२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

किसानलाई सकस, नेतालाई रमाइलो

चितवन, लुम्बिनी, परासी, ओखलढुंगा र धनगढी — सिँचाइको समस्याका बीच मल–बीउ अभावले बेलामा रोपाइँ गर्न नसक्ने किसानलाई यसपालि लम्पी स्किनको पनि मार परेको छ । महामारीका रूपमा फैलिएको लम्पी स्किनले गोरु धमाधम मर्न थालेपछि सिँचाइ सुविधा भएकै कतिपय ठाउँमा मध्य असारसम्म रोपाइँ हुन सकेको छैन ।

अव्यवस्थित बजारीकरण र प्लटिङका कारण खेतीयोग्य जमिन घट्दै गए पनि यस वर्ष मुलुकभर १४ लाख ९६ हजार ३ सय ६ हेक्टरमा रोपाइँ हुने प्रक्षेपण थियो । बुधबारसम्म १ लाख ६६ हजार ६ सय २३ हेक्टरमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ ।

यस वर्ष असार दोस्रो साता (बुधबार) सम्म १ लाख ६६ हजार ६ सय २३ हेक्टरमा मात्रै रोपाइँ भएको विभागको तथ्यांक छ । किसानले रोपाइँ गर्न विभिन्न हैरानी खेपिरहेका बेला असार १५ मा मनाइँदै आएको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा नेताहरूले खेतमा पुगेर धान रोपेका तस्बिर खिचाउँदै रमाइलो गरेका छन् । तर हरेक वर्ष किसानलाई चिन्तित बनाइरहेको मल–बीउ अभाव र लम्पी स्किनको समस्याबारे महोत्सवमा खासै चर्चा भएन ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार धान दिवसको अवसर पारेर शुक्रबार चितवन पुगेर रोपाइँ गरे । भरतपुर महानगरपालिका–२४ नयाँबस्तीको केरुङ्गा सामूहिक तरकारी कृषि फर्ममा आयोजित रोपाइँ महोत्सवमा ओलीले सुरुमा केहीबेर हिलाम्मे खेतमा धान रोप्ने मेसिन चलाए । मेसिनबाट ओर्लेर एमालेका नेता, कार्यकर्तासँगै केहीबेर हातैले धान पनि रोपे । धान दिवस मनाउन ओली बिहीबार नै चितवन गएका थिए । ओलीसँगै एमाले नेता तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङमा पनि रोपाइँमा सहभागी भए ।

यस्तै समाजवादी किसान मोर्चाले भरतपुरको भीमनगरमा आयोजना गरेको रोपाइँ दिवसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि चितवन गए । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन–२ का सांसद रवि लामिछाने भरतपुरको देवनगरमा रोपाइँमा सहभागी भए । पर्सामा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा खेतमा पुगेका जनप्रतिनिधिसँग किसानले सहजै मल नपाएको गुनासो गरे । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइले ठोरी गाउँपालिका–३ बुद्धनगरमा आयोजना गरेको महोत्सव मनाउन खेतमा पुगेका जनप्रतिनिधिसँग किसानले सरकारले सर्वसुलभ रूपमा रासायनिक मल उपलब्ध नगराउँदा रोपाइँ नै प्रभावित भएको गुनासो गरेका हुन् ।

लम्पी स्किनले रोपाइँ प्रभावित

लम्पी स्किनले गाउँभरि गोरु थलिएपछि ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ सानीटारका दुर्गाप्रसाद दाहाललाई अहिले रोपाइँमा भ्याइनभ्याई छ । सानीटारभरि २२ हल गोरु थिए । गाउँमा दाहालका सहित तीन हल गोरुमात्र जोत्न सक्ने अवस्थामा छन् ।

‘गोरु पाउनै गाह्रो छ । एक हल गोरु एक दिनका लागि १५ सयमा पाइन्थ्यो । अहिले तीन हजारमा पनि पालो पुर्‍याउन सकिएको छैन,’ उनले भने । स्थानीय तुलसा दाहालले गोरु नपाएपछि एक घरको एउटा र अर्को घरको एउटा हल मिलाएर जोत्नुपरेको छ । ‘गाउँमा गोरु जति संक्रमणले थलिएका छन् । बेलैमा पानी परे पनि धान रोप्न पाएको छैन,’ तुलसाले भनिन्, ‘लम्पी स्किनले यसपालि रोपाइँ धेरै महँगो पर्दै छ । लगानी नै उठ्ने स्थिति छैन ।’

पशुचौपायामा देखिएको लम्पी स्किन रोगको महामारीका कारण पहाडी जिल्लामा धान रोपाइँ प्रभावित भएको छ । रोपाइँमा जोत्नका लागि गोरु नै पाइन छाडेपछि धेरैजसो किसानको बीउ छिप्पिने स्थिति छ । रोपाइँका लागि गोरु अभाव टार्न धेरै हाते ट्र्याक्टरको प्रयोग गरे पनि गोरु जस्तो सजिलो नहुने गरेको किसानको भनाइ छ । पहाडमा एउटा कान्लादेखि अर्को कान्लामा हाते ट्र्याक्टर चढाउनै गाह्रो हुने सिद्धिचरण–३ का पेशल दाहालले बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाको तथ्यांकअनुसार लम्पी स्किनले जिल्लामा ७८ सय एक चौपाया संक्रमित छन् । १ सय ८२ गाईगोरु मरिसकेका छन् । छिमेकी जिल्ला सोलुखुम्बुमा ४ सय ७३ संक्रमित भएर २५ पशुचौपाया मरिसकेका छन् । संक्रमण नभएकालाई जोगाउन ओखलढुंगामा ३ हजार ५० र सोलुखुम्बुमा ४ सय ९८ चौपायालाई खोप दिइए पनि नियन्त्रणमा ल्याउन कठिन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाका सूचना अधिकारी धिरेन राईले बताए । ओखलढुंगामा हालसम्म रोपाइँ गर्न योग्य क्षेत्रफलमध्ये १९ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय तहले समेत बजेटको व्यवस्थापन गरी लम्पी स्किन नियन्त्रणको प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।

लुम्बिनीमा ११ प्रतिशत मात्रै रोपाइँ

अन्न भण्डार मानिने लुम्बिनीमा धान खेती हुने ३ लाख ११ हजार ४२ हेक्टरमध्ये बिहीबारसम्म ३४ हजार ४ सय ८३ हेक्टरमा मात्रै रोपाइँ भएको छ । समयमै वर्षा भए यतिबेला ५० प्रतिशत हाराहारीमा रोपाइँ भइसक्ने प्रदेशका कृषि, खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले बताए ।

गत वर्ष यही अवधिमा झन्डै ३२.७१ प्रतिशित रोपाइँ भएको थियो । क्षेत्रफलका हिसाबले प्रदेशमा सबैभन्दा धेरै कपिलवस्तुमा ७० हजार ७० र सबैभन्दा कम रुकुम पूर्वमा १ हजार ४ सय १९ हेक्टरमा धान खेती गरिन्छ । कपिलवस्तुमा ४ हजार २ सय ४ हेक्टर अर्थात् धान खेती हुने क्षेत्रफलको ६ प्रतिशतमा मात्रै रोपाइँ भएको छ भने रुकुम पूर्वमा ८ सय ५८ हेक्टर अर्थात् ६०.५ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । रूपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा रोपाइँ भएको छ । सिँचाइ अभाव र आकाशे पानीमा निर्भर हुँदा गत वर्षभन्दा कम मात्रामा रोपाइँ भएको प्रवक्ता मरासिनीले जनाए । ‘सिँचाइको क्षेत्र बढाउन नसक्दा आकाशे पानीमा निर्भर हुनुपर्ने अवस्था छ,’ उनले भने, ‘यस वर्ष पानी पर्न केही ढिला भएकाले यसको असर रोपाइँमा परेको हो ।’

बीउ नउम्रिँदा भएन रोपाइँ

पश्चिम नवलपरासीमा धानको बीउ राम्ररी नउम्रिँदा रोपाइँ प्रभावित भएको छ । लामो समय खडेरी परेकाले असार लागेपछि मात्रै जिल्लाका किसानले धानको ब्याड राखेका थिए । खडेरीकै बीचमा राखेको बीउ अहिलेसम्म पनि राम्ररी नउम्रिँदा रोपाइँ प्रभावित भएको हो ।

अकाशे पानी पर्न थाले पनि बीउ तयार नभएकाले रोपाइँ गर्न नपाएको रामग्राम–१८ का दीपनारायण कहारले सुनाए । ‘बीउ राख्ने समयमा खडेरी पर्‍यो । भूमिगत सिँचाइबाट जसोतसो राखिएको बीउ अहिलेसम्म पनि राम्ररी उम्रिएन,’ उनले भने, ‘अब पानी पर्न थाल्यो । बीउ तयार भएकै छैन । आकाशे पानी परेको अवसर नछोप्ने हो भने खेत बाँझै रहन्छ ।’

बीउ राख्ने समयमा खडेरी पर्नु र रोपाइँका लागि पर्याप्त पानी नपर्दा किसानले समयमै धान रोप्न नपाएका हुन् । यस वर्ष खडेरीले रोपाइँ प्रभावित भएको कृषि ज्ञान केन्द्र नवलपरासीका सूचना अधिकारी समिरसिंह बरई मगरको भनाइ छ । ‘जेठको लामो खडेरीले किसानको मकै खेतमै सुक्यो, धानको बीउ पनि राख्न पाएनन्,’ उनले भने, ‘यस वर्ष आकाशे पानी नपर्ने र भूमिगत सिँचाइको बोरिङमा पनि पर्याप्त पानी नआउँदा समस्या बढेको छ ।’

सुदूरपश्चिममा ११ हजार चौपाया मरे

सुदूरपश्चिममा तराईका कैलाली र कञ्चनपुरभन्दा पहाडी जिल्लामा लम्पी स्किन रोगको संक्रमण व्यापक भएको छ । संक्रमित पशुको संख्या दैनिक बढिरहेको छ । बर्खे बाली लगाउने समयमा गोरु धमाधम मर्न थालेपछि किसान चिन्तित छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार असार १२ सम्म प्रदेशभर लम्पी स्किनबाट मरेका १० हजार ९ सय ३९ चौपायामध्ये गाईगोरु र बाच्छाबाच्छीमात्रै १० हजार ५ सय १ छन् । तीमध्ये गोरु मात्रै ४ हजार ३ सय ५७ छन् । ‘पहाडमा खेत जोत्ने गोरुले नै हो, गोरु संक्रमित भएर थला पर्दै मर्न थाले,’ प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक डा. नरेशप्रसाद जोशीले भने, ‘सुदूरपश्चिममा ७७ हजार गोरुमा संक्रमण भएको छ । खेती लगाउने सिजन भएकाले कसरी जोत्ने भन्ने गम्भीर समस्या देखिएको छ ।’

समयमै खेतबारी जोत्न नपाएर बाँझै रहने अवस्थाले पहाडी जिल्लामा हिउँदमा खाद्य संकटको अवस्था आउन सक्ने देखिएको उनले बताए । पहाडमा जोत्ने विकल्प नहुँदा कतिपय ठाउँमा संक्रमित गोरु पनि प्रयोग भइरहेका छन् । ‘पहाडका किसानको बाध्यता नै हो यो,’ उनले भने, ‘खेतीपाती नगरेर बाँझो छाड्नुभन्दा बिरामी गोरु प्रयोग गर्नु उनीहरूको बाध्यता हो ।’ लम्पी स्किनले थला परेपछि किसानले तराईबाट जोत्नका लागि गोरु पहाडतर्फ लगिरहेको उनले जनाए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?