अबका केही दिन पानी कम पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएको शुक्रवारदेखि परेको अविरल वर्षा हिजो साेमवारदेखि केही कम भएको हो ।
आज मङ्गलवार देशका धेरै ठाउँमा घाम लागेको छ । आज बेलुकीपख धेरै ठाउँमा बदली भएर केही ठाउँमा पानी पर्ने भएपछि ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद् रोजन लामिछानेले बताए । अब आउँदो तीन दिनसम्म नै निरन्तर वर्षा तथा मुसल्धारे वर्षाको सम्भावना नरहेको उनले बताए । ठूलो पानी पर्ने सम्भावना कम भए पनि नदी तटीय क्षेत्रमा भने सावधानी अपनाउनुपर्ने मौसमविद् लामिछानेले बताए।
झन्डै चार दिनसम्म निरन्तर परेको वर्षाले नदीहरूमा बहाव बढेको र सामान्य वर्षाले पनि क्षति हुने गरी बहाव बढ्ने सम्भावना रहेकोले तटीय क्षेत्रमा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।
आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह घट्दो र सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सङ्खुवासभा, कास्की, लमजुङ, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा, कञ्चनपुर र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।