नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि शुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकअघि एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शीर्ष नेताहरुको बैठक बिहान ९ बजे बस्दैछ ।
शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने छन् । कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई/दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बल्ल बैठक बस्न लागेको हो ।
बैठकमा संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । प्रदेश र केन्द्र सरकारका काम कारबाही पनि छलफलको एजेण्डा रहेको छ ।
केही दिनअघि जिल्ला सभापतिहरूले सरकार र पार्टीबीच समन्वय नहुँदा समस्या भइरहेको गुनासो गरेका थिए । प्रदेश र केन्द्रका सांसदहरूले पनि बजेट विनियोजनमा गुनासो गर्दै आएका छन् ।
केन्द्रीय कार्यसमिति बैठक बस्न नसक्दा कार्यसम्पादन समितिले निर्णय गर्नसक्ने विधानको व्यवस्था छ । कांग्रेसले गएको वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक गरेको थियो ।
त्यसपछि भने केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । यसैबीच, कांग्रेसले दशैँअघि नीति अधिवेशन गर्ने तयारी पनि गरेको छ ।