नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार मुद्दामा कसैलाई पनि नछोड्ने सरकारको नीति रहेको बताएकी छिन् । प्रेस सेन्टर नेपाल दाङले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले भ्रष्टाचारका मुद्दालाई छिट्टै टुंग्याइने बताएकी हुन् ।
भुटानी शरणार्थी, ललिता निवास र सुन प्रकरणका विषयमा सरकारले अनुसन्धान जारी राखेको जानकारी दिँदै शर्माले दोषीमाथि कारबाही हुने दाबी गरिन् ।
सरकार गठन भएदेखि नै सुशासन र सेवा प्रवाहका विषयमा सरकारले ध्यान दिएको उनले बताइन् । शर्माले मुलुक न्याय र समृद्धिका पक्षमा अगाडि बढेको बताउँदै दोषी जो कोही भए पनि नछुट्ने बताइन् । भ्रष्टाचारका मुद्दा सञ्चारमाध्यमले उठाउँदा यस्ता घटना छानबिन गर्न सरकारलाई सघाउ नै पुगेको उनले बताइन् ।