बंगलादेशमा यस वर्ष डेंगीका कारण मृत्यु हुनेको संख्या १ सय ८५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले मंगलबार जनाएको छ । संक्रमितको संख्या ३५ हजार २ सय ७० पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्यांकमा उल्लेख छ ।गत सोमबारसम्मको तथ्यांकअनुसार यो महिनामा डेंगीबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको महानिर्देशनालयले पुष्टि गरेको छ ।
बंगलादेश सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि दक्षिण एसियाली स्वास्थ्य विज्ञहरूले त्यहाँ डेंगीले महामारीको रूप लिएको बताएका छन् । बंगलादेशमा यसअघिका वर्षमा अगस्ट र सेप्टेम्बरमा सबैभन्दा धेरै डेंगीका बिरामी अस्पताल भर्ना हुने गरेको तथ्यांक छ । पछिल्लो अवस्थाबारे पनि विज्ञहरूले चिन्ता व्यक्त गर्दै डेंगीले अझै जोखिम निम्त्याउन सक्ने भन्दै सचेत गराएका छन् ।
यसैबीच स्वास्थ्यविद्हरूले संक्रमणलाई नियन्त्रणमा लिन सरकारले महामारी घोषणा गर्नुपर्ने र रोकथामका लागि तत्कालै कदम चाल्नुपर्ने सुझाव दिएका छन् । साथै वरिष्ठ चिकित्सकसहित बंगलादेश मेडिकल एसोसिएसनले देशमा ‘स्वास्थ्य संकटकाल’ घोषणा गर्दै नयाँ कदम चाल्नका लागि सरकारलाई सुझाव दिएका छन् । डेंगीका कारण बंगलादेशका हजारौं बालबालिका प्रभावित भएको बताइएको छ । यससँगै आम समुदायमा रोगलाई लिएर त्रास फैलिएको छ । विशेषगरी राजधानी ढाकामा हरेक दिन मृत्युका खबरले सामाजिक सञ्जालमा महत्त्व पाएका छन् ।