लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले अबदेखी किसानलाई मलको अभाव नहुने बताएका छन् । किसानले सँधै सास्ती व्यहोर्नु परेको भन्दै उनले यसपाली मलको अभाव नहुने बताए ।
मन्त्री भएपछी पहिलो पटक जन्मथलो अर्घाखाँची आएका मन्त्री भुसालले पत्रकार महासंघ अर्घाखाँचीले गरेको ‘सम्मान तथा पत्रकार भेटघाट कार्यक्रम’ मा बोल्दै मलको आवश्यकतालाई पूर्ती गर्न यसपाली मन्त्रालयले समयमै पहल गरेको बताए । मल अहिले मौज्दात पनि रहेकाले यसपाली मलको अभाव नहुने उनको भनाई छ । ‘सँधै रासायनिक मलको समस्याले किसान मारमा परेका थिए,उनले भने,‘यसपाली समय अगावै मल आउँछ, आईरहेको पनि छ ।’
जेठ, असार र साउन महिनामा बढी मल खपत हुने भएकाले मलको अभावले किसान छटपट्टिनु नपर्ने बताए । आवश्यक मलको विवरण संकलन गर्दा किसानले थोरै विवरण टिपाउँदा समस्या देखिएपनी सुधार गरेर लैजाने उनले प्रतिबद्धता जाहेर गरे ।
किसानले उत्पादन गरेको अन्नबालीको मुल्य अबदेखी पहिल्यै निर्धारण गरिने भएकाले कृषकलाई सहज हुने उनले बताए । मलसंगै सिंचाई र बजारको समस्या रहेकाले त्यसमा पनि मन्त्रालयले काम गरिरहेको बताए । ‘समस्या मलको मात्र छैन,मन्त्री भुसालले भने,‘सिंचाईको अभाव छ, बजारको समस्याका कुराहरु पनि छन् । ति सबै समस्या समाधान गर्नुपर्ने छ ।’
कृषिमा आत्मनिर्भर बन्न सके मात्र देश विकासको लयमा जाने भन्दै उनले कृषि क्षेत्रलाई अहिलेको सरकारले प्राथमिकतामा राखेको बताए । यति सानो देशमा कृषि क्षेत्रमा यति धेरै सम्भावना भएको विश्वमा नेपाल नै रहेको दावी गर्दै उनले उच्च हिमाली भेगमा पशुपालन, पहाडी भेगमा फलफूल तथा तरकारी खेती र तराईमा खाद्यान्न उत्पादन गरेर देशलाई अन्नबालीमा आत्मनिर्भर बनाउन सकिने उनले बताए ।
युवाहरु ईजरायल, कोरिया, साउदी अरेयिबा गएर कृषि क्षेत्रमै काम गरिरहेको भन्दै मन्त्री भुसालले त्यही काम गर्न नेपालमा हिचकिचाउने गरेको बताए । चर्को घाममा गएर भेंडा चराउनु भन्दा यँही भेडा पाल्दा राम्रो हुने उनको तर्क थियो । ‘हाम्रा दाजुभाई ईजरायल र कोरियामा कृषी कर्म गरिरहनु भएको छ । त्यही काम नेपालमै गर्नसके राम्रै हुन्छ । कती साथीहरु खाडी मुलुकमा भेंडा चराउनु हुन्छ । हाम्रै नेपालमा भेंडा पालनको राम्रो अवसर छ । यहाँ त्यो वातावरण निर्माण गर्नुपर्ने छ ।’–मन्त्री भुसालले भने ।’
अब कृषि र पशुपालनबाट राम्रो नतिजा ल्याएर बिग्रदो अवस्थामा रहेको अर्थतन्त्रलाई सही बाटोमा ल्याउनु पर्ने उनको भनाई छ ।