१७ जेष्ठ २०८१, बिहिबार
१७ जेष्ठ २०८१, बिहिबार

कोसीका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ लिने

कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज (शुक्रबार) बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई बिहान ९ बजे शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथग्रहणको सबै तयारी पूरा भएको जनाएको छ । शपथपछि मुख्यमन्त्री थापाले केही मन्त्री नियुक्त गर्दै आजै सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

कम्तीमा ३ जना मन्त्री नियुक्त गर्ने तयारी रहेको उनीनिकट स्रोतले जनाएको छ । स्रोतका अनुसार पहिलो चरणमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बाट १–१ जना मन्त्री बन्ने सम्भावना छ ।

कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता थापा बिहीबार प्रदेशको पाँचौं मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनका तर्फबाट दाबी पेश गरेका उनलाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । गठबन्धनका तर्फबाट माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र सभामुख बाबुराम गौतमसमेतको समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बने । उनलाई कांग्रेसका २९, माओवादीका १२, समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्य (सांसद)को समर्थन छ ।

सभामुख बाबुराम गौतमले प्रदेशसभा सदस्यको हैसियतमा अलग्गै हस्ताक्षर गरेर संविधानविपरीत समर्थन दिएका छन् । समर्थन पत्रमा आफूलाई प्रदेशसभा सदस्य भनेर गौतमले उल्लेख गरेका हुन् । माओवादीबाट प्रदेशसभा निर्वाचित उनी सभामुख भएपछि दल त्याग गर्दै तटस्थ भएको घोषणा गरेका थिए । तटस्थ भूमिकामा प्रदेशसभाको नेतृत्व गरेर बस्नुपर्ने व्यक्ति कानुनलाई लत्याउँदै सरकार गठनको खेलमा सामेल भएपछि सभामुख विवादको भूमरीमा फसेका छन् ।

कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । गठबन्धन दलका ४६ जना मात्रै सांसद छन् । संविधानको ठाडो उल्लंघन गर्दै सभामुखले समर्थन गरेपछि मात्रै थापालाई मुख्यमन्त्री बन्न झिनो बहुमत पुगेको हो । थापाले सभामुखको समर्थनसहितको दाबी पेश गर्दा स्वीकार गरेर मुख्यमन्त्री नियुक्त गरेपछि प्रदेश प्रमुखको भूमिकामा पनि प्रश्न उठेको छ । सभामुख र प्रदेश प्रमुखले असंवैधानिक कदम चालेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ जना सांसद छन् । संसदबाट विश्वास गुमाएपछि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार असार १५ गते ढलेको थियो ।

कांग्रेस कोसी प्रदेशका सभापतिसमेत रहेका थापा प्रदेशसभाको दोस्रो कार्यकालका दोस्रो मुख्यमन्त्री हुन् । सरकार गठनमा सभामुखको प्रयोग कानुनविपरीत भएका कारण थापा नेतृत्वको सरकारको निरन्तरता अन्योलमा परेको छ । राप्रपालाई गठबन्धनमा सामेल गराउने प्रयास असफल भएपछि सभामुखको सहरा लिएर उनी मुख्यमन्त्री बनेका हुन् ।

सत्ता स्वार्थसँग जोडिएर बलमिच्याइँ गर्दा संविधानको कल्पनाभन्दा बाहिर गएर सभामुख पदको दुरुपयोग भएपछि भद्र र सालिन नेताको पहिचान बनाएका थापाको तीव्र आलोचना भइरहेको छ । संविधानको मर्म र भावनविपरीतको कदम चालेर सत्तायात्रा सुरु गरेको आरोप खेप्दैछन् ।

हालसम्म कोसी प्रदेशले थापासहित ५ जना मुख्यमन्त्री पाइसकेको छ । प्रदेशसभाको पहिलो कार्यकालमा एमालेबाट शेरधन राई र भीम आचार्य तथा एकीकृत समाजवादीबाट राजेन्द्रकुमार राई मुख्यमन्त्री बनेका थिए । दोस्रो कार्यकाल ६ महिना पुग्दै गर्दा एमालेबाट हिक्मतकुमार कार्की र कांग्रेसबाट थापा मुख्यमन्त्री बनेका छन् । कांग्रेसले प्रदेश सरकारको नेतृत्व पहिलोपटक प्राप्त गरेको हो । अर्थात, थापा प्रदेशका पहिलो गैरकम्युनिष्ट मुख्यमन्त्री हुन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?