सबै नेता बिग्रिए भन्न मिल्दैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा लागेका सबै नेताहरू बिग्रिएका छन् भनेर भन्न नमिल्ने बताएका छन् । उनले बरू केही व्यक्तिहरू राजनीतिमा आएर नेता भएपछि बिग्रिएको टिप्पणी गरे ।
‘खीर खाने दिन’को रुपमा मनाइने साउन १५ को सन्दर्भमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । यस क्रममा अध्यक्ष ओलीले र्याप गाएर नेताहरूलाई ब्यंग्य गर्ने बालेन शाह राजनीतिमा आएपछि बिग्रिएको भन्दै कटाक्ष गरेका थिए ।
‘सबै नेता बिग्रिए भन्न मिल्दैन । राजनीतिमा लागेका सबै नेता बिग्रिएका पनि छैनन्,’ ओलीले अघि भने, ‘किनभने एक जना नेता, नेता हुनुभन्दा अघि र्याप गाउँथे, र्याप पनि कस्तो भने नेताजति सबै चोर हुन् भनेर गाउँथे । तर पछि नेता भएपछि त्यो र्याप नमिलेको जस्तो लाग्ने ।’
उनले राजनीति भ्रष्ट, छुल्याह नीति नभएको बताए । अध्यक्ष ओलीले राजनीतिमा लागेर कोही अपवित्र व्यक्ति पवित्र हुने र बेठीक कुरा ठीक हुने भन्ने नरहेको बताए । राजनीति सबै नीतिको मुहान भएकाले फोहोर पार्न नहुने उनको भनाइ छ । ‘सबै मुहान फोहोर छैनन्, कतिपय नेता बिग्रिए भने बिग्रिए भन्नुपर्यो,’ उनले भने, ‘तर बिग्रिएकाले मजस्तै सबै बिग्रिए भन्न सुहाउँदैन ।’