नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकलाई ‘भारदारी सभा’ को संज्ञा दिँदा एक थरीले मानमर्दन गरिएको भनेर आलोचना पनि गर्लान् । यद्यपि तीतो सत्य यही हो, आठ दिन चलेर साउन १० गते सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले ‘भारदारी सभा’ कै झल्को दियो ।
त्यस्तो किन देखियो भने, बैठकको विमर्शको केन्द्रमा राष्ट्रिय राजनीतिक मुद्दाहरू थिएनन् । अधिकांश वक्ता (केन्द्रीय सदस्य/पदाधिकारी) सभापति शेरबहादुर देउवाको प्रशस्तिगानमा जुटेका थिए । तिनको दलिल थियो, ‘सभापतिमाथि सार्वजनिक टीकाटिप्पणी गर्न पाइँदैन । सभापति संस्था हो, पार्टीको शिर हो ।’
देउवाप्रति वफादारी देखाउने क्रममा वक्ताहरूले महामन्त्री गगन थापाको तिखो आलोचना गर्न छुटाएनन् । संसदीय दलको नेता हुन हतारिएको आरोप लगाउँदै पार्टीलाई नोक्सान हुने गरी सार्वजनिक टीकाटिप्पणी गरेको भनेर थापामाथि चौतर्फी हमला भयो । कतिले त राजीनामा नै मागे ।
त्यसो त कांग्रेस बैठकमा आम सरोकारका मुद्दाहरूमाथि सम्बोधन होला भनेर सायदै कसैले सोचेको थियो । बैठकअघि नै कांग्रेससँग वैचारिक निकटता भएका विश्लेषक पुरञ्जन आचार्यले आम जनमा देखिएको उदासीनतालाई लेखमार्फत प्रकट गरेका थिए । असार २६ गते अनलाइनखबरमा उनले लेखेका थिए, ‘कांग्रेसको आन्तरिक जीवनमा हुने विचार, विमर्श र बैठकले देशमा केही पनि दिशानिर्देश गर्दैन भनी आम नागरिक समूहमा चेतना निर्माण भएको छ । तसर्थ, बैठकलाई लिएर कहीँकतै स्पन्दन छैन, बैठकलाई नागरिकले नोटिसमा लिन छाडेका छन् ।’
बैठक प्रत्यक्ष प्रसारण गर्ने भएपछि नागरिकले ‘नोटिस’ मा त लिए नै, चाख दिएर हेरे/सुने; तर, आचार्यले भनेजस्तै बैठकचाहिँ ‘स्पन्दनहीन’ नै साबित भयो । त्यहाँ गुटका स्वार्थ, व्यक्तिपूजा, व्यक्तिनिन्दा, आरिस, कुण्ठा आदि पोखिए तर नागरिकका मुद्दा र आवाज प्रस्फुटित भएनन् ।
बैठकले गरेको १८ बुँदे निर्णय हेर्दा पनि राष्ट्रिय महत्त्व र संवेदनशील विषयमा कांग्रेस मुखर नभएको पुष्टि हुन्छ । पार्टी जीवनमा आइपर्ने नियमित र औपचारिक विषयहरू समेटेर केही निर्णय गरिएका छन् । नीति अधिवेशन गर्ने महाधिवेशनको म्यान्डेटलाई संशोधन गर्दै महासमिति बैठक गर्ने, कांग्रेस सुदृढीकरणका लागि समुदायमा जाने र महामन्त्री गगनले पेस गरेको वार्षिक क्यालेन्डर परिमार्जनसहित पारित गर्ने आदि केही उल्लेखनीय निर्णय गरे पनि त्यसले कांग्रेस वृत्तमा कुनै ऊर्जा ल्याएन । सुशासन र भ्रष्टाचारका मुद्दामा कांग्रेसको हिचकिचाहटले त झन् कार्यकर्तापंक्ति निराश नै भयो ।
बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नेता बालकृष्ण खाणको भावनात्मक प्रतिरक्षा अस्वाभाविक र लाजमर्दो थियो । निश्चय पनि अदालतको अन्तिम फैसलाले दोषी वा निर्दोष किटान हुने हो, तर अभियोग लागेर थुनिएका नेतालाई निलम्बन गर्नसम्म हिचकिचाउनुले कांग्रेसको नियत सन्देहमा परेको छ । गगनले १३ बुँदे फरक मत दर्ज गरेर थोरै भए पनि लाजगाज छोपिदिएका छन् ।
सारमा, कांग्रेस बैठकले न कार्यकर्ता पंक्तिमा न त जनस्तरमै कुनै ऊर्जा ल्याउन सक्यो । बरु, यो बैठकबाट कांग्रेसको केन्द्रीय नेतृत्व आलोचनात्मक चेत कम भएको गुट र व्यक्तिपूजक जमात रहेछ भन्ने सन्देश गयो । तिनको प्रस्तुतिमा विषयवस्तुमा कमजोर पकड र (अ)योग्यता आम रूपमा देखियो । योभन्दा पनि बढी, बैठक शक्ति प्रदर्शनको अखडाजस्तै बन्यो । मुख्यतः सभापति देउवा र महामन्त्री गगनबीचको टकरावको सेरोफेरोमा यो बैठक सम्पन्न भयो । चौधौं महाधिवेशनका सभापति प्रत्याशी शेखर कोइराला कतै छायामा परे । देउवासँगको प्रतिद्वन्द्वितामा गगन उभिए ।
राष्ट्रिय मुद्दाहरूको उठान र सम्बोधन गर्न असफल बैठकले कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा कसको हैसियत के भन्ने चित्रचाहिँ कोरिदिएको छ । यो विश्लेषण यसै सन्दर्भमा केन्द्रित रहनेछ ।
देउवाको दम
चौधौं महाधिवेशनबाट शक्तिशाली सभापतिका रूपमा उदाएका देउवाले फेरि एक पटक आफ्नो वर्चस्व प्रदर्शन गरेका छन् । पार्टी वा संसदीय दलमा नेतृत्वबाट उनलाई बदल्ने आकांक्षा राखे पनि गुट र गणितको अनुकूलताका कारण अहिले नै टक्कर दिने अवस्था नरहेको प्रस्ट सन्देश यो बैठकले दिएको छ । अझ, चौधौं महाधिवेशनका प्रत्याशी शेखर समूह कमजोर हुँदै गएकाले देउवाको शक्ति अरू बढेको हो । आलोचनाको भयले टार्दै आएका देउवाले रणनीतिक योजनासहित ११ महिनापछि बैठक राखेर पार्टीभित्रका विपक्षीहरूको ‘औकात’ देखाइदिएका छन् । बैठकको प्रत्यक्ष प्रसारण गरेर उनले विपक्षी आवाज कमजोर र आफू बलियो भएको सन्देश प्रवाह गरे ।
यद्यपि, यो प्रत्यक्ष प्रसारणले देउवाको योग्यतामा फेरि पनि प्रश्न उठ्यो, जब उनले सुशासन लगायतका समसामायिक मुद्दा, बैठकमै उठेका आफूलक्षित प्रश्नमा समेत कुनै जवाफ दिएनन् । जबकि सुशासन/भ्रष्टाचार, पार्टी सुदृढीकरणका मुद्दामा मूल नेताका हैसियतले उनका धारणा आउनुपर्थ्यो । उनले ‘आलोचना धेरै होला भन्ठानेको, कमै आयो, धन्यवाद’ भनेरै टारिदिए । एउटा जीवन्त पार्टीको नेता गतिशील हुन सक्नुपर्छ । तर, देउवाले आफूलाई त्यसरी उभ्याउन सकेका छैनन्, न वैचारिक, न त राजनीतिक रूपले नै ।
उनी सत्ता राजनीतिका पक्का खेलाडी हुन् । प्रचण्डभन्दा अघि नै प्रधानमन्त्री हुने लालच पाल्दा गुमेको सत्ता दाउपेच खेलेर उनले दुई महिनामै फिर्ता ल्याए । रामचन्द्र पौडेललाई राष्ट्रपतिका रूपमा सारेर उनले पार्टीभित्र आफूलाई थप बलियो बनाए । गुट निर्माण गर्न उनी माहिर छन् । उनलाई बलियो गुटको आड पनि छ तर त्यो आडमा उनी कांग्रेसलाई गतिशील बनाउन सक्षम छैनन् । आज पनि उनको ‘अर्जुनदृष्टि’ कसरी छैटौं पटक प्रधानमन्त्री बन्ने भन्नेमै केन्द्रित छ । पार्टी सुधार वा अरू राजनीतिक मुद्दा उनका लागि तपसिलका विषय हुन् । योग्यता, उमेर, शारीरिक दुर्बलता सबै हिसाबले राजनीतिक विश्राम लिएर जीवनको उत्तरार्द्धलाई सकारात्मक र अर्थपूर्ण बनाउने अवसर भएको सत्य देउवाले नबुझेका होइनन्, तर गुटको आड र शक्ति रहेसम्म उनी आफ्नो ‘पदलोलुप ब्रान्ड’ त्याग्न तयार छैनन् ।
गगनको गर्जन
देउवाको छवि सत्तालिप्सा भएको नेतामा सीमित हुँदै जाँदा गगन भने कांग्रेस मूल नेतृत्व सम्हाल्ने नेताको ‘ब्रान्ड’ बन्नेतर्फ उद्यत देखिन्छन् । उपनिर्वाचनमा कांग्रेसको पराजयले बेचैन र केही हतोत्साही देखिएका उनी यो बैठकमा चौतर्फी घेराबन्दीमा परे । तर, त्यसका बावजुद जुन अडानसहित दरिलो आवाजमा प्रस्तुत भए, त्यसबाट उनले पुनः आफूमा आत्मविश्वास जागृत गराएका छन् ।
पार्टी पंक्तिमा गगनलाई यतिखेर झिनो समर्थन छ । अर्का महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतका केही औंलामा गन्न सकिने केन्द्रीय सदस्यहरूले मात्रै यो बैठकमा उनलाई साथ लिए । संख्याका दृष्टिले कमजोर देखिए पनि उनले अघि सारेका मुद्दा र लिएका अडानले उनको राजनीतिक कद बढाएको छ । गगनको सेखी झार्ने देउवा रणनीति सफल भएको आत्मरतिमा कांग्रेसको संस्थापन पक्ष दंग छ । तर, यथार्थमा बैठकले गगनको राजनीतिक पाइन अझ धारिलो बनाएको छ । गुटको चस्मा फुकालेर हेर्ने हो भने, देउवा अंकगणितका नेतामा सीमित देखिन्छन् भने गगन राजनीतिक नेता दरिएका छन् ।
राजनीति अनौठो खेल हो । कोही हारेर पनि जित्छन् र कोही जितेर पनि हार्छन् । संसदीय दलको चुनावमा देउवाले जिते, गगनले हारे । तर, आफूभन्दा तीन दशक पाका नेतालाई अरू थुप्रै पाका पुस्तालाई उछिन्दै उनले जसरी चुनौती दिए, त्यो उनको ‘राजनीतिक जित’ थियो । अहिले पनि गगनले अघि बढेर देउवालाई जुन हाँक दिए, त्यो आम कांग्रेसजन र शुभेच्छुकमाझ उनलाई नेताका रूपमा स्थापित हुन सहयोगी बनेको छ । केही शासकीय र संसदीय अभ्यासको अनुभव लिइसकेका, गणतन्त्रको आन्दोलनका एक सक्रिय अभियन्ता, तार्किक र योजनाबद्ध कुरा राख्न सक्ने क्षमता भएका गगनले आफूलाई राजनीतिक रूपमा भावी नेतृत्वको उपयुक्त विकल्पका रूपमा प्रस्तुत गर्न सकेका छन् ।
बैठकमा अधिकांश वक्ताले कांग्रेसको मूल नेतृत्वमाथि प्रश्न नगरी गगनमाथि खनिनुले उनका समकालीन मात्रै होइन, पाकाहरूले पनि कति ‘थ्रेट’ महसुस गरेका रहेछन् भन्ने देखियो । आफूप्रति आरिस र भय भएको त्यही जमातको साथ र सहयोगमा नेतृत्वमा पुग्ने भयंकर चुनौती अब उनीसामु छ । त्यसैले उनी अहिले आफूमाथि आएका क्रियाहरूमा प्रतिक्रिया गरेको तुष्टीकरणमा सीमित हुनु हुँदैन, वैचारिक खडेरी भएको कांग्रेसमा आफूले अघि सारेका मुद्दा र विचारलाई निरन्तर अघि बढाउन सक्नुपर्छ । पार्टीभित्र उनले गरेका प्रयत्न अब कार्यकर्ता पंक्तिले देखेका छन् । उनका सीमितता बुझेका छन् । यो बेला उनले आफूलाई लोकप्रियतावाद र सार्वजनिक खपतमा मात्रै सीमित नराखी साँच्चैको गतिशील नेताको पहिचान बनाउन सक्नुपर्छ । आफ्ना अडान र अभिव्यक्तिहरूमा स्थिर हुँदै निरन्तर टिक्न सके गगनको गन्तव्य टाढा छैन ।
शेखरको समर्पण
कांग्रेसको आन्तरिक शक्ति सन्तुलनको चर्चा गरिरहँदा शेखर कोइरालाको भूमिका छुटाइयो भने त्यो अपुरो हुन जान्छ । शेखर चौधौं महाधिवेशनमा देउवालाई चुनौती दिने नेता हुन् । उनले सभापति पदमा देउवासँग सम्मानजनक पराजय भोगेका थिए । शेखर कांग्रेसको संस्थापनइतर समूहका नेताका रूपमा चिनिन्छन् । उनलाई लाग्छ, उनी संगठनमा चालीस प्रतिशत कार्यकर्ता पंक्तिको नेतृत्व गर्छन् । यद्यपि, यो बैठकमा उनी पार्टीभित्र कमजोर भूमिकामा देखिए । उनको त्यही कमजोर उपस्थितिले गगनलाई देउवासँग सीधै भिड्ने अवसर दियो ।
कतिपयलाई लाग्छ, बैठक सभापति र महामन्त्रीकेन्द्रित हुँदा त्यसको लाभ शेखरलाई भयो । तर, यथार्थमा यो बैठकले शेखरलाई छायामा पारिदिएको छ । संस्थापन पक्षका कतिपय नेताले देउवाले शेखरको व्यवस्थापन गरेको भन्नु र बैठकमा उनको धीमा स्वर सुनिनुले प्रश्न उठ्छ— कतै उनी पनि कृष्ण सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधिजस्तै देउवासँग समर्पणको बाटोमा त छैनन् ?
शान्ति प्रक्रियाका बेला गिरिजाप्रसाद कोइरालाको समीपमा रहेर काम गरेका शेखर केही वर्षदेखि निरन्तर कार्यकर्तामाझ भिज्दै आएका छन् । उनको छवि शालीन र व्यक्तित्व बौद्धिक छ । सभापतिको प्रत्याशी हुँदा धेरैले उनलाई संगठनमा नयाँ, छोटो राजनीतिक क्रियाशीलता भएको र शासकीय अनुभव नभएको भन्दै कम आँकेका थिए । कोइराला परिवारकै शशांक, सुजाता आदिको पनि उनलाई साथ–सहयोग थिएन । त्यसका बावजुद सम्मानजनक मत ल्याएर देउवालाई चुनौती दिएका शेखर अब समर्पणको बाटोमा अग्रसर देखिन्छन् । पार्टी नेतृत्वमा पुग्न वा शासकीय अनुभव बटुल्न देउवाको साथ–सहयोग अनिवार्य छ भन्ने बुझाइमा उनी पुगेको देखिन्छ ।
देउवासँगको ‘मुलाहिजा’ मा शेखर कति सफल होलान्, त्यो ढिलोचाँडो देखिने नै छ; तर एउटा कुरा चाहिँ प्रस्ट छ, महामन्त्रीद्वय गगन–विश्वलाई किनारा पार्न खोजिएको, महामन्त्रीलाई ‘नोट अफ डिसेन्ट’ लेख्न बाध्य पारिएको यो बैठकपछि कांग्रेस तीव्र ध्रुवीकरणको बाटोमा जानेछ । तत्काललाई चाहिँ निर्विकल्प देखिएका देउवा दंग छन् । दबाबमा गगन नै छन्, जसलाई देउवाको भारदारी सभा भत्काउने चुनौती जो छ । विद्यार्थी राजनीतिदेखि नै प्रतिकूलतालाई आफूअनुकूल बनाउने चातुर्य देखाउँदै आएका गगनले अर्का महामन्त्री विश्वप्रकाश लगायतको सानो समूहको साथ–सहयोगमा देउवाको ‘गुटतन्त्र’ भत्काउन सक्लान् ? @ekantipur.com