनको अवस्था मध्यम छ । आगोमा परेर घाईते भएपछी उनिहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लैजान सिफारिस गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं लैजान सिफारिस गरिएको थियो ।