६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

मान्छेले किन गर्छ आत्महत्या ?

निर्देशक राजीव गुरुङको ‘ह्यासट्याग माया’ फिल्मको सुटिङ सिध्याएर बिहीबार अभिनेता सारुक ताम्राकार रातोपुलस्थित घर फर्किएका थिए। तर, सारुक राति झुण्डिएको अवस्थामा फेला परे। दयाराम दाहालले निर्देशित गरेको ‘रानी’ फिल्मबाट डेब्यु गरेका ३१ वर्षीय सारुकको अपत्यारिलो निर्णयले सामाजिक सञ्जालमा मानसिक स्वास्थ्यसम्बन्धी बहस सुरु भएको छ। नाम र दाम कमाए पनि एक्लोपनसहित विभिन्न कारणले आत्महत्याको बाटो रोज्ने क्रम बढ्दै गएको देखिएको छ।

समाजले पत्याएका र नाम कमाए नेपाली मनोरञ्जन क्षेत्रमा कलाकारहरू दोहोरी गायिका दिलमाया सुनार, अभिनेत्री जेनी कुवँर, र्‍यापर अनिल अधिकारी (यमबुद्ध), निर्देशक आलोक नेम्वाङसहितले आत्महत्याको बाटो रोजेका छन्।

प्रसिद्धिसँगै आम मानिसले विभिन्न खालको मूल्यांकन गरेर दबाब दिने र निर्णय गर्ने कारण कलाकार र सेलिब्रेटीहरूले आत्महत्याको बाटो रोज्ने गरेका छन्। सामाजिक सञ्जालदेखि फिल्म, सिरियल, गीत संगीत र स्टेजलगायतमा पैसा तिरेर हेरेका कलाकार र सेलिब्रेटीहरूबारे जानकारी राख्न खोज्नु सामान्य हो। तर परिवार र आफन्तबाट पर रहेर कलाकार र सेलिब्रेटीहरू आम मानिसका लागि समर्पित भएर काम गर्दाका विभिन्न परिस्थितिले उनीहरूमा तनाव सिर्जना हुने र विस्तारै थाहा नपाइकन आत्महत्याको अवस्थामा पुग्ने गरेको मनोविज्ञहरू बताउँछन्।

चरम निराशा र एक्लोपनका कारण कलाकारदेखि सेलिब्रेटी र आम मानिसहरू डिप्रेसनको सिकार हुने र आत्महत्याको बाटो रोज्ने गरेको मनोविज्ञ कृपा सिग्देलको बुझाइ छ। नेपालमा युवा पुस्तामा आत्महत्या विषयमा अनुसन्धान गरिरहेकी मनोविज्ञ सिग्देल निराशा, अत्याधिक मदिरा सेवन र डिप्रेसनका कारण मानिसले आत्महत्या गर्ने बताउँछिन्।

‘डिप्रेसनको अवस्थासम्म पुग्दा मानिसले नाम, दाम र सफलताप्रति खुसी पाउँदैन,’ उनले भनिन्, ‘तनाव, चिन्ता, एक्लोपन र निराशाका कारण आत्महत्या गर्न अवस्थामा पुग्ने गर्दछन्। आत्महत्या गर्ने अवस्थासम्म पुग्दा मानिसहरू मानसिक रोगको विक्षप्त चरणमा पुगिसकेका हुन्छन्। मानसिक रोग तथा डिप्रेसनबारे खुला बहस हुनुपर्छ। तब यस अवस्थामा पुगेका मानिसलाई बचाउन सकिन्छ। कसैले आत्महत्या गर्दा हामी आश्चर्यमा पर्ने गछौं। तर सो व्यक्तिको मानसिक अवस्थालाई बुझ्ने प्रयास गर्दैनौं।’

समाजले पत्याएका र नाम कमाए नेपाली मनोरञ्जन क्षेत्रमा कलाकारहरू दोहोरी गायिका दिलमाया सुनार, अभिनेत्री जेनी कुवँर, र्‍यापर अनिल अधिकारी (यमबुद्ध), निर्देशक आलोक नेम्वाङसहितले आत्महत्याको बाटो रोजेका छन्।

कलाकारहरू मात्र होइन नेपाली प्रहरीको तथ्यांकले पछिल्लो ६ वर्षमा आत्महत्याका घटना ह्वात्तै बढेको देखाएको छ। पछिल्लो छ वर्षको तथ्यांकअनुसार आत्महत्याका ३७ हजार ३ सय ६९ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन्। त्यसमध्ये देशभर झुण्डिएर २९ हजार ८ सय ३५ जनाले आत्महत्या गरेका छन् भने विष सेवन गरेर ६ हजार ९ सय १५ जनाले आत्महत्या गरेका छन्। यसअनुसार औसतमा नेपाल हरेक दिन २० जनाले आत्महत्या गर्छन्।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांकअनुसार झुण्डिएर, विष सेवन गरेर, हाम फालेर, पानीमा डुबेर, हातहतियार औजार प्रयोग गरेर र आगो लगाएर देशभर ६ हजार १ सय ४८ जनाले आत्महत्या गरेका छन्। यसअन्तर्गत झुण्डिएर मात्र ५ हजार २५७ जनाले आत्महत्या गरेका छन्। त्यसमध्ये कोसी प्रदेशमा सबैभन्दा धेरै १ हजार १८८ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने वाग्मती प्रदेशमा १ हजार ६६ जना, लुम्बिनी प्रदेशमा ९ सय ७८ जना, मधेस प्रदेशमा ७८० जना, गण्डकी प्रदेशमा ५९७ जना, सुदूरपश्चिम प्रदेशमा ४२४ र कर्णाली प्रदेशमा २२४ जनाले झुण्डिएर आत्महत्या गरेका छन्।

त्यस्तै विष सेवन गरेर देशभर ७४२ जनाले आत्महत्या गरेका छन्। देशभर हाम फालेर ४५, पानीमा डुबेर ३१, हातहतियार प्रयोग गरेर १४ र आगो लगाएर ५ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्न दुरुत्साहन गरेको १६१ वटा घटना प्रहरीमा दर्ता भएको छ।

गत आर्थिक वर्षमा देशभर झुण्डिएर, विष सेवन गरेर, हाम फालेर, पानीमा डुबेर, हातहतियार औजार प्रयोग गरेर र आगो लगाएर कुल ६ हजार ७९२ जनाले आत्महत्या गरेको मुद्दा प्रहरीमा दर्ता भएको थियो। त्यसमध्ये झुण्डिएर ५ हजार ६६४ जना, विष सेवन गरेर १ हजार २४ जना, हाम फालेर ४१ जना, पानीमा डुबेर ३२ जना, हातहतियार औजार प्रयोग गरेर १७ जना र आगो लगाएर १४ जनाले आत्महत्या गरेका थिए। त्यस्तै आत्महत्या गर्न दुरुत्साहन गरेको १८४ वटा घटना प्रहरीमा दर्ता भएका थिए।

आर्थिक वर्ष ०७७/७८ मा देशभर झुण्डिएर, विष सेवन गरेर, हाम फालेर, पानीमा डुबेर, हातहतियार औजार प्रयोग गरेर, आगो लगाएर र करेन्ट लगाएर ७ हजार ११७ जनाले आत्महत्या गरेका थिए। त्यसमध्ये सबैभन्दा धेरै झुण्डिएर ५ हजार ७ सय २० जना, विष सेवन गरेर १ हजार २७६, हाम फालेर ४६ जना, पानीमा डुबेर ३६ जना, आगो लगाएर १९ जना, हातहतियार औजार प्रयोग गरेर १८ जना र करेन्ट लगाएर २ जनाले आत्महत्या गरेको घटना प्रहरीमा दर्ता भएको थियो। आत्महत्या गर्न दुरुत्साहन गरेको १ सय ६४ वटा घटना प्रहरीमा दर्ता भएको थियो।

आर्थिक वर्ष ०७६/७७ मा देशभर झुण्डिएर, विष सेवन गरेर, हाम फालेर, पानीमा डुबेर, हातहतियार औजार प्रयोग गरेर, आगो लगाएर र करेन्ट लगाएर कुल ६ हजार २ सय ४१ जनाले आत्महत्या गरेको उजूरी प्रहरीकोमा दर्ता भएको थियो। त्यसमध्ये झुण्डिएर ५ हजार १४ जना, विष सेवन गरेर १ हजार १३६ जना, हाम फालेर ३३ जना, पानीमा डुबेर २७ जना, हातहतियार औजार प्रयोग गरेर २१ जना, आगो लगाएर ९ जना र करेन्ट लगाएर १ जनाले आत्महत्या गरेको उजूरी प्रहरीमा दर्ता भएको थियो भने आत्महत्या गर्न दुरुत्साहन गर्नेसम्बन्धी १३८ वटा उजूरी दर्ता भएका थिए।

आर्थिक वर्ष ०७७/७८ मा देशभर झुण्डिएर, विष सेवन गरेर, हाम फालेर, पानीमा डुबेर, हातहतियार औजार प्रयोग गरेर, आगो लगाएर र करेन्ट लगाएर ७ हजार ११७ जनाले आत्महत्या गरेका थिए।

आर्थिक वर्ष ०७५/०७६ मा देशभर ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेको उजूरी प्रहरीमा दर्ता भएको थियो भने आत्महत्या गर्न दुरुत्साहन गर्ने ६२ वटा उजूरी प्रहरीको दर्ता भएका थिए। प्रहरीको तथ्यांकअनुसार सो आवमा झुण्डिएर ४ हजार ३ सय १२ जना, विष सेवन गरेर १ हजार ३ सय २० जना, हाम फालेर ४८ जना, पानीमा डुबेर ३० जना, आगो लगाएर २४ जना, हातहतियार औजार प्रयोग गरेर १५ जना, करेन्ट लगाएर ४ जना र बिस्फोटक पदार्थ प्रयोग गरेर १ जनाले आत्महत्या गरेका थिए।

आर्थिक वर्ष ०७४/०७५मा देशभर ५ हजार ३१७ जनाले आत्महत्या गरेका थिए। त्यसमध्ये सबैभन्दा धेरै झुण्डिएर ३ हजार ८६८ जना, विष सेवन गरेर १ हजार ३ सय ६३ जना, हाम फालेर ५० जना, आगो लगाएर १५ जना, पानीमा डुबेर ११ जना, हातहतियार औजार प्रयोग गरेर ९ जना र करेन्ट लगाएर १ जनाले आत्महत्या गरेका थिए।

आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कारबाही हुने कानुनी व्यवस्था भएपछि प्रहरीका अनुसार पछिल्लो ६ वर्षमा यससम्बन्धी ७०९ वटा मुद्दा दर्ता भएका छन्। मुलुकी अपराध (संहिता) ऐनले आत्महत्या गर्न बाध्य पार्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

फौजदारीसम्बन्धी अधिवक्ता लवप्रसाद मैनालीका अनुसार आत्महत्याका घटना मृतकलाई मर्न बाध्य पार्ने परिस्थितिबारे जाँच हुने भएकाले सुसाइट नोटलाई आधार मान्न नसकिने बताउँछन्। ‘कानुनले मृतकलाई मर्न बाध्य पार्ने परिस्थितिको समेत जाँच गर्ने भएकाले सुसाइट नोटलाई मात्र आधार मान्दैन,’ उनले भने, ‘अदालतमा आत्महत्या गर्ने मृतकको मानसिक अवस्थाबारे समेत अनुसन्धान हुन्छ। अधिकांश आत्महत्या डिप्रेसनका कारण हुन्छन्। डिप्रेसन भएर आत्महत्याको अवस्थामा पुग्न लामो समय लाग्ने भएकाले त्यस अवधिमाथिसमेत अनुसन्धान हुन्छ। कोही पनि मानिसले एक्कासि आत्महत्या गर्ने कुरा आधारहीन हो।’

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष ७ लाखभन्दा बढी मानिसले आत्महत्याका कारण ज्यान गुमाउने गर्दछन्। १५ देखि २९ वर्ष उमेर समूहका युवाहरूको मृत्युको चौथो प्रमुख कारण आत्महत्या भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनले निम्न तथा मध्यम आय भएका देशहरूमा ७७ प्रतिशत आत्महत्याको घटना हुने जनाएको थियो। विश्वभर हुने मृत्युको १ दशमलब ३ प्रतिशत आत्महत्याका कारण हुने उल्लेख गरिएको छ। नेपालमा मानसिक स्वास्थ्य समस्या भएर उपचारका लागि जानेको संख्या २० प्रतिशतमात्र रहेको छ।

यस्तै,जनस्वास्थ्य सेवा ऐन–२०७५ले मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्यका रूपमा मान्यता दिई राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना (२०२० देखि २०२६) बनाई कार्यान्वयनमा ल्याएको छ।

आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कारबाही हुने कानुनी व्यवस्था भएपछि प्रहरीका अनुसार पछिल्लो ६ वर्षमा यससम्बन्धी ७०९ वटा मुद्दा दर्ता भएका छन्। मुलुकी अपराध (संहिता) ऐनले आत्महत्या गर्न बाध्य पार्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूका अनुसार डिप्रेसन र मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका मानिसहरूको पहिचान गरी परामर्श र उपचार गर्न सहज नभएको स्वीकार्छन्। ‘मानसिक स्वास्थ्यलाई जोड दिएर यससम्बन्धी औषधीहरू अत्यावश्यक सूचीमा राखेर देशभरका सरकारी स्वास्थ्य संस्थाबाट उपलब्ध गराइरहेका छौं,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. फणिन्द्रप्रसाद बरालले भने, ‘मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका बिमारीको परामर्श र उपचार गर्न सहज भने छैन।’

विश्व स्वास्थ्य संगठनको सहयोगमा सरकारले १४ वटा जिल्लामा मनोचिकित्सकलाई महिनाको एकपटक उपलब्ध गराएर उपचार र परामर्श सेवा सञ्चालन गरिरहेको उनले बताए। यसअघि मन्त्रालयले देशभरका १३ अस्पतालमा मानसिक बिरामीका लागि १० शड्ढया छुट्याइसकेको थियो।

जनस्वास्थ्य सेवा ऐन–२०७५ले मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्यका रूपमा मान्यता दिई राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना (२०२० देखि २०२६) बनाई कार्यान्वयनमा ल्याएको छ।

मन्त्रालयले ‘मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन निर्देशिका, २०७८’ अनुसार १० शड्ढया मानसिक स्वास्थ्यका बिरामीलाई छुट्याएको हो। उनका अनुसार डर र जनचेतनाको अभावका कारण पीडिहरूले मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू लुकाउने गर्दछन्। ‘नेपालमा आत्महत्या गर्ने अधिकांश पीडितहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको छ,’ उनले भने, ‘मानसिक स्वास्थ्य समस्यालाई निरुत्साहित गर्न हामी प्रयासरत छौं। तर आत्महत्या रोक्नको लागि हाम्रो प्रयास मात्र अपर्याप्त छैन।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनअनुसार कुल जनसंख्याको १३ प्रतिशत विभिन्न प्रकारको मानसिक समस्याबाट ग्रसित रहेको छ। ‘आत्महत्याको प्रमुख कारण डिप्रेसन हो,’ मनोविज्ञ सिग्देल भन्छिन्, ‘तर डिप्रेसन भएका सबैले आत्महत्या गर्छन भन्ने मिल्दैन। डिप्रेसनको प्रारम्भिक चरणमा यसको सम्बोधन हुनु जरुरी छ। यो पनि अन्य स्वास्थ्य समस्याजस्तो हो भनेर बुझ्न सक्नुपर्छ। राज्यले यसलाई प्राथमिकतामा राखेर यससम्बन्धी स्वास्थ्यकर्मी र आवश्यक जनशक्ति बढाउनुपर्छ।’

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?