१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार

अर्घाखाँचीका पालिकाहरुमा छैनन् दमकल, विपद व्यवस्थापन फितलो

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । भनिन्छ, ‘विपत्ति बाजा बजाएर आउँदैन ।’ र त समाजमा हरेक विपदमा अपुरणीय जनधनको क्षति हुन्छ । यस्तो क्षतिमा स्थानीय सरकार, सरोरकारवाला र स्वयं आम नागरिकले पूर्ववत सचेतता, योजना र तयारीमा यथेष्ट ध्यान दिन सके विपत्ति रोक्न सकिने ठाउँमा नियन्त्रण गर्न सकिन्छ भने विपत्ति रोक्न नसकिने अवस्थामा क्षति न्यूनीकरण गर्न सकिन्छ । तर, हिंउद सुरु भएसंगै दैनिकजसो सामुदायिक तथा निजी वनहरुमा भिषण आगलागी भईरहँदा पनि जिल्लामा विपद् पूर्वको तयारी यथेष्ट रुपमा हुन सकेको छैन ।

तयारी स्वरुप विपद सुरक्षा योजना, विपद बैठक, आवश्यक तयारी, पुर्व अभ्यास नभएका पनि होईनन् तर वास्तविक घटना हुँदा यो तयारी अपुरो देखिएको छ । जिल्लाभरमा आगलागी हुने जोखिमयुक्त क्षेत्रको पहिचान, त्यसको संवेदनशीलताको आधारमा वर्गीकरण, जोखिम प्रभावित क्षेत्रका नागरिकलाई स्थान्तरण वा सचेतता, सहयोग, विपत्त वा भवितव्यमा उद्धारका लागि जनशक्ति, यन्त्र उपकरण र स्रोत साधनको यथोचित व्यवस्थापनमा स्थानीय सरकारले पनि प्रभावकारी कदम चाल्न सकेका छैनन् ।

अर्घाखाँचीका ६ स्थानियतह मध्ये पाँच तहमा दमकल नै छैनन् । सन्धिखर्क नगरपालिका बाहेक अन्य कुनै पालिकामा दमकल छैनन् । वन जंगलमा लागेको आगो निभाउन सडक अभावले त्यती सम्भव नदेखिएपनी दमकल हुँदा गाउँबस्ती जोगाउन महत्वपुर्ण साबित हुन्थ्यो । दमकल खरिदका विषयमा पालिकाले कुरा अँगाडी बढाएको नगरका मेयर झविलाल थापाले बताए । ‘साँघुरा सडक छन् । अधिकांश सडकमा दमकल जाँदैनन्,मेयर थापाले भने,‘दमकल खरिद गर्ने प्रक्रिया अँघी बढाउँछौं, पुग्ने ठाउँमा लैजानु पर्छ ।’

सन्धिखर्कको एउटा दमकल जिल्लाका सबै पालिकाले प्रयोग गरिरहेका छन् । एकैपटक धेरै ठाँउमा आगलागी हुँदा दमकललाई भ्याई नभ्याई हुन्छ । सबैठाउँ दमकल पुग्ने अवस्था पनि छैन । एकैपटक सबै ठाँउ जाने अवस्था पनि रहँदैन । यस्तोमा पालिकाहरुमा दमकलको अभाव खड्किएको छ ।

डिभिजन बन कार्यालय अर्घाखाँचीका अनुसार जिल्लामा यो वर्ष मात्र ५३ ठाउँमा आगलागी भएको छ । यस वर्ष अर्घाखाँचीका १ हजार चारसय भन्दा धेरै हेक्टर क्षेत्रफलमा आगलागी भएको सहायक बन अधिकृत मोतीराम पौडेलले जानकारी दिए। गत मंगलवार मात्र एकै दिन भुमिकास्थानको तिरतिरेसंगै सन्धिखर्कको वाङला, पाणिनीको पोखराथोकमा पनि आगलागी भएको थियो । सन्धिखर्कमा लागेको आगोले मानविय क्षती नभएपनि ५ ओटा भैंसी, ३ वटा बाख्रा र झन्डै १ हजार कुखुरा जलेर नष्ट भएका छन् । दुई घर र तिन ओटा गोठ जलेर नष्ट भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घर तथा बस्तीहरु क्षती हुन बाट जोगिएका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?