तस्बिर हेर्दै जिउमा काँडा उठ्ने यो दृश्य हो भुमिकास्थान २, ढाकाबाङ बगमारे घाटको। गत मंगलबार लागेको आगोले ज्यान गुमाएका चार जनाको बिहीबार एकै ठाउँ दाहसंस्कार गरिएको यो हृदय विदारक तस्बिरले नै धेरै कुरा बताउँछ।
एकै गाउँका चार जनाले ज्यान गुमाएपछि यती बेला तिरतिरे गाउँमा ‘शाेक’ छाएको छ। सबै तिर सन्नाटा छ। हावाको वेगसंगै आफ्नाहरु सम्हालिन नसकेर रोएको, चिच्चाएको, पुकार गरेको आवाज मात्र सुनिन्छ। नरोउ भन्ने मान्छे पनि छैनन्। किनकि त्यहाँ आँखामा आँसु नभएको शायदै कोही थिए।
सबै हाँसीखुशी बसेका उनीहरूलाई के थाहा? एक झिल्को आगोले सबै सखाप पारिदेला भन्ने। एकैछिनको मुस्लो खै कताबाट आयो? अनि छेद विच्छेद बनाएर गयो। कसैले केही सोच्ने, बुझ्ने मौका पाउनु भन्दा अघि नै आगोको लप्काले बेरिसकेको थियो उनीहरूलाई।
पदमकी छोरी पवित्रा भन्छिन्–‘हतार हतारमा गाडी मगाएर अस्पताल पठाइयो। सन्धिखर्कमा मलमपट्टी गरेपछि थप उपचार पाल्पामा गराउनु पर्छ भनेर पाल्पा लगियो। त्यहाँ पनि उपचार हुन नसकेपछि काठमाडौँ लैजान पर्छ भन्ने कुरा आयो। हामीले आस मारेका थिएनौँ। बुवा पिडाले छट्पटाई रहनुभएको थियो। नारायणघाट पुग्दा नपुग्दै उहाँले हामीलाई छोडेर जानुभयो।’
सबै पार्थिव शरिलाई एकै पटक अन्तिम बिदाइ गर्ने सल्लाह भएपछि काठमाडौँमा मृत्यु भएका दुई जनाको शव आउँदासम्म पर्खिनु प¥यो। दुई शव बुधवार दिउँसो नै अर्घाखाँची अस्पतालमा ल्याएर राखिएको थियो भने काठमाण्डौबाट ल्याउनु पर्ने शव आज (बिहीबार) मात्र आइपुगेका थिए। चार ओटै शव जिल्ला आइपुगेपछि सबैको एकै ठाउँ दाहसंस्कार गरिएको छ। आफ्ना र आफन्तजनले आगोमा जलेर दिवंगत भएका शवहरूलाई फेरी आगोकै दागबत्ती दिएर दाहसंस्कार गरे। भुमिकास्थान २ कै स्थानीय बगमारे घाटमा उनिहरुको दाहसंस्कार गरिएको स्थानीय बाबुराम खनालले जानकारी दिए।
आगोमा परेर ५५ वर्षिय पदम बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे र ७२ वर्षीय पिताम्बर बेल्वासेले ज्यान गुमाएका हुन्। मृतक मध्ये पिताम्बरको उपचारकै क्रममा पाल्पाको रामपुरमा मृत्यु भएको हो भने पदमको अस्पताल लैजाँदै गर्दा चितवनको नारायणघाट नजिक पुग्दा मंगलवार राति नै मृत्यु भएको थियो। यस्तै घनश्याम र माधवको उपचारका क्रममा काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा बुधवार बिहान मृत्यु भएको हो।
भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोलाबाट सल्किएको आगो घर बस्तीसम्म पुगेपछि निभाउने प्रयासमा पाँच जना जलेर घाइते भएका थिए। जसमध्ये चार जनाको मृत्यु भएको हो।
अर्की घाइते २६ वर्षीय अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम छ। आगोमा परेर घाइते भएपछि उनीहरूलाई जिल्ला अस्पताल सन्धिखर्कमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लैजान सिफारिस गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ लैजान सिफारिस गरिएको थियो।