१० असार २०८१, आइतवार
१० असार २०८१, आइतवार

‘पैसा नभएर कोही पनि मर्नु पर्दैन’

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही नेपालीले पैसा नभएका कारणले उपचार गर्न नसकेर मृत्युवरण गर्न नपर्ने बताएका छन्। विश्व अंग प्रत्यारोपण दिवसका अवसरमा लिभर फाउन्डेसन नेपालद्वारा यहाँ आज आयोजित अन्तरक्रियामा उनले भने, ‘पैसा नभएकै कारण उपचार नपाएर कुनै पनि व्यक्ति मर्नु पर्दैन, त्यसको जिम्मा म लिन्छु, राज्यले लिन्छ, हामी निजी वा सरकारी जुनसुकै अस्पतालमा पनि १० प्रतिशत शय्यासहित निःशुल्क गर्ने कुरा अहिले कार्यान्वयन भइरहेको छ।’

सो निःशुल्क व्यवस्था लागु भएको दुई/तीन महिनाको अवधिमा सयौं बिरामीले छुटका साथ उपचार गराइसकेको उनको भनाइ छ। सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिएको बताउँदै उनले सरकारी विद्यालय र सरकारी अस्पताललाई सुधार गरेर लैजानुपर्नेमा जोड दिए।

मन्त्री बस्नेतले अहिले बिहान ८ बजेदेखि वीर अस्पताललगायत सरकारी अस्पतालमा ओपिडी सेवा सुरु भएको बताउँदै अहिले वीर अस्पतालमा सात सय जनरल शड्ढया निःशुल्क गरिएको जानकारी दिए।

उनले भने, ‘देशभरिमा १६ वटा संघीय अस्पताल वा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले शय्या निःशुल्क भएको छ, तीन हजार पाँच सय २३ जनरल शय्या अहिले स्वास्थ्य मन्त्रालयको अनुरोधमा निःशुल्क भएको छ, मधेस र वाग्मती प्रदेशमा पनि जनरल शय्या पूर्ण रूपमा निःशुल्क गरिसकेको छ।’

उनले सीमित स्रोत साधनका बाबजुद पनि धेरै ठाउँका स्वास्थ्य केन्द्रले आफ्नो काममा सुधार गर्दै लगेको बताउँदै मिर्गौला प्रत्यारोपणकै सवालमा सम्भव भएका सबै ठाउँमा ‘राइट म्यान राइट पोस्ट’ को अवधारणा सुरु गरेको जानकारी दिए। ‘स्वास्थ्य क्षेत्र अरूजस्तो भौतिक संरचना बनाएर विकास गरेर हिँड्ने मात्रै क्षेत्र होइन, यो मानवीय संवेदना जोडिएको ठाउँ हो, हाम्रो सानो गल्तीले मानिसको जीवन बर्बाद हुन्छ, त्योसँग आश्रित सबैको जीवन बर्बाद हुन्छ तर राम्रो काम गरियो भने एउटा मानिस बच्न सक्छ, डाक्टर भगवानरूपी पनि हुन सक्छन्,’ उनले भने।

नेपालका अति विशिष्ट र विशिष्ट व्यक्तिको उपचार नेपालै गर्नुपर्ने उद्देश्यअनुसार १७ जना वरिष्ठ चिकित्सकको समूह बनाएर अध्ययन सुरु गरिएको उनको भनाइ छ। पूर्वसभामुख तारानाथ रानाभाटले समग्र स्वास्थ्य क्षेत्रको सुधारका निम्ति सरकारलाई आग्रह गरे। फाउन्डेसनका अध्यक्ष उमेशजंग रायमाझीले कलेजोसँग सम्बन्धित रोगको निम्ति पनि सरकारले छुटको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?