काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले नेपालसँग भैरहवा र पोखराका लागि पनि सिधा उडानको अनुमति मागेको छ । भुटानको पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको ‘भुटान सिभिल एभिएसन अथोरिटी’ ले नेपालका दुई सहरमा सिधा उडान अनुमति दिन शुक्रबार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पत्र पठाएको हो ।
‘भुटानले आफ्ना दुई अन्तर्राष्ट्रिय वायुसेवाबाट पोखरा र भैरहवामा सिधा व्यावसायिक उडानका लागि अनुमति मागेको छ,’ प्राधिकरण स्रोतले कान्तिपुरसँग भन्यो, ‘भुटानी वायुसेवाले नेपालमा दशककौंदेखि उडान भर्दै आइरहेकाले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिन कुनै प्राविधिक समस्या छैन । भुटान सरकारले तोकेका दुई वायुसेवालाई अनुमति दिन प्रक्रिया चाँडै अघि बढाउने पक्षमा छौं ।’
दुई देशबीच एक दशकअघि वार्षिक २ लाख १८ हजार सिटका लागि हवाई सम्झौता भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल भुटानका दुई अन्तर्राष्ट्रियसहित ३० वटा वायुसेवाले उडान भर्दै आएका छन् ।
सञ्चालनमा आएको ७ महिना बित्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म कुनै पनि विदेशी वायुसेवाले नियमित उडानको अनुमति लिइसकेका छैनन् । कम्तीमा २२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा निर्माण गरिएको उक्त विमानस्थलमा भुटानी वायुसेवालाई उडानका लागि रुटको समस्या हुने छैन । पूर्वी इलामको आकाश हुँदै गल्फ–३४८ रुटबाट जहाजले भुटान ओहोदोहार गर्न सक्छन् । यो रुट काठमाडौंको आकाश हुँदै पोखरासँग जोडिएको छ । त्यसैगरी भैरहवा–भुटान (पारो) उडानका लागि पनि हवाई रुटको झमेला छैन ।