लक्ष्मण घिमिरे ।
अर्घाखाँची । गत निर्वाचनमा प्रदेशसभा ‘क’ का उम्मेद्वार बनेका सागर केसी र एकिकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहानले १५ हजारका दरले जरिवाना तिर्नुपर्ने भएको छ । निर्वाचन आयोगले चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ । सोही अनुसार अर्घाखाँचीका केसी र चौहान सहित ११ जनालाई जरिवाना गर्ने निर्णय भएको हो ।
चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने २४३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ । आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ गरी कुल २४३५ जना उम्मेदवारहरूलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।
अर्घाखाँचीका सागर केसी, राम बहादुर चौहान, झविन्द्र पुल्लेल, विक्रम खनाल, राजन नेपाली, बसन्त केसी, बाबुराम रोका मगर, टुक बहादुर चेवाली, चेत बहादुर पौडेल, खेतुलाल उपाध्याय र चिरञ्जिवी अर्याल रहेका छन् । तोकिएको समयमा निर्वाचन खर्च विवरण नटिपाएको भन्दै उनिहरु कारवाहीमा परेका हुन् ।
जरिवाना बापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारहरूलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना बापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय पनि भएको छ । @ratopati.com