३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

स्कुले विद्यार्थिलाई नेपाली सेनाद्वारा तालिम

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली सैनिकको पोशाक, उस्तै बुट, दुरुस्तै हेयर स्टाईल । हेर्दा लाग्छ नेपाली सेनाले आफ्ना सैनिकहरुलाई तालिम दिईरहेको छ । तालिम सेनाले नै दिएपनी त्यो आफ्ना सैनिकलाई नभएर विद्यार्थीका लागी हो । राष्ट्रलाई अफ्ठ्यारो पर्दा योगदान गर्न सक्ने साहसी, इमान्दार र राष्ट्रभक्त जनशक्ति उत्पादनको लक्ष्य सहित नेपाली सेनाले विद्यार्थीहरुलाई वर्गिकरण गरेर तालिम दिंदै आएको छ ।

नेपाली सेनाले हरेक वर्ष निश्चित संख्यामा विद्यार्थीहरुलाई सैन्य तालिम दिँदै आएको छ । सिनियर र जुनियर डिभिजन बनाएर प्रत्येक वर्ष देशभरबाट विद्यालयहरु छनोट गरेर निश्चित मापदण्ड पुरा गरेका विद्यार्थीलाई तालिम दिने गरिएको छ । सोही अनुरुप यस वर्ष अर्घाखाँचीबाट ७२ जनालाई तालिम दिईदै छ । दुई ओटा विद्यायलका ३६ जना छात्र र ३६ जना छात्रा गरी ७२ जनालाई जुनियर डिभिजनको तालिम अभ्यास गराइने छ ।

सन्धिखर्कको गौरिशंकर इङिलश बोर्डिङ्ग स्कुल र ज्ञान प्रकाश मावी डिभर्नाका विद्यार्थीलाई नेपाली सेनाले राष्ट्रिय सेवा दल (एनसिसी)को तालिम दिन सुरु गरेको छ । ७९ दिने तालिममा खाली हात ड्रिल, तेक्वान्दो, एरोबिक्स, खुकुरी ड्रिल, मास पिटी लगायतका अभ्यासहरु गराईने ईश्वरी बक्स गुल्म म्यालपोखरीका गुल्मपती वासुदेव पङ्गेनीले जानकारी दिए ।

नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित जुनियर डिभिजन ४९औँ व्याचमा छनौट भएको विद्यालयमा सोमवार विद्यार्थीहरुलाई प्रथम प्रवचन समेत प्रदान गरिएको छ । गौरिशंकर र ज्ञान प्रकाश मावीमा भएका दुईओटा छुट्टाछुट्टै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले विद्यार्थिलाई अनुशासित, मर्यादित र ईमानदार बनाउन राष्ट्रले यस्ता किसिमका तालिमहरु सञ्चालन गर्दै आएको बताए । तालिमले बालबालिकाहरुलाई स्वःअनुशासनमा बाँध्न सिकाउने भन्दै उनले राष्ट्रलाई आपतविपद् पर्दा जनशक्ती प्रयोग गर्न सकिने बताए ।

तालिमका चरणहरु पार गर्दै जाँदा सर्वोत्कृष्ट हुनेलाई विदेशमा समेत तालिमको अवसर दिने गरिन्छ । खोज, राहत, उद्धार र प्राथामिक उपचारका सम्बन्धमा व्यवहारिक ज्ञान समेत प्राप्त हुने भएकाले अभिभावक र विद्यार्थीहरुको तालिममा आकर्षण बढेको छ । यस अँघी गौरिशंकर इङिलश बोर्डिङ्ग स्कुलका विद्यार्थी अभिषेक गैरे नवलपरासीको हात्तीखोर शिक्षालयबाट उत्कृष्ट भएका थिए । उनले भारतमा गएर थप तालिम लिने अवसर प्राप्त गरेका थिए ।

२०७३÷०७४ मा सन्धिखर्कको भगवती मावी संखेटारीबाट सुरुवात भएको एनसिसी तालिम अन्य पालिकामा विस्तार गर्न भने चुनौती देखिएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) मुकुन्द रिजाल, सशस्त्र प्रहरी निरिक्षक दयाराम पौडेल, राष्ट्रिय अनुसन्धानका प्रहरी निरिक्षक खिमा पोख्रेल, विद्यालयका शिक्षक शिक्षिका, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?