राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । गत वर्षको तुलनामा यस वर्ष समग्र नतिजामा सुधार देखिएको बोर्डले जनाएको छ । तर प्रयोगात्मक नम्बरको व्यवस्था नभएका गणित, अर्थशास्त्र र ऐच्छिक गणितलगायत विषयमा न्यून ग्रेड ल्याउने विद्यार्थी सबैभन्दा धेरै छन् ।
बोर्डका अनुसार यस पटकको एसईईमा सहभागी ४ लाख ८४ हजार ९ सय ३९ विद्यार्थीमध्ये २२ हजार ४ सय ७५ (४.६३ प्रतिशत) जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् । गत वर्ष उक्त जीपीए प्राप्त गर्ने विद्यार्थी १.९६ प्रतिशत मात्र थिए । यस्तै ३.२ देखि ३.६ जीपीए प्राप्त गर्ने विद्यार्थी ५५ हजार ६९ जना अर्थात् ११.३६ प्रतिशत छन् । गत वर्ष ८.४ प्रतिशतले मात्र उक्त जीपीए ल्याएका थिए । २.८ देखि ३.२ जीपीए ल्याउने करिब १४ प्रतिशत अर्थात् ७२ हजार ३ सय ६२ जना छन् । पोहोर पनि करिब १४ प्रतिशतको नै उक्त जीपीए थियो । जीपीए २.४ देखि २.८ प्राप्त गर्ने विद्यार्थीको प्रतिशत पनि पोहोर र अहिले उस्तै छ । यस वर्ष ८९ हजार ३ सय ३१ जना अर्थात् १८.४२ प्रतिशतले जीपीए २.४ देखि २.८ पाएका छन्, गत वर्ष १८.३१ प्रतिशतको उक्त जीपीए थियो ।
यस वर्ष २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थी सबैभन्दा धेरै छन् । यस वर्ष २१.०९ प्रतिशत अर्थात् १ लाख २ हजार २ सय ९३ जनाले उक्त जीपीए ल्याएका छन्, गत वर्ष यही जीपीएका विद्यार्थी २२.७४ प्रतिशत थिए । जीपीए १.६ देखि २.० प्राप्त गर्ने ८८ हजार ४ सय ४७ जना अर्थात् १८.२४ प्रतिशत छन् । गत वर्ष २०.३० प्रतिशतले उक्त जीपीए ल्याएका थिए । यस्तै १.२ देखि १.६३ जीपीए प्राप्त गर्ने ८ हजार ७ सय ७० अर्थात् ७.९९ प्रतिशत छन्, गत वर्ष उक्त जीपीए भएका विद्यार्थी ९ प्रतिशत थिए । यस वर्ष २ हजार २ सय अर्थात् ०.४५ प्रतिशत विद्यार्थीले जीपीए ०.८ देखि १.२ ल्याएका छन् । गत वर्ष ०.६६ प्रतिशतको उक्त जीपीए थियो । १३ हजार ९ सय ९२ (२.६९ प्रतिशत) विद्यार्थीको नतिजा भने विभिन्न कारणले रोकिएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले समग्रमा गत वर्षको तुलनामा यस वर्ष नतिजामा सुधार आएको बताए । ‘गत वर्षका विद्यार्थीले कोरोनाका कारण नियमित पठनपाठन गर्न पाएका थिएनन् । यसपालि नियमित कक्षा सञ्चालन राम्रो भएकाले नतिजामा सुधार आएको छ,’ उनले भने । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले स्तरीकृत परीक्षा सञ्चालन गरेका कारण पनि नतिजा केही राम्रो भएको बताए ।
‘प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षणमा सुधार गरिएको छ,’ उनले भने, ‘तल्लो जीपीएबाट माथिल्लो जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या क्रमशः बढ्दो क्रममा छ ।’
एसईईमा सहभागी विद्यार्थीमध्ये २ लाख २ सय ६८ विद्यार्थी अर्थात् करिब ४१ प्रतिशतले गणितमा कमजोर ग्रेड ‘डी र ई’ ल्याएका छन्, सबैभन्दा तल्लो ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या मात्रै १ लाख ५५ हजार रहेको छ । २० भन्दा पनि कम अंक भए ‘ई’ ग्रेड दिइन्छ । नयाँ लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन गरिएको भए ती ४१ प्रतिशत विद्यार्थी गणितमा नन–ग्रेडिङमा परेर कक्षा ११ मा भर्नाका लागि अस्वीकृत हुन्थे । ‘यसपालि नयाँ निर्देशिका लागू गरिएको भए गणितलगायत विषयमा न्यून ग्रेड ल्याएका कारण करिब ५० प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्नाका लागि अयोग्य हुने अवस्था थियो,’ बोर्डका एक सदस्यले भने ।
सरकारले धेरै विद्यार्थी ननग्रेडिङमा पर्ने भयले पुरानै निर्देशिका २०७२ अनुसार नतिजा प्रकाशन गरेको हो । उक्त निर्देशिकाले न्यून ग्रेड ल्याएका विद्यार्थीलाई पनि कक्षा ११ मा भर्ना हुन ढोका खुल्छ । गत वर्ष कक्षा १२ को नतिजा नयाँ निर्देशिकाअनुसार प्रकाशन गर्दा करिब ५० प्रतिशत विद्यार्थी स्नातक तहमा भर्नाका लागि अयोग्य भएका थिए । नयाँ निर्देशिकामा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए ननग्रेडिङमा पर्ने प्रावधान छ । पुरानो निर्देशिकामा भने दुवैतर्फको नम्बर जोडेर एकमुष्ट राख्ने व्यवस्था छ ।
प्रयोगात्मक अंक नदिएकै कारण गणितमा सबैभन्दा धेरै विद्यार्थीको न्यून ग्रेड आएको बोर्डका सदस्य सचिव अर्यालले बताए । गणितमा उत्कृष्ट ग्रेड ‘ए प्लस’ प्राप्त गर्ने १९ हजार ३ सय ३० जना विद्यार्थी छन् । तर स्वास्थ्य/जनसंख्यापछि ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थी गणितमा नै धेरै छन् । स्वास्थ्य/जनसंख्यामा साढे २२ हजार जनाले ‘ए प्लस’ ल्याएका छन् तर यसमा २५ पूर्णाङ्कको प्रयोगात्मक नम्बर पनि जोडिएको छ ।
२५ पूर्णाङ्कको प्रयोगात्मक नम्बर पाउने विषयतर्फ सबैभन्दा बढी विज्ञानमा न्यून ग्रेड प्राप्त विद्यार्थी छन् । विज्ञानमा ६३ हजार विद्यार्थीले ‘डी’ भन्दा कम ग्रेड ल्याएका छन् । विज्ञानमा ‘ए प्लस’ ल्याउने विद्यार्थी ९ हजार ५ सय ७३ जना मात्रै छन् । यसको अर्थ प्रयोगात्मकमा धेरै अंक पाउँदा पनि विज्ञानको लिखित परीक्षामा विद्यार्थी कमजोर देखिन्छन् ।
विषय शिक्षकले प्रयोगात्मक नम्बर नदिने अर्थशास्त्रमा ९७ हजार ८ सय ६० जना र ऐच्छिक गणितमा २७ हजार ४ सय ५१ जनाले ‘डी’ र ‘ई’ ग्रेड ल्याएका छन् । ऐच्छिक अर्थशास्त्रमा २ लाख ४२ हजार परीक्षार्थी थिए । अर्थशास्त्रमा ९३ जनाले मात्रै ‘ए प्लस’ ल्याएका छन् । अनिवार्य विषयतर्फ गणितबाहेक अंग्रेजी, सामाजिक, नेपाली र विज्ञानमा २५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षा हुने व्यवस्था छ । प्रयोगात्मक विषयको नम्बर शिक्षकले नै दिन्छन् । सैद्धान्तिक र प्रयोगात्मकतर्फको नम्बर जोडेर ग्रेड कायम गरिन्छ । शिक्षकहरूले प्रयोगात्मकमा २० भन्दा बढी नम्बर दिने गरेको बोर्डका कर्मचारी बताउँछन् । त्यही नम्बरका आधारमा धेरै विद्यार्थीले माथिल्लो ग्रेड प्राप्त गरेको देखिएको उनीहरूको भनाइ छ । अंग्रेजीमा २८ हजार ३ सय ५१, सामाजिकमा साढे २० हजार र नेपालीमा ७ हजार ६ सय २८ जनाले ‘डी’ भन्दा तल्लो ग्रेड ल्याएका छन् । ‘डी’ भन्दा तल्लो ग्रेड भनेको ३० भन्दा कम अंक हो ।
शिक्षकले अंक दिन पाउँदा मनोमानी गर्छन् भन्ने विगतको नतिजाले पनि पुष्टि गर्छ । कोरोना महामारीका बेला २०७६ र २०७७ मा विद्यालयले नै उत्तरपुस्तिका परीक्षण गरेका थिए । त्यति बेला क्रमशः ९ हजार ३ सय १९ र ८ हजार ४ सय ४४ जनाले ४ मा ४ जीपीए ल्याएका थिए । यसपालि ४ मा ४ ल्याउनेको संख्या एक सयभन्दा कम छ । गत वर्ष बोर्डले उत्तरपुस्तिका परीक्षण गर्दा ४२ जनाले मात्रै उक्त जीपीए प्राप्त गरे । २०७५ मा १ सय ६ र ०७४ मा ७४ जनाले मात्रै ४ मा ४ ल्याएका थिए । विद्यालयले प्रयोगात्मकको नम्बर दिने व्यवस्था २०७५ देखि नै छ तर कोरोना महामारीमा सैद्धान्तिकतर्फको नम्बर पनि विद्यालयबाटै दिइएको थियो । नयाँ निर्देशिकामा सैद्धान्तिक र प्रयोगात्मकको नम्बर नजोड्ने व्यवस्था राखिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ तर यो निर्देशिका एसईईमा लागू भएको छैन ।
प्रदेशतर्फ ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या वाग्मतीमा सबैभन्दा धेरै ११ हजार ४ सय ८१ छ अर्थात् उक्त जीपीए ल्याउने ५१ प्रतिशत वाग्मती प्रदेशका छन् । सबैभन्दा धेरै ९९ हजार परीक्षार्थी यही प्रदेशका थिए । लुम्बिनीका २ हजार ७ सय ९५, कोशीका २ हजार ७ सय ७ जना, मधेशका २ हजार १ सय ८५ जनाले ३.६ देखि ४.० जीपीए प्राप्त गरेका छन् । त्यस्तै गण्डकीका १ हजार ६ सय ४७ जना, सुदूरपश्चिमका ४ सय र कर्णालीका २ सय ४० विद्यार्थीको उक्त जीपीए छ । अनिवार्य विषयको प्रश्नपत्र प्रदेशअनुसार फरक हुन्छ ।