अर्घाखाँचीका २५ जना कलाकारले गाएको तीज गीत ‘सिक्री घाँटीमा’

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । लोक संगीतमा जमेका अर्घाखाँचीका २५ जना गायक गायिकाले एउटै गीत ‘सिक्री घाँटीमा’ आवाज दिएका छन् । अर्घाखाँचीको मौलिक र पुरानो ‘रेलिमाई’ भन्ने तिज भाकामा २५ जना लोक गायक गायिकाहरुले ‘सिक्री घाँटीमा, भेट हुन आउ मायाँ, रेलिमाई अर्घाखाँचीमा’ गीत निकालेका हुन् ।
अर्घाखाँची जिल्ला संगसंगै यहाँका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न र जिल्लामा गाइने तीज गीतको भाकामा जिल्लाका कलाकारहरु एक भएर गीत गाएको गायिका सुनितामी परियारले बताएकी छिन् । ‘हामी आआफ्नो व्यस्तताले भनौं या कर्मका हिसाबले जिल्ला बाहिर छौं,‘उनले भनिने,‘जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न भुमिका खेलोस् भन्ने हिसाबले गित निकालेका हौं र जिल्लाका जनतालाई मायाँको कोसेली पनि होस् भन्ने नै हो ।’ जिल्लाका कलाकार एकढिक्का छन् भन्ने सन्देश समेत दिएको उनको भनाई छ ।
कलाकार विशाल रायमाझीकाे Bishal Rayamajhi युट्युब च्यानल मार्फत बजारमा आएको गीतमा अर्घाखाँचीमा जन्मिएर लोकगीतमा जमेका २५ जना गायक गायिकाहरुले गीत गाएका छन् । जसमध्ये २३ जना गायिकाहरु मात्र छन् । जिल्लामा परम्परागत रुपमा गाइने भाका र टुक्कालाई समेटेर गीत बनाईएको छ ।
तीन दिन अगाडि युट्युबमा राखिएको गीत ७ लाख २५ हजार भन्दा बढी दर्शकले हेरेका छन् । अत्यधिक लोकप्रिय सुचीमा समावेस भएको गीतमा सम्झना लामिछाने मगर, हरिमाया रायमाझी, जमुना सनम, सुनितामी परियार, रेणुका भट्टराई, मैना मगर, सम्झना रणपाल, बिन्दु बिहानी, विशाल रायमाझी, विश्वास नेपाल लगायत अर्घाखाँचीका २५ जना कलाकारले गीतमा आवाज दिएका छन् । भिडीयोमा पनि गीत गाएका अर्घाखाँचीकै कलाकारहरुको अभिनय रहेको छ ।
सिक्री घाँटीमा’ बोलको उक्त गीतमा विशाल आफैंले शब्द तथा लय बनाएका छन् भने पुरुष स्वर उनको पनि सुन्न सकिन्छ । गितको भिडियोमा विशाल आफै मुख्य कलाकारको रुपमा देखिएका छन् । भिडियोको कोरियोग्राफी नायिका एलिना रायमाझीले गरेकी छिन् । प्रकाश खड्काको छायाँकन रहेको भिडियोको निर्देशन तथा सम्पादन राजकुमार मगरले गरेका छन् ।