भुमिकास्थानको पानडाँडामा बाँदर धपाउँदा आफैंले बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । बाँदरले हैरान बनाएपछी धपाउने क्रममा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ ।
भूमिकास्थान नगरपालिका–७ मा आफैंले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको हो । नुवाकोट पानडाँडाका ४५ वर्षीय पदम केसीको आफ्नै बारीमा बाँदर धपाउन जाने क्रममा बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।
शुक्रवार बिहान ११ बजेको समयमा पदम घरमा राखेको अवैध बन्दुक बोकेर बाँदर धपाउन हिंडेका थिए । उनी बारीमा चिप्लन पुग्दा एकनाले बन्दुक आफै पड्किएको थियो । उनको कोखामा गोली लागेर छातीबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते भएका केसीको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको थियो । अस्पताल ल्याउनासाथ उनलाई चिकित्सकले मृत घोंषणा गरेका थिए ।
भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।