२५ वर्षको उमेरमा वडाध्यक्ष लडेका बाबुराम आचार्य………..

२५ वर्षको उमेरमा वडाध्यक्ष लडेका बाबुराम आचार्य………..

स्थानिय निर्वाचन २०७९ मा शितगंगा नगरपालिका वडा नम्बर ११ मा वडाध्यक्षका उम्मेद्वार बने बाबुराम आचार्य । उनि वडाध्यक्षको उम्मेद्वार बन्दा उनको उमेर २५ बर्ष ७ महिना थियो । नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका आचार्य जम्मा ३२ मतले पराजित भए । उनले ६१९ मत प्राप्त गर्दा विजयी उम्मेद्वार नवराज भुसालले ६५१ मत पाएका थिए ।

निर्वाचनमा जित हात नपारे पनि उनले सिख लिने राम्रो अवसर पाए । सानै उमेरमा वडाध्यक्ष लडेका बाबुराम आचार्य अहिले समाजसेवामा तल्लिन छन् । निर्वाचन हारेपछी अधिकांश उम्मेद्वार गुमनाम हुने भएपनि आचार्य निरन्तर जनसेवामा खटिएका छन् ।

वर्तमान समयमा के गरिरहेका छन् बाबुराम आचार्य ? उनिसंगको कुराकानी ।

के गर्दै हुनुहुन्छ आजभोली ?
खासै केही छैन । निर्वाचन हारिहालें, समाजसेवा गर्ने बस्ने छ ।

समाजसेवा मात्र ?
दिन लगभग त्यसैमा बिताएको छु । हातमुख जोर्न सानो एग्रोभेट पसल छ ।

अध्ययन कहाँ सम्म पर्‍याउनु भयो ?
मैले प्लस टु गरेर, भेटेरिनरी पढें । अहिले पेट पाल्न काम लागेको छ । ब्याचलर पनि भर्ना भएँ । अझै पढ्दै पनि छु भन्नु पर्‍यो ।

सानै उमेरमा वडाध्यक्षको टिकट पाउनु भएको रहेछ, कस्तो रह्यो निर्वाचनको अनुभव ?
अनुभव राम्रै रह्यो । पार्टिले टिकट दियो, निर्वाचन लडें, थोरै मत पुगेन । तर, नजिकबाट अनुभव बटुल्ने अवसर पाएँ । निर्वाचनको तितामिठा अनुभव छन् । निर्वाचन जितेपनी जनताको सेवा गर्थे । नजिते पनि निरन्तर जनताको बिचमै छु ।

तँपाई त प्रतिस्पर्धी पनि हुनुभयो । वडामा निर्वाचित जनप्रतिनिधीले कस्तो काम गरेका छन् जस्तो लाग्छ ?
ठिकै छ । धेरै नकारात्मक टिप्पणी त नगरौं । उहाँपनि कुनै दलको प्रतिनिधित्व गरेर निर्वाचन जित्नुभएको हो । कतिपय कुराहरु छन् सुधार गर्नुपर्ने । विकास जनता केन्द्रित हुनुपर्छ, कार्यकर्ता केन्द्रित होईन । निर्वाचित जनप्रतिनिधी सबैको साझा बन्नुपर्छ भन्ने मेरो धारणा हो । बन्नु भएको छ कि छैन उहाँले सोंच्ने कुरा हो । र अर्को कुरा, निर्वाचन एउटा स्वच्छ प्रतिस्पर्धा हो । प्रतिस्पर्धा पश्चात सम्बन्ध मित्रवत् हुनुपर्छ । मसंग प्रतिस्पर्धा गरेको मान्छेलाई पेलेरै जाने हो, खुईलाउने नै हो भन्ने धारणा पनि त्याग्नुपर्छ । अरु कुरा त ठिकै छन् । चल्दै जान्छ, हुँदै जान्छ ।

तँपाई वडाध्यक्ष भएको भए वडामा के चाँही फरक हुन्थ्यो अहिले भन्दा ?
धेरै त्यस्तो कायापलट नै त के हुन्थ्यो र ? तर, वडामा आउने सेवाग्राहीलाई कसरी छिटोछरितो सेवा प्रवाह गर्ने र सुशासनका सवालमा मेरा केही भिन्न सोंचहरु थिए ति लागु गर्थें । वडामा त्यस्तो धेरै केही हुँदैन । जनताको ईच्छा आकांक्षा असिमित छन् । स्रोत साधान थोरै छ । नगरबाट मात्र आशा गरेर जनताको चित्त बुझाउन गाह्रो छ । म निर्वाचित भएको भए प्रदेशदेखी केन्द्रसम्म कांग्रेसको सरकार छ । धाएर, हारगुहार गरेर थप बजेट ल्याउन पहल गर्थें र सजिलो पनि हुन्थ्यो । केही गर्न सकिन्छ कि भनेर अहिले पनि प्रयासरत छु तर, पदविहिन मान्छे बजेट माग्न जाँदा खासै चाँसो चै नहुने रैछ ।

अनि पछिल्लो समय तँपाई माथी केही आरोप लागेका छन् नि ?
हो, केही आरोप लागेका छन् । तर, त्यसमा कुनै सत्यता छैन । कहिले काहीं राम्रो गर्दा गर्दै नराम्रो बन्न पुगिदो रैछ । म जनसेवा गर्ने मान्छे । गाउँघरका काम गर्दा कहिले जस पाईन्छ, कहिले अपजस पनि खेप्न पर्दो रहेछ । सिक्दै छु, बुझ्दै छु बल्ल ।

सामुदायिक बनमा केही आर्थिक चलखेल गरेको आरोप थियो तँपाई माथी, भएको के हो खासमा ?
भएको खासमा केही होईन । एकजना साथीको पैसा मेरो खातामा आएको थियो । मैले धेरै जनाको पैसा यसरी पुर्‍याउँदै आएको छु । गाउँघरमा भएपछी त्यही त हो नि । त्यही मेरो खातामा पैसा राखेको भौचरलाई माथीपट्टी डटपेनले सामुदायिक बनको नाम लेखिदिएर केही भ्रम सिर्जना गर्न खोजिएको हो । मिडियालाई पनि प्रयोग गरियो । देख्दा हो जस्तो पनि लाग्ने । तर, यथार्थ त्यो होईन । मैले मेरो खातामा आएको रकम जस्को हो उसैलाई कागज गरेर दिएको छु । भएको त्यती मात्र हो ।

सामुदायिक बनको रकम तँपाईले व्यक्तीगत खातामा राख्नुभएको हो ?
होईन, भाष्य त्यस्तै निर्माण गरियो । दिने मान्छेले पनि सामुदायिक बनको खातामा नराखेर व्यक्तीगत खातामा किन राख्छ होला र ? मिडियामा आएको भौचर पनि हेर्दा हुन्छ । दुईथरी डटपेनले लेखेका छन् ।

मिडियाले आफै तथ्य बंगाए भन्न खोज्नु भा हो ?
होईन होईन । मैले त्यस्तो भनिन । प्रमाण मिडियासम्म पुर्‍याउनेले चलखेल गरेको हुनुपर्छ । तर, मिडियाले एक पटक मलाई सोधेको भए वा मैले आफै मिडियालाई सम्पर्क गरेको भए यो कम्युनिकेशन ग्याप हुने नै थिएन । मिडियाको दोष होईन । तथ्य बंगाएर दिने व्यक्तीहरु गलत हुन् ।

तँपाई माथी कोही किन यसरी जाईलागेका ? तँपाईले भन्नु भो हामिले पत्याईहाल्नु पर्ने ? हावा न चली पात हल्लेको होला त ?
मैले भन्ने हो । पत्याउने नपत्याउने तँपाईको विषय हो ।

तथ्य प्रमाणले तँपाई नै गलत देखाउँछ त ?
मैले भनिहाँले, हो कि हो कि जस्तो लाग्ने बनाएका छन् । मेरो खातामा आएको पैसा मैले कागज गरेर दिएको छु । भौचरमा दुईथरी डटपेनले लेखेको प्रष्ट देख्न सकिन्छ । र अर्को कुरा बनको खातामा हाल्नु पर्ने पैसा मेरो खातामा किन हाल्न कसैले ?

केही आन्तरिक चलखेल थियो कि ?
चलखेल गर्ने फुर्सद नै छैन मसंग र चलखेल कसरी गर्ने ? समुहका पदाधिकारी छन् । यत्रो उपभोक्ताहरु छन् । जनता छन् । बन कार्यालय छ । विभिन्न निकायहरु छन् । चलखेल गर्न खोजेपनि गर्न सम्भव नै छैन ।

को लाग्यो तँपाईको विरुद्धमा यसरी ?
बन उपभोक्ता समिति आफैमा जटिल विषय हो । यसबाट जस पाउँला भन्ने हुँदो रैनछ । अनेक मान्छेको अनेक चाहाना हुन्छन् । कसैलाई भनेको, खोजेको भएन होला । उपभोक्ता समुहले केही कुरा मानेन होला । त्यसैको रिस पोखेका हुन् कि जस्तो लाग्छ । ठिकै छ, काम गर्ने मान्छेका गल्ती पनि हुन्छन्, कमजोरी पनि हुन्छन् । कहिले आलोचना हुन्छ, कहिलो सत्तोसराप हुन्छ । यस्लाई स्वभाविक लिनुपर्छ ।

अनि मजदुरहरुको पैसा समेत दिनु भएन भन्ने आयो नि ?
पैसा हामिले अपचलन गरेर वा आफैले खाएर नदिएको होईन । त्यसको पनि ठेकदार हुन्छन् । व्यक्ती व्यक्ती बोलाएर हामीले दिंदैनौ । ठेकदारसंग कुरा भईरहेको छ । उहाँ आएपछी निर्णय गरेर दिन्छौं ।

अब के गर्ने सोंचमा हुनुहुन्छ ?
त्यस्तो केही छैन । समाजसेवा गरेको छु । सानोतिनो व्यवसाय गरिरहेको छु । व्यवसाय मार्फत पनि जन सम्पर्कमा छु । गाउँगाउँमा गएर पशु हरुलाई उपचार गरेको छु । गाउँलेहरुलाई पनि सजिलो भएको छ । मलाई पनि दोहोरो फाईदा पुगेको छ । विकास निर्माणका कामहरुमा योगदान दिने प्रयास जारी छ । यसरी नै लागी रहन्छु ।

पत्रकार लक्ष्मण घिमिरेले गरेकाे कुराकानी ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (88%)
  • दुःखी (0%)
  • अचम्मित (13%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *