लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठले पार्टीका मन्त्रीहरूले जिल्लाका समस्याहरू लिएर जाँदा भेटसमेत नदिने गरेको गुनासो गरेका छन् । उनले कांग्रेसले दिएको टिकट लिएर निर्वाचन जित्ने तर पदमा पुगेपछी गुनासा सम्म सुन्न नभ्याएकोमा दुखेसो पोखे ।
०७८ को मंसिरमा भएको १४ औँ महाधिवेशनपछि पहिलो पटक बिहीवार काठमाडौंमा भएको जिल्ला सभापतिहरूको भेलामा सहभागी जिल्ला सभापति श्रेष्ठले बोल्ने क्रममा पार्टी नेतृत्वप्रति गुनासो पोखेका हुन् । ‘जनताका समस्या लिएर हामी मन्त्रीहरू भेट्न खोज्छौँ, उनले भने,‘तर हाम्रो मन्त्रीहरूले हामीलाई नै भेट समेत दिन चाहदैनन्।’
पार्टीका नेता कार्यकर्ता र सर्वसाधारण नागरिकले कांग्रेस सरकारमा भएको अनुभूति गर्न नपाएको गुनासो श्रेष्ठको छ । उनले सरकार र पार्टीबीच समन्वय नभएको, सरकारका मन्त्रीहरूले गुटगत व्यवहार गरेको, बजेट विनियोजनमा सबै जिल्लालाई समेट्ने काम नभएको, पार्टी नेतृत्वले ठीक ढंगले काम गर्न नसकेको जस्ता गुनासा पोखेका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको जोडबलमा आयोजित भेलामा केन्द्रिय सभापति शेरबहादुर देउवा भने सहभागी थिएनन् । जिल्ला सभापतिहरूले पार्टीको राजनीतिक भविष्यप्रति चिन्ता व्यक्त गर्दै पार्टीमा महामन्त्रीहरूको खुम्चिएको भूमिकामाथि समेत प्रश्न उठाएका छन् ।
भेलामा देशभरिबाट करिब ६५ जना जिल्ला सभापतिहरू भौतिकरुपमा उपस्थित थिए भने कतिपय जिल्लाका सभापतिहरू अनलाइनमार्फत सहभागी भएका थिए ।भेलाले पार्टीको सदस्यता वितरण र संगठन सुदृढीकरणका विषयमा ठोस नीति र कार्ययोजना तयार गर्दै सम्पन्न हुने नेताहरूले बताएका छन् ।
बैठक आज पनि बस्दै
नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दैछ। पार्टी कार्यालय सानेपामा बिहान ११ बजेदेखि बैठक सुरू हुने बताइएको छ।
बैठकमा ४२ जिल्ला सभापति र १८ जिल्लाबाट प्रतिनिधि सहभागी छन्।