सामाजिक सञ्जालमा त्यति सक्रिय नहुने पूर्वमन्त्री टोपबहादुर रायमाझीको नामबाट आएको स्टाटस बुधबारदेखि भाइरल बनाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका रायमाझीले आफ्नो वास्तविक आईडीमा अप्रिल ७ मा उनका छोरा सन्दीप रायमाझीले लेखेको स्टाटस शेयर गरेयता केही लेखेका छैनन् ।
तर, उनको नामबाट एडिट गरेर बनाइएको उनको धारणा अहिले भाइरल बनेको छ । भाइरल बनेको स्टाटसमा स्वास्थ्य अवस्था खराबी भई अस्पतालमा उपचार गराइरहेको भन्दै उक्त फेक स्टाटसमा शरणार्थी प्रकरणमा कानूनअनुसार दोषी ठहरिए सजायको भागीदार हुन तयार छ । आफूमाथि लागेका झूटो आरोप झूटो साबित गर्न साढे ५ बजे प्रहरीको अनुसन्धानलाई सहयोग गर्न उपस्थित हुनेछु भनी उल्लेख छ ।
रायमाझीको वास्तविक एकाउन्टमा अप्रिल ७ पछि केही अपडेट देखिँदैन । त्यो भन्दा अगाडि मार्च २८ मा एक भिडिओ शेयर गरेका छन् । अप्रिल ७ मा उनले छोरा सन्दीपले लेखेको स्टाटस शेयर गरेका थिए ।
रायमाझी एकसाता अघि पक्राउ पुर्जी जारी भएको समयमा अर्घाखाँचीको बलकोटस्थित जनबोध विद्यालयको कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै थिए । उनी त्यहाँको कार्यक्रम सकाएर प्रहरी सुरक्षामै बुटवल हुँदै भैरहवा पुगेका थिए । सोही दिन अर्घाखाँचीमै रहेका उनका छोरा सन्दीप रायमाझी पनि उनीसँगै अर्को गाडीमा बुटवल आएपनि सोही दिन पक्राउ परेका थिए । सन्दीपलाई बुटवल हुँदै भैरहवाबाट प्रहरीले काठमाडौ पुर्याएर अनुसन्धान थालेको छ ।
भैरहवामा प्रहरी निगरानीमा रहेका रायमाझी गाडी तथा ड्राइभरलाई छाडेर प्रहरी निगरानीबाट सम्पर्कबिहीन भएका हुन् । उनी प्रहरी निगरानीबाट कसरी छुटे भन्ने विषयमा अहिले गम्भीर चासोको विषय मात्रै भएको छैन प्रहरीको तीव्र आलोचना भएको छ ।
बुधबार नै उनले संसद सचिवालयमा बिरामी परेको पत्र पठाएका छन् । बुधबार नेकपा एमालेले उनलाई निलम्बन गरिसकेको छ ।