२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

अर्घाखाँची : ‘पालिका सम्मेलन’ मा फ्रेस कांग्रेस

अर्घाखाँची  । गत मंसिरमा भएको निर्वाचनमा दुवै प्रदेश सभा र प्रतिनिधी सभामा गुमाएर ‘नुन खाएको कुखुरा’ झैं भएको नेपाली कांग्रेस अर्घाखाँचीका नेता कार्यकर्ता फेरी गाउँ केन्द्रित भएका छन् ।

गठबन्धन बनाएर निर्वाचनमा भाग लिएका आफ्ना उम्मेद्वार प्रदेश र केन्द्रमा नराम्रोसंग पछारिएपछी कांग्रेसलाई सम्हालिन केही समय लाग्यो । नेकपा एमालेका केन्द्रिय सचिव टोपबहादुर रायमाझी संघमा, चेतनारायण आचार्य र रामजी प्रसाद घिमिरे प्रदेशमा विजयी भएपछी कांग्रेस जिल्लामा सेलाएको थियो ।

अहिले कांग्रेस फेरी गाउँमा केन्द्रित हुँदा आम कांग्रेसीजन उत्साहित भएका छन् । अहिले कांग्रेस फ्रेस देखिएको छ । कार्यकर्ताहरुको उपस्थितीले कांग्रेसको जनमत राम्रै रहेको देखिएको छ । संघ र प्रदेशमा पराजित भएपछी निराश भएका कार्यकर्ता जिल्ला तहका नेताहरुको निरन्तर सक्रियताका कारण उर्जावान नै देखिएका छन् ।

गत असार ९ गते एकैदिन ६१ वटै वडामा ‘वडा सम्मेलन’ गरेको कांग्रेसले यही साउन १९ गते जिल्लाका ६ वटै पालिकामा ‘पालिका सम्मेलन’ आयोजना गर्‍याे ।

सबै पालिकामा कांग्रेसले उल्लेख्य कार्यकर्ता उतारेको थियो । सन्धिखर्क नगरपालिकामा २ हजार, भुमिकास्थान नगरपालिकामा ४ सय ५०, शितगंगा नगरपालिकामा ५ सय, पाणिनी गाउँपालिकामा ४ सय, मालारानी गाउँपालिकामा ३ सय ५० र छत्रदेव गाउँपालिकामा ४ सय ५० जती नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

कांग्रेसका सांसदहरु प्रदेश र संघमा नहुँदा आफुहरुले दुख पाएको आम कार्यकर्ताको गुनासो रहेको थियो । जितेका सांसद पनि अहिले क्रुर अपराध गरेको आरोपमा जेलमा रहेको भन्दै उनिहरुले जिल्लाको सर्वत्र बेईज्जत भएको बताए । टोपबहादुर रायमाझी लगायत भ्रष्टाचार गर्ने जो कोहीलाई कारवाही गरेर कांग्रेस सम्मिलित सरकारले जनतालाई न्याय दिनु पर्ने उनिहरुको भनाई छ ।

पालिका सम्मेलनलाई जिल्ला र प्रदेश तहका नेताहरुले सम्बोधन गरेका थिए । छत्रदेव गाउँपालिकामा कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु खनाल र जिल्ला सचिव अच्युत गौतम, सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेसका सभापति केशव श्रेष्ठ र जिल्ला सचिव कृष्णप्रसाद खनाल, पाणिनी गाउँपालिकामा पुर्व पार्टी सभापती कमलप्रसाद भुसाल र सहसचिव मेघराज पाण्डे, मालारानी गाउँपालिकामा कांग्रेस लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी र उपसभापती बाबुराम पौडेल, भुमिकास्थान नगरपालिकामा जिल्ला सभापति केशव श्रेष्ठ र सहसचिव कमल पौडेल, शितगंगा नगरपालिकामा जिल्ला उपसभापती विष्णु भुसालले सम्बोधन गरेका थिए ।

नेपाली कांग्रेस छत्रदेव गाउँपालिकाको सम्मेलनलाई संबोधन गर्दै प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल मुस्कानले लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेस बलियो हुनुपर्ने बताए । नेपाली कांग्रेस बलियो बन्न जनतामुखी र गाउँमुखी बन्नुपर्ने उनको धारणा थियो ।

यता, नेपाली कांग्रेस सन्धिखर्क र भूमिकास्थान नगरपालिकाको सम्मेलनलाई सम्बोधन गर्दै जिल्ला पार्टी सभापति केशव श्रेष्ठले नेपाली कांग्रेस अर्घाखाँचीलाई गुट उपगुट त्यागेर पार्टीलाई एकजुट बनाई एक ढिक्का भएर लाग्नु पर्ने बताए । गाउँका गरिब, दुखी, बेसहारा र विपन्न परिवारको भावना बुझ्न सके मात्र नेपाली कांग्रेस बोलियो र शक्तिशाली हुने उनको भनाई छ ।

उता, पाणिनी गाउँपालिकाको सम्मेलनलाई सम्बोधन गर्दै पुर्व पार्टी सभापती कमलप्रसाद भुसालले पार्टीमा उत्साही युवापंक्ती मुखरित हुने पर्ने बताए । युवाशक्ति नै पार्टीको मेरुदण्ड भएको बताउँदै युवाहरुको पार्टीप्रतिको चासो र चिन्तालाई ब्यवास्ता गर्न नहुने बताए ।

त्यस्तै मालारानी गाउँपालिकाको सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश सदस्य शान्ता भण्डारीले नयाँ गन्तव्य एवं मार्गचित्र सहित इतिहास र भविष्यप्रति कर्तव्य निर्वाह गर्दै बदलिंदो परिवेश अनुसार पार्टी सञ्चालन गरिनु पर्ने बताइन् ।

उता, शितगंगा नगरपालिकाको सम्मेलनलाई संबोधन गर्दै जिल्ला उपसभापति विष्णु भुसालले अब एकपटक विना स्वार्थ पार्टी र समाजका लागि क्रियाशील बन्नुपर्ने बताए । पार्टी अब रुपान्तरणको नयाँ बाटोमा अगाडि बढ्नुपर्ने उनको भनाई छ । शितगंगा नगर कार्यसमितिको आयोजनामा नगर सम्मेलन १२ बुदे कार्य योजना पारित गर्दै र रिक्त रहेको सचिव पदमा सर्वसम्मत रुपमा कमल ढकाललाई निर्वाचित गरी भब्य र सभ्य रुपमा सिंगों शितगंगालाइ रुपान्तरित गरि समृद्ध बनाउने उद्घोसका साथ सम्पन्न भएको छ ।

सम्मेलनमा पालिका सभापतीहरु, वडा सभापतीहरु, पार्टीबाट निर्वाचित जनप्रतिनिधी, महाधिवेशन प्रतिनिधी लगायतका नेताहरुले धारण राखेका थिए । सम्मेलनमा अधिकांश नेताहरुले जनता र कार्यकर्ताको मर्म, भावना अनुसार पार्टी अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए । उहाँहरुले टोल समिति , भातृ तथा शुभेच्छुक संस्थाहरुलाई समेत सक्रिय बनाई संगठनलाई चलायमान बनाउन समेत आग्रह गर्नुभएको छ ।

सन्धिखर्कमा बजार परिक्रमा सहितको र्‍याली गरिएको थियो । टुँडिखेलबाट सुरु भएको बजार पक्रिममा गुन्टेखोला, बसपार्क, हललाइन, मिडियाचोक, शान्ति बगैँचा हुँदै पुनः टुँडिखेल सभागृहमा गई औपचारीक कार्यक्रममा परिणत भएको थियो ।

पार्टीले यहि श्रावण २७ गते प्रदेश सभा ‘क’ र ‘ख’ मा क्षेत्रिय सम्मेलन गर्दैछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (33%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?