२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

प्रचण्ड शक्तिको सिंहावलोकन

किशोर नेपाल ।

देयर इज नो इभिल विदाउट गुड’ ! केही समयअघि नेपाल आएका स्तम्भकार एकजना विदेशी पत्रकार मित्र आफ्नो अनुभव सुनाउँदै थिए– गज्जबको रहेछ प्रचण्डको व्यक्तित्व । उहाँबारे एक साताबीच एउटै मानिससँग चारपटक कुरा गर्दा दुईपटक उसले उहाँको चरम विरोध गर्‍यो भने दुईपटक पूर्ण समर्थन गर्‍यो । पाँचौँपटक उसले उहाँको समर्थन र विरोध केही नगरी यति मात्रै भन्यो– समकालीन नेपालमा उहाँबराबरको नेता छैन ।

उसको अनुभव अतिरञ्जित थिएन । नेपाली राजनीतिको कुनै पनि मौसम, कुनै पनि महिना र कुनै पनि दिनले त्यतिवेलासम्म पूर्णता पाउँदैन, जबसम्म सञ्चार माध्यममा पुष्पकमल दाहालको औपचारिक नामले राज्यसत्ताको केन्द्रमा स्थापित हुनुभएका माओवादी अध्यक्ष प्रचण्डको निन्दा र महिमाको विवरण आउँदैन । एक हिसाबले प्रचण्ड भाग्यमानी हुनुहुन्छ । कुनै पनि राजनीतिक नेताले जनताको निन्दा वा प्रशंसा पाएन भने ओइलाउँछ । प्रचार–प्रसारले नेताहरूको शरीरमा अतिरिक्त ऊर्जा प्रवाह गर्छ । यो ऊर्जा प्रचण्डले निरन्तर पाइरहनुभएको छ ।

विदेशी पत्रकार र पर्यवेक्षकका लागि यो नौलो अनुभव भए पनि हाम्रा लागि यो नयाँ विषय भने होइन । यो कुरा सत्य हो, प्रचण्डसदृश अर्को नेता आजको मितिमा नेपालमा छैन । प्रचण्ड राजनीतिक सिंहावलोकनमा माहिर हुनुहुन्छ । सिंहावलोकन अर्थात् सिंहको समान तीक्ष्ण ज्ञानचक्षु । त्यसो नहुँदो हो त अनुभवले पाकेका दुई ठूला पार्टी कांग्रेस र एमाले, पाका नेता माधव नेपाल, मधेसमा उदाएका नयाँ तारा सिके राउत, पुराना खेलाडी उपेन्द्र यादव, नयाँ जमानाका रवि लामिछाने, उन्मुक्ति पार्टीलगायत सबैलाई समेटेर उनी सर्वसम्मत प्रधानमन्त्री बन्ने थिएनन् । जंगलको राजा सिंहले आपूmवरिपरिको परिवेशको सूक्ष्म परीक्षण गरेको हुन्छ । सिंह आफ्ना दुई दर्जनजति सिंहिनीसँगै साँझपख वन विहारमा जान्छ– निर्धक्क र निडर । न सिकारको आस, न सिकारीको त्रास । सिंहिनीहरू बडो कुशलतापूर्वक सिकार गर्छन् र सिंहलाई खुवाउँछन् ।

प्रचण्ड र उहाँको पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सैद्धान्तिक प्रतिस्थापनाको मुख्य विरोधीका रूपमा रहेको कांग्रेस र यसका सभापति शेरबहादुर देउवाले उहाँसँग पटक–पटक गुहार मागेको स्पष्ट देखिएको छ । पछिल्लो समयमा सभापति देउवा आफैँले घचेटेर एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको बैठकमा पु¥याएपछि प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभयो । तर, केही समयपछि नै सभापति देउवाले गल्ती महसुस गर्नुभयो । परिणाम, प्रचण्ड सबैको सहमतिमा प्रधानमन्त्री बन्नुभयो । राष्ट्रिय सहमतिका आधारमा कांग्रेसका नेता रामचन्द्र पौडेललाई देशको राष्ट्रपति बनाउनुभयो ।

राजनीतिको बिसातमा प्रचण्डले आफ्नो कुन गोटीलाई कसरी र कतिवेला कुन चालमा अघि सार्नुहुन्छ ? त्यसको अनुमान लगाउन कठिन छ । विपक्षीले उहाँको अगम्य चालको अनुमान गर्न नसकेर उहाँको विरोध गर्नु स्वाभाविकै मानिएला, तर कतिपय प्रसंगमा उहाँको आफ्नै पार्टी माओवादीसमेत धुरन्धर विरोधमा उभिने गरेको छ ।

प्रसंगवश आफ्नाबारे उठेका व्यक्तिगत प्रश्नको जवाफ दिन प्रचण्ड उपमा र उपमेयको सहारा लिने गर्नुहुन्छ । अहिलेसम्म उहाँको शक्तिको कम आकलन गर्दै आएका मानिसले समेत अहिले उहाँ नै वर्तमान राजनीतिको सर्वाधिक शक्तिशाली व्यक्तित्व हो भन्ने मान्न बाध्य हुनुपरेका छ । किनभने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने दलालहरूविरुद्ध निर्धक्क छानबिन गराउने हिम्मत देखाएको त प्रधानमन्त्री प्रचण्डले नै हो ।

उहाँले नै निमित्त नायकका रूपमा नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउनुभएको हो । अहिलेसम्म राजनीतिको सम्पूर्ण बहस प्रचण्ड शक्तिशाली हुन् कि होइनन् ? भन्नेमै केन्द्रित रहेको थियो । अहिले साबित भएको छ, शक्तिको प्रयोग गर्ने साहस पनि प्रचण्डमा नै छ । कुनै एफएम, कुनै टेलिभिजन, कुनै सम्पादकीय, कुनै समाचार र कुनै स्तम्भ यस्ता रहेनन्, जसमा प्रचण्डको शक्तिको चर्चा नगरिएको होस् । यतिवेला प्रचण्डको बजारमूल्य सर्वाधिक चर्को रहेको सावित गर्न यति नै पर्याप्त छ ।

प्रचण्ड सार्वजनिक चर्चामा मात्रै होइन, वास्तविक राजनीतिमा पनि साँच्चै शक्तिशाली हुनुहुन्छ भन्ने त घटनाक्रमले नै पुष्टि गरिसकेका छन् । उहाँसँग घोर विमति राख्दै आएका उहाँका पार्टीका नेता र सदस्यहरू प्राविधिक राजनीतिक कारणले उहाँको वरिपरि झुम्मिन बाध्य होलान् ।

नेपाली राजनीतिको कुनै पनि मौसम, कुनै पनि महिना र कुनै पनि दिनले त्यतिवेलासम्म पूर्णता पाउँदैन, जबसम्म सञ्चारमाध्यममा पुष्पकमल दाहालको औपचारिक नामले राज्यसत्ताको केन्द्रमा स्थापित भएका माओवादी अध्यक्ष प्रचण्डको निन्दा र महिमाको विवरण आउँदैन

यो अस्वाभाविक होइन । तर, किन सबै राजनीतिक दलहरू ग्रहहरूले सूर्यको परिक्रमा गरेजस्तै उहाँकै वरिपरि घुमिरहेका छन् ? के बाध्यता छ त्यस्तो कि शान्ति प्रक्रियाको प्रारम्भदेखि नै कांग्रेस, एमाले, जनमोर्चालगायत पहाड, मधेस सबैतिरका पार्टीहरू, माओवादी पार्टीमा रहेका वैद्य, भट्टराई र बादललगायत आधा दर्जन नेताहरू उहाँविरुद्ध खुलेआम लाग्दा पनि किन प्रचण्डलाई वाद गरेर शान्ति र संविधानको बाटो खोल्न सक्षम सावित भएनन् ? यसको जवाफ खोज्नु त्यति असहज छैन ।

परिवर्तनको स्वभाव विलक्षणकारी हुन्छ । परिवर्तनपछि जब राज्यशक्तिलाई आफ्नो नियन्त्रणमा राख्दै आएको एउटा पुस्तालाई अर्को पुस्ताले विस्थापित गर्न खोज्छ, त्यतिवेला विस्थापित पुस्ता बचेखुचेको अस्तित्व जोगाउन नयाँ पुस्तामै निर्भर रहन्छ । उसले बदलिँदो परिप्रेक्ष्यलाई आत्मसात् गर्न सक्दैन । लामो समयदेखि जमेर बसेको अनुदारवादी मानसिकताका कारण कुनै निर्णायक बिन्दुमा पुग्ने क्षमता उसले गुमाइसकेको हुन्छ । नेपाली राजनीतिमा अहिले जे भइरहेको छ वा जे देखिएको छ, यो त्यही मानसिकताको प्रतिबिम्ब हो ।

परिवर्तनपछि समाजमा देखिने कोलाहल प्राकृतिक विपत्तिका वेला सुनिने हाहाकार जस्तो हुँदैन । एकथरि मानिस आमूल परिवर्तनपछि पनि क्रान्तिको निरन्तरताको भ्रममा बाँचेका हुन्छन् । अहिले माओवादी जनयुद्धमा सक्रिय रहेका नेताहरू अलमलिएका छन् । कांग्रेस आफ्नै सर्वोच्चताको भ्रममा अलमलिएको छ । प्रधानमन्त्री प्रचण्डको अहिलेको कारबाहीले एमालेलाई निस्तेज तुल्याएको छ । यी भ्रमको मध्यबिन्दुबाट स्वस्पूmर्त रूपमा एउटा नयाँ पद्धतिले आकार लिन थालेको छ । खराब वा असल कस्तो पद्धति बस्ने हो ? त्यसको निक्र्योल हुन सकेको छैन र पनि मानिसहरू यो विकसित भइरहेको पद्धतिमा आफ्ना लागि ठाउँ खोज्न थालेका छन् ।

विभिन्न विचारको संलग्नता बढ्न थालेको छ । दुर्दम्य विद्रोही मानिएका माओवादीको नेतृत्व अहिले नयाँ राज्य सत्ताको स्वरूप र आकारको निर्माणमा लागेको छ । परिवर्तनपछि जनताले चाहेजस्तो सुविधा र राहत नपाए पनि नेपाली समाज परिवर्तनको बाटोमा हिँडिरहेको छ । यसपटक परिवर्तनका संवाहक रहेका माओवादीका लागि नै पनि अहिलेका घटनाक्रम सपनाजस्तै लागेको हुनुपर्छ ।

परिवर्तनको यो प्रहार नेपाली जनताले अनुभव नगरेको विषय होइन । पहिलो जनआन्दोलनपछि राजाका भाइ–भारदार, वरिष्ठ प्रशासक, बुद्धिजीवी र साहू–महाजनको लर्को लागेको थियो परिवर्तनका संवाहक बनेको कांग्रेसका नेताहरूको आँगनमा । मानिसहरू कांग्रेस नेताहरूको तौरतरिका र भाषिक व्यवहार सिक्दै थिए । सात सालपछि सुरु भएको ‘बाबु’ शब्द गिरिजाप्रसाद कोइरालाबाहेक अरू नेतालाई सुहाउँदैनथ्यो ।

तैपनि, मानिसहरू गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई समेत गणेशबाबु र किशनबाबुका रूपमा सम्बोधन गर्थे । मानिसले छिटै गणेशमानजी र किशुनजीलाई सम्बोधन गर्ने तरिका सिकेका थिए । अहिले त्यो समय एकपटक फेरि दोहोरिएको छ । मानिसहरू कसलाई ‘सर’ भन्नुपर्ने हो र कसलाई ‘कमरेड’, माओवादी नेताहरूको तौरतरिका र भाषिक व्यवहार सिक्दै छन् । यसलाई हामी सबैले मनन गर्नु जरुरी छ । किनभने, सामाजिक व्यवहारको समझ नभएसम्म राजनीतिक परिवर्तनको पहिचान हुन सक्दैन ।

कुनै पनि हिसाबले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड अहिलेको नेपाली राजनीतिमा सर्वाधिक शक्तिशाली व्यक्तित्व हुनुहुन्छ, जसलाई सिंहको राजनीतिक कलाको राम्रो ज्ञान छ । होइन भने कांग्रेस र एमालेजस्ता ठूला दल र अन्य साना, मझौला दलका नेताहरू उहाँलाई ठाडै क्रस गरेर विजयको चरमोत्कर्षमा पुगिसकेका हुने थिए । प्रचण्डको मुख हेरेर टोलाउने थिएनन् ।

परिवर्तन यसरी नै अघि बढ्ने गर्छ । २०४६ मा भएको पहिलो जनआन्दोलनका वेला नेपालको जनसंख्या डेढ करोड थियो । त्यतिखेर राजनीतिक प्रदर्शनमा सहभागी हुने जनसमूहले काठमाडौंको दरबारमार्ग भरिनु नै ठूलो कुरो हुन्थ्यो । दोस्रो जनआन्दोलनको समयमा देशको जनसंख्या अढाई करोड पुगिसकेको थियो । आन्दोलनको पक्षमा ओइरिएको विशाल मानव सागरका लागि पूरै काठमाडौं सहर साँघुरो भएको थियो । लियो ट्रट्स्कीले लेखेका छन्, परिवर्तनलाई ती मानिसले मात्रै पागलपन भन्छन्, जसलाई परिवर्तनले पन्छाइदिन्छ । यो सर्वथा सत्य वचन हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?