६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

५१ प्रतिशतमात्रै विद्यार्थी स्नातक पढ्न योग्य

 कक्षा १२ को परीक्षा दिएका कुल विद्यार्थीमध्ये करिब ५१ प्रतिशतमात्रैले स्नातक पढ्न पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको विद्यालय तहको अन्तिम परीक्षाको नतिजाअनुसार ५०.९१ प्रतिशत विद्यार्थी स्नातक तह पढ्न योग्य ठहरिए भने बाँकी ४९ प्रतिशत उच्च शिक्षा पढ्न अस्वीकृत भएका छन् ।

गत वैशाख २६ देखि जेठ ५ सम्म देशभर सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६ सय ३७ जना विद्यार्थी सहभागी थिए । तीमध्ये १ लाख ८९ हजार ७ सय ११ जनालाई उच्च शिक्षामा भर्ना हुने बाटो खुलेको छ । १ लाख ८२ हजार ९ सय २६ जना अर्थात् ४९.०९ प्रतिशत नन्ग्रेडिङ (एनजी) मा परेर तत्काल उच्च शिक्षामा भर्ना हुन रोकिने भएका छन् । तर नन्ग्रेडिङमा परेकामध्ये पनि १ लाख २३ हजार ३ सय विद्यार्थीले भने असोज ६ र ७ गते हुने ग्रेड वृद्धि (पूरक वा मौका) परीक्षामा सहभागी हुन पाउने राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ती विद्यार्थीले न्यूनतम ग्रेड प्राप्त गरे उच्च शिक्षामा भर्ना हुने बाटो उनीहरूलाई यसपालि नै ढिला गरी खुल्नेछ । असोजमा ग्रेड वृद्धि दिन पाउनेमध्ये ७९ हजार जना एउटामात्रै विषयमा एनजीमा परेका छन् ।

लेटर ग्रेडिङ निर्देशिकाअनुसार प्रत्येक विषयको सैद्धान्तिक (लिखित) तर्फ कम्तीमा ३५ प्रतिशत प्राप्तांक प्राप्त गरे मात्र विद्यार्थी स्नातक तहमा भर्ना हुन योग्य मानिन्छन् । ३५ प्रतिशत प्राप्तांक ल्याउन नसकेर दुई विषयसम्म एनजीमा परेका विद्यार्थीले भने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । तीनभन्दा बढी विषयमा नन् एनजीमा सूचीकृत विद्यार्थीले भने अर्को वर्ष सम्बन्धित विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था छ । पुनः अर्को वर्ष ग्रेड वृद्धि परीक्षा दिनुपर्ने गरी उच्च शिक्षामा भर्ना हुन बाटो अवरुद्ध भएका विद्यार्थीको संख्या ५९ हजार ६ सय २६ जना छ । गत वर्ष यस्ता विद्यार्थी ५७ हजार मात्रै थिए । तीमध्ये यसपालि १४ हजारले मात्र ग्रेड वृद्धि परीक्षा दिए । आगामी असोजमा ग्रेड वृद्धि परीक्षामा सहभागी विद्यार्थीले पनि न्यूनतम ३५ प्रतिशत ग्रेड प्राप्त गर्न नसके उनीहरूको पनि स्नातकमा भर्ना हुने बाटो यसपालिलाई बन्द नै रहन्छ ।

गत वर्षभन्दा कक्षा १२ को परीक्षाको नतिजामा सामान्य सुधार भएको तथ्यांकले देखाउँछ । गत वर्ष ४८.१० प्रतिशत विद्यार्थी स्नातकमा भर्ना हुन योग्य भएका थिए । यस पटक ५०.९१ प्रतिशत विद्यार्थी स्नातकमा भर्ना हुन योग्य भएका हुन् । यस आधारमा २.८१ प्रतिशत बिन्दुले नतिजामा सुधार आएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाए । तर, कक्षा १२ को नतिजाको प्रगति ३ दशकदेखि उस्तै देखिन्छ । अहिलेसम्म सबैभन्दा राम्रो भनिएको नतिजा २०६४ सालको हो । उक्त वर्ष ५५ प्रतिशत विद्यार्थी स्नातक भर्ना हुन पाउने गरी सफल भएको तथ्यांकले देखाउँछ । उच्च माध्यमिक शिक्षा परिषद् स्थापना भएयता २०६२ सालमा सबैभन्दा खस्केको नतिजा आएको थियो । त्यतिबेला ३२ प्रतिशत विद्यार्थीमात्रै स्नातकमा भर्ना हुन स्वीकृत भएका थिए । ‘गत वर्षभन्दा प्रतिशतमा सामान्य सुधार देखिए पनि माथिल्लो ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या बढेको छ । प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका परीक्षणमा एकरूपता ल्याउन मार्किङ स्किमको मापदण्ड प्रयोग गरेका छौं । धेरै नै परिवर्तन ल्याउन कक्षाकोठाभित्रको शिक्षण सिकाइमा नै सुधार गर्नुपर्छ,’ अध्यक्ष शर्माले भने ।

गत वर्ष कक्षा १२ को परीक्षा दिने विद्यार्थीको कोभिड महामारीका कारण पठनपाठन बिथोलिएको थियो भने यसपालिका विद्यार्थी नियमित कक्षा सञ्चालनमा सहभागी भएका हुन् ।

काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेले कक्षा १२ सम्म पुगेकामध्ये लगभग ५० प्रतिशत विद्यार्थीलाई प्रत्येक साल पास र फेल (योग्य र अयोग्य) भनेर छुट्याउने प्रणाली नै गलत रहेको टिप्पणी गरे । ‘बल्लबल्ल १२ कक्षा पुर्‍याइन्छ, पुगेकामध्ये आधाआधी विद्यार्थीलाई त्यो भन्दा माथिल्लो तहमा जान अयोग्य भयो भनेर फेल गर्ने प्रणाली छ । यो जे–जे कारणले भए पनि देशका लागि ठूलो घाटा हो । शिक्षा प्रणालीको ठूलो असफलता हो । १२ कक्षामा पुगेकाहरूलाई मात्रै उच्च शिक्षामा प्रवेश गराउन सकियो भने पनि अर्कै ठाउँमा पुगिन्छ,’ उनले । नतिजाको बखत सफल र असफलको मात्रै गणना गरेर बस्दा सुधारमा समेत समस्या देखिएको उनले औंल्याए । ‘कक्षाकोठाको सुधारदेखि जे–जे कुरा हुँदै आएको छ । विद्यालय शिक्षा र उच्च शिक्षाको समन्वय नै हुन सकेको छैन । मुलुकलाई चाहिने जनशक्तिको प्रक्षेपण हुन सकेको छैन,’ उनले भने ।

‘विकास रणनीतिअनुसार जनशक्ति प्रक्षेपण नै हुन सकेन । पास र फेलको मात्रै व्याख्या गरेर बस्दा सुधारमा समस्या परेको छ । राज्यको पनि दिगो नीति देखिँदैन । सरकारको नीतिगत अनिश्चितता छ । नतिजाले पनि ठोस नीति माग्छ,’ वाग्लेले बताए ।

यो वर्षको नतिजाअनुसार ३.६१ देखि ४ जीपीए ल्याउने ६ हजार ९ सय ७६ जना (१.८७ प्रतिशत रहेका छन् । ३.२१ देखि ३.६० ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९ सय ९९ जना (१०.४७ प्रतिशत) छ । गत वर्षको तुलनामा यो २.१७ प्रतिशतले बढी हो । जीपीए २.८१ देखि ३.२० ल्याउने ६९ हजार १ सय ७४ जना रहेका छन् । त्यस्तै २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने ६३ हजार ७७ जना रहेको नतिजामा उल्लेख छ । २.०१ देखि २.४० जीपीए ११ हजार ४ सय ३८ जनाले ल्याएका छन् । सबैभन्दा तल्लो १.६१ देखि २.० जीपीए प्राप्त गर्ने ४७ जना विद्यार्थी रहेका छन् ।

विषयगत रूपमा बोर्डले सार्वजनिक गरेको नतिजा विश्लेषण गर्दा अवस्था गत सालको जस्तै देखिन्छ । सबैभन्दा बढी अंग्रेजी, सामाजिक अध्ययन, नेपाली, लेखा, अर्थशास्त्र, बिजनेस स्टडिजलगायत विषयमा परीक्षार्थी कमजोर रहेको पाइन्छ । अनिवार्य अंग्रेजीमा मात्र १ लाख ९ हजार विद्यार्थी एनजीमा परेका छन् । गत वर्षको यो संख्या १ लाख १ हजार थियो । कक्षा १० को एसईई परीक्षामा सबैभन्दा बढी विद्यार्थी गणितमा एनजीमा पर्दै आएका छन् । कक्षा १२ मा गणित वा सामाजिक अध्ययनमध्ये एक विषय रोजेर अध्ययन गर्न पाइने व्यवस्था छ । त्यसले गर्दा पनि कक्षा १२ मा कमजोरी अंग्रेजीतर्फ देखिएको बोर्डका सदस्यहरूले जनाए । सामाजिकमा ५१ हजार विद्यार्थी एनजीमा परेका छन् । गणित रोजेर पढ्न पाइने विषय भए पनि करिब ८ हजार विद्यार्थीको नतिजा एनजी छ । अनिवार्य नेपालीमा ३८ हजार विद्यार्थी नन्ग्रेडिङमा परेका छन् । लेखा विषयमा ५२ हजार, अर्थशास्त्रमा ३४ हजार, बिजनेस स्टडिजमा २४ हजार विद्यार्थी एनजीमा परेका हुन् ।

सबैभन्दा बढी विद्यार्थी एनजीमा परेका विषयलाई मात्रै लक्षित गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्न सके सुधार हुने रजिस्ट्रार वाग्लेले जनाए । ‘बर्सेनि जुन–जुन विषय अंग्रेजी, गणित र विज्ञानलगायतमा नन्ग्रेड आएको छ । दूर शिक्षा, प्रविधिमैत्री शिक्षाबाट त्यसमा सुधार गर्न राज्यले सोच्नुपर्छ । सामान्य खालका कमजोरीले कमजोर नतिजा देखिएको छ । ती कमजोरी सम्बोधन गर्न हरेक वर्षको नतिजाले उत्साहित गर्नुपर्ने हो तर त्यसो हुन सकेको छैन,’ उनले भने ।

बोर्डले नियमितसहित ग्रेड वृद्धि र आंशिक परीक्षाको समेत नतिजा सार्वजनिक गरेको हो । आंशिकतर्फ करिब ६२ हजार र ग्रेड वृद्धितर्फ १४ हजार परीक्षार्थी थिए । आंशिकतर्फको विद्यार्थी उत्तीर्ण प्रतिशत साढे २९ मात्रै रहेको बोर्डले जनाएको छ । त्यस्तै गत वर्ष तीनभन्दा बढी विषयमा एनजी आएकाहरूको ग्रेड वृद्धितर्फ उत्तीर्ण प्रतिशत ४३ प्रतिशत मात्रै रहेको छ । यी तीनवटै समूहका गरी ५६ जनाको परीक्षा रद्द गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाए । यसपालि दुई विषयसम्म नन्ग्रेडमा परेर असोजमा ग्रेड वृद्धि परीक्षा दिन पाउने विद्यार्थीलाई बोर्डले भदौ २२ गतेभित्र आवेदन दिन सूचित गरेको छ । नतिजामा चित्त नबुझेका विद्यार्थीले १५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?