७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

फुटको संघारमा पुगेपछि प्राध्यापक संघको महाधिवेशन स्थगित

नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघलाई फुटबाट जोगाउन पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगन गरिएको छ ।

शुक्रबार र शनिबारका लागि बोलाइएको महाधिवेशनको विरुद्धमा संस्थापनइतर पक्षले समानान्तर महाधिवेशन बोलाएको थियो । प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना पक्षले बोलाएको महाधिवेशनको विरुद्धमा महासचिव राजेन्द्र गौतम पक्षले महाधिवेशन बोलाएको थियो ।

संस्थापन पक्षले प्रज्ञा भवनमा महाधिवेशन बोलाएको थियो भने अर्को पक्षले कीर्तिपुरमा महाधिवेशन बोलाएको थियो । संस्थापन पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर महाधिवेशन गर्न लागेको थियो । प्राध्यापक संघका पूर्व अध्यक्ष वासु घिमिरेको अगुवाइमा हुन लागेको संस्थापनइतरको महाधिवेशनमा भने प्रमुख अतिथिमा महामन्त्री गगन थापालाई डाकिएको थियो ।

विवादका कारणले प्राध्यापक संघ टुक्रिने अवस्थामा पुगेपछि अध्यक्ष तिमिल्सिनाले विज्ञप्ति निकालेर महाधिवेशन स्थगित गरेका थिए । तिमिल्सिनाले विज्ञप्ति निकालेर महाधिवेशन रोकेलगत्तै अर्को पक्षले पनि रोकेको छ ।

संस्थापन पक्षले गर्न लागेको महाधिवेशन प्रतिनिधि फर्जी भएको संस्थापनइतरले आरोप लगाएको छ । अर्को स्थानमा समेत अधिवेशन गर्न लागिएको तथा पार्टी नेतृत्वले स्थगित गर्न निर्देशन दिएकाले महाधिवेशन रोकिएको तिमिल्सिनाले बताएका छन् ।

संस्थापन पक्षले गर्न लागेको महाधिवेशन स्थगित गरे लगत्तै बिहीबार नै विज्ञप्ति निकालेर अर्को पक्षले पनि महाधिवेशन रोकेको थियो ।

महाधिवेशनलाई राष्ट्रिय भेलामा रुपान्तरण गरिएको संस्थापनइतर पक्षले जनाएको छ । संस्था भित्र देखिएको विवाद अन्त्यका लागि प्रयास भइरहेको अध्यक्ष तिमिल्सिनाले बताए । ‘सबैलाई पद चाहिएर विवाद भएको हो । कसरी अघि बढ्ने छलफल गरेर टुंगिन्छ,’ अध्यक्ष तिमिल्सिनाले भने ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?