अभिनयबाट टाढिन नसकेका सरोज खनाल भन्छन्– मैले आफूलाई परिवर्तन गरेँ

अभिनयबाट टाढिन नसकेका सरोज खनाल भन्छन्– मैले आफूलाई परिवर्तन गरेँ

अमेरिकामा सरोज खनाल, नेपालमा राजेश हमाल!

यो गीत ‘शक्ति’ फिल्मको हो। गीत छायांकन हुँदा अभिनेता सरोज खनाल अमेरिका गएको पाँच वर्ष भइसकेको थियो।

फिल्मका निर्देशक सोभित बस्नेतले गीत रेकर्ड गरिसकेपछि खनाललाई फोन गरेर भने, ‘तपाईं एउटा गीतको छायांकनका लागि नेपाल आउन मिल्छ?’

खनालले सोचे – एउटा गीतका लागि त के अमेरिकादेखि नेपाल जानु!

उनलाई त्यति बेला गीतका बारेमा प्रस्ट थिएन। गीतमा अभिनेता राजेश हमाल र उनको नृत्य रहने बताइएको थियो।

गीत हेरिसकेपछि भने उनलाई लाग्यो – ओहो खेल्नुपर्ने रहेछ!

आफ्नै नाममा बनेको गीत नखेल्दा खल्लो महसुस भएको उनी बताउँछन्।

‘मेरो नामबाट पनि गीत बन्ला भनेर मैले कहिल्यै पनि सोचेको थिइनँ। मैले फिल्म क्षेत्र चटक्कै छाडेर अमेरिका गए पनि मान्छेहरूले सम्झिनु हुँदोरहेछ जस्तो लाग्यो। मेरो लागि त्यो खुसीको क्षण थियो,’ उनले भने।

यो २०५९ साल तिरको कुरा हो।

१७ वर्ष अमेरिका बसाइमा उनले फिल्म क्षेत्र माया मार्न सकेनन्। त्यहाँ हुँदा पनि हरेक दिन उनको मनमस्तिष्कमा सिनेमा नै घुम्थ्यो।

उनले अमेरिकामा युनाइटेड नेपाल नामक संस्था खोलेका थिए। नेपालबाट कलाकार बोलाएर उक्त संस्थाबाट उनी हरेक वर्ष दसैं छेको पारेर सांगीतिक कार्यक्रम गर्थे। त्यहाँ आउने कलाकारहरूले ‘तपाईंको आँखामा फिल्मप्रतिको भोक अझै देखिन्छ, तपाईं अमेरिका धेरै बस्नुहुन्न’ भन्थे।

ती कुरा खनालका दुई छोराले पनि महसुस गरिरहेका थिए।

एक दिन उनका छोराहरूले नै भने, ‘बाबा तपाईंले हाम्रो लागि जति गर्नुभयो त्यो ठूलो कुरा हो। अब तपाईं नेपाल फर्किनुहोस्। जहाँ रमाउनुहुन्छ, त्यही गएर बस्नुहोस्।’

अमेरिका जानुअघि उनलाई पनि लाग्थ्यो – अभिनयबाहेक अरू काम आउँदैन। अभिनयका लागि म जन्मिएको हो, यही नै मेरो कर्म हो!

जति बेला उनी अमेरिका गएका थिए, त्यति बेला उनी व्यस्त अभिनेता थिए। फिल्मसँगै उनी नाटक, टेलिशृंखला र म्युजिक भिडिओमा पनि काम गरिरहेका हुन्थे। उनको अभिनय करिअर राम्रो चलिरहेको थियो। एकाएक उनले अमेरिकामै बस्ने निर्णय किन गरे?

यो प्रश्नको ठ्याक्कै जवाफ उनीसँग छैन।

भन्छन्, ‘परिस्थितिले डोहोर्‍यायो।’

खनालका अनुसार माओवादी सशस्त्र द्वन्द्वको रापले उनलाई पनि सताउन थालेको थियो।

आफूलाई माओवादी बताउने एक व्यक्तिले उनलाई फोन गरेर भने, ‘तपाईं त कलाकार, थुप्रै पैसा कमाउनु हुन्छ होला। हामीलाई चन्दा दिएर सघाउनुपर्‍यो।’

खनालले आफूसँग पैसा नभएको बताए।

यसपछि फोन गर्ने व्यक्तिले धम्की दिँदै भनेछन्, ‘तपाईंको छोरो कहाँ पढ्छ, हामीलाई थाहा छ।’

उनले असुरक्षित महसुस गर्न थालिसकेका थिए। यसबाहेक त्यो बेला बनिरहेका फिल्मप्रति पनि असन्तुष्टि हुन थालेको थियो।

त्यसो त उनी अमेरिकै बस्छु भनेर गएका पनि थिएनन्। एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन पुगेका थिए। केही समय घुमे। त्यहाँको सेवा-सुविधाले उनलाई आकर्षित गर्‍यो।

अनि त्यही बेला उनले एउटा निर्णय गरे – कलाकार सरोज खनाललाई त्याग्ने।

‘फिल्म क्षेत्रबाट खासै कमाइ हुँदैन थियो। टेलिशृंखलाको एक भागको पाँच सय रूपैयाँ आउँथ्यो। एक्लो हुँदा त त्यतिले पनि पुग्थ्यो। तर परिवार बढ्दै गएपछि पुग्न छाड्यो। बाबुले नाचेर हाम्रो भविष्य बिगारे भन्ने आरोप सन्तानबाट नलागोस् भन्ने चाहन्थेँ। त्यसैले आफ्नो सन्तानको भविष्यका लागि मैले कलाकार सरोज खनाललाई त्यागेँ,’ उनले भने।

त्यो निर्णय गरेको समयलाई फर्किएर हेर्दा उनलाई पछुतो लाग्दैन।

भन्छन्, ‘मैले १७ वर्ष फिल्म नखेले पनि कुनै पछुतो छैन। फिल्मको संख्या बढ्थ्यो होला तर गुणस्तर?’

उनी अभिनेता हुँदाको तीतामीठा यादहरू समेटेर अमेरिका गएका थिए। आफ्नो विगतको एउटा रमाइलो कुरा पनि सुनाए।

फिल्म ‘प्रेमपिण्ड’ प्रदर्शन हुँदा उनी वीरगन्जमा थिए। त्यहाँ उनीहरूले दर्शकसँगै बसेर फिल्म हेरे। १८ वर्षका एक युवकले भने उनलाई हेरिरहेका थिए। खनालले उनलाई नजिकै बोलाएर केही भन्न मन छ भनेर सोधे।

नजिकै आएपछि ती युवकले भने – तपाईंलाई छुन मिल्छ?

युवकले हात छोएपछि भनेछन् – तपाईं पनि हामीजस्तै मान्छे हुनु हुँदोरहेछ।’

त्यो सुनेपछि खनाल झल्याँस्स भए।

‘ए बा! हामीलाई त दर्शकले अर्कै सोच्नु हुँदोरहेछ। त्यो हो पनि, फिल्ममा हामी एक लात हान्दा एकैचोटि ५/६ जनालाई ढाल्छौं। हिरोइनलाई लिएर डाँडाकाँडा कुद्छौं। तुरून्तै रून्छौं, तुरून्तै हाँस्छौं,’ उनले भने, ‘आम जीवनमा त यस्तो हुँदैन। वास्तविक जीवनमा त हरेक संवेदना परिवर्तन हुन समय लाग्छ।’

त्यसपछि उनले युवकलाई भने – हामी पनि तपाईंहरू जस्तै हो। पर्दामा नाटक मात्र गर्छौं!

उनी नेपाल आएका बेला कुनै समारोहमा सामेल भए भने उनीसँग तस्बिर खिच्नेको भिड हुन्थ्यो। तर युवा वर्ग उनलाई चिन्दैन थियो। बुबाआमाले खनालसँग फोटो खिचाउँदा उनीहरूका छोराछोरी ‘को हो उहाँ, किन फोटो खिचेको’ भनेर सोध्थे।

यो सुनेपछि खनाललाई फिल्म क्षेत्रमा आफ्नो भविष्य सकिएको भान हुन्थ्यो। उनले आफ्नो पारिवारिक व्यवसायमा संलग्न हुने सोच बनाए। उनका दाइले २०४३ सालदेखि कुखुरा फार्म चलाइरहेका थिए। यसको बजार व्यवस्थापनको जिम्मा अहिले पनि खनालले नै सम्हालिरहेका छन्।

२०७२ सालमा खनाल नेपाल फर्किए। फर्किँदा उनलाई फिल्म क्षेत्रमा काम पाउँछु जस्तो लागेको थिएन। तर आएको केही दिनमै फिल्मको प्रस्ताव आउन थाल्यो।

‘मलाई कम-ब्याक गर्नेजस्तो फिल्म चाहिएको थियो। दुई-तीनवटा त्यस्तै पाएँ,’ अभिनयबाट टाढिन नसकेका खनालले भने।

अमेरिकाबाट आएपछि उनले ‘नाइ नभन्नु ल-२’ मा अभिनय गरे। कलाकार अनुभव रेग्मीको शिक्षकको भूमिकामा छन् उनी। यो फिल्मले आफूलाई बालदर्शकसँग जोडिन सहज बनाएको उनी बताउँछन्।

‘बालबालिकाले सरोज खनाल भनेर नचिने पनि अनुभवको शिक्षक, अनुभवलाई गीत गाउन सिकाउने मान्छे भनेर चिने,’ उनले भने।

त्यसपछि उनले ‘प्रेमगीत’ मा अभिनय गरे। यसले उनलाई युवा पुस्तामाझ चिनाउन सहज बनायो।

‘मैले जुन पुस्ता मिस गरेको थिएँ, यी दुई फिल्मबाट उनीहरूसम्म पुग्न सहज भयो,’ खनालले भने।

त्यसपछि उनलाई यही क्षेत्रमा अडिन समस्या भएन। तर उनको भूमिका फेरिइसकेको थियो। अमेरिका जानुअघि मुख्य अभिनेता (हिरो) भएर काम गरिरहेका खनाल बुबाको भूमिकामा देखिन थाले। चरित्र अभिनेता बने।

‘मैले आफूलाई उमेरअनुसार परिवर्तन गरेँ। समयअनुसार चल्न नजान्ने मान्छेजस्तो दुःखी संसारमा कोही हुँदैन,’ उनले भने, ‘मैले अब नयाँ पुस्ताका हिरोइनसँग रोमान्स गरेँ भने दर्शकलाई पच्दैन। म पनि आत्मैदेखि त्यस्तो गर्न सक्दिनँ। म आफैंले स्वीकार गर्न नसकेको कुरा दर्शकले कसरी स्वीकार गर्नुहुन्छ? त्यसैले मैले आफूलाई तुरून्तै परिवर्तन गरेँ।’

अहिले भने खनालको फिल्ममा मात्र होइन, पेसागत जीवनमा पनि भूमिका फेरिएको छ। उनी अभिनेतासँगै निर्देशक भएका छन्। ‘बगान’ उनको पहिलो निर्देशनमा बनेको फिल्म हो जुन असार २९ गतेदेखि प्रदर्शन हुँदैछ।

तर उनी आफूलाई यो फिल्मको निर्देशक मान्दैनन्।

‘म बगानको सूत्रधार मात्रै हुँ,’ उनले भने, ‘मलाई निर्देशकको रवैया राम्रोसँग थाहा छ। त्यो रवैया मैले देखाएको छैन। मैले सबैलाई चरित्रहरूका बारेमा राम्ररी बुझाएँ। त्यसलाई कसरी प्रस्तुत गर्ने भनेर उहाँहरूकै हातमा छाडेँ।’

उनले थपे, ‘अभिनेता निर्देशक बन्दा अरू कलाकारमाथि हाबी हुन्छ। आफैं अभिनय गरेर देखाउन थाल्छ। जुन कुरा म कहिल्यै पनि गर्न चाहन्नँ। कसैको हुबहु नक्कल गर्न कसैले पनि सक्दैन।’

खनालले स्वप्निल निरवको कथा संग्रह ‘प्रेमिल’ पढेका थिए। उक्त किताबमा १८ वटा कथा छन्। त्यसैमध्येको एउटा कथा हो बगान।

एकल महिलाको कथा समाजलाई भन्नुपर्छ भनेर फिल्म बनाउने निर्णय गरेको उनले बताए। सुरूमा उनले यसलाई सर्ट (छोटो) फिल्म बनाउने सोचेका थिए। खोजबिन गर्दा नेपालमा १५ लाख एकल महिला भएको जानकारी पाए।

अनि उनलाई लाग्यो – १५ लाख महिलाको कथा त फिचर फिल्मबाटै भन्नुपर्छ!

यो फिल्मले एकल महिलाको कथा मात्रै नभन्ने उनी बताउँछन्। यसले महिलालाई शिक्षाको आवश्यकता कति हुन्छ भन्नेबारे पनि प्रस्ट्याउन खोजेको छ।

बगानका लागि खनालले ८ महिना खर्चिएका छन्। फिल्मको स्क्रिप्ट तयार गर्नेदेखि लिएर सम्पादनसम्म उनी बसेका थिए।

‘अब मेरो इच्छा भनेको देश परिवेशअनुसारको शिक्षामूलक नेपाली फिल्मले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सकोस् भन्ने हो,’ खनालले भने।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *