अर्घाखाँचीका १७३ बालबालिका कुपोषित गरिबी भन्दा बुझाईको कमी र हेलचेक्राँई प्रमुख कारण

अर्घाखाँचीका १७३ बालबालिका कुपोषित गरिबी भन्दा बुझाईको कमी र हेलचेक्राँई प्रमुख कारण

लक्ष्मण घिमिरे ।
अर्घाखाँची  । गरिबीका कारण आहारविहारको कमीले बच्चाहरु कुपोषित हुन्छन् भन्ने आम बुझाई छ । तर, यो पुर्ण सत्य भने होईन । गरिबीका अलावा अन्य कारणले बालबालिका कुपोषणको शिकार हुने गरेका विभिन्न तथ्याङ्कले देखाउँछ ।

गरिबी एउटा कारण भएपनि त्यो भन्दा बढी बुझाईको कमी र हेलचेक्राँई प्रमुख कारण देखिएको छ । गरीबीले भन्दा पनि अज्ञानताका कारण कुपोषण बढेको बताउँछन् छत्रदेव गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धीराम न्यौपाने । उनका अनुसार स्थानिय तहले कुपोषण रोक्न विभिन्न कार्यक्रम बनाएर अभियानकै रुपमा अँगाडी बढाएको छ । बालबालिकाहरुको उचित आहार, खानपिन र स्वास्थ्यका विषयमा गम्भिर भएर अँघीं बढ्दा समेत यसलाई शुन्यमा झार्न सकस भईरहेको उनले बताए । ‘हामीले कुपोषण रोक्न अभियानकै रुपमा कार्यक्रम बनाएका छौं,उनले भने,‘सरकारको एक्लो प्रयासले सम्भव नहुँदो रैछ, अभिभावकहरु पनि उत्तिकै सचेत हुन जरुरी छ ।’

अर्घाखाँचीका सबै स्थानिय तह कुपोषण रोक्न नियमित बालबालिकाको तौल गर्ने, सामान्य, मध्यम र गम्भिर कुपोषणमा विभाजन गरेर हेरचाह गर्ने, उचित सरसल्लाह दिने गर्दै आएका छन् । केही स्थानिय तहले गरिब तथा पिछडिएको क्षेत्रमा पौष्टिक आहार प्रदान समेत गर्दै आएका छन् । तर, अभिभावकले कुपोषणलाई बुझ्न नसक्दा अधिकांश बालबालिका त्यसको शिकार बन्न पुगेका छन् ।

जंङ्कफुडको प्रयोग, ६ महिनासम्म आमाको दुध नखुवाउनु र पौष्टिक आहारको मात्रा नमिलाउँदा बालबालिकामा कुपोषणको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी विजय बरालले बताए । ‘पौष्टिक आहार किन्न नसकेर भन्दा प्रयोग गर्न नजानेर पनि समस्या निम्तिएको पाएका छौं, उनले भने,‘बेवास्ता र हेलचेक्राँई बढी देखिन्छ । व्यस्तताका नाममा बालबालिकालाई ध्यान पुर्‍याई रहेका छैनौं ।’

अर्घाखाँचीका १७३ बालबालिका अहिले कुपोषित छन् । आ.व २०७९/०८० को तथ्याङ्क अनुसार अर्घाखाँचीका ६ स्थानिय तहमा १७३ जना बालबालिकामा कुपोषण भएको पाईएको हो । अन्य कुनै प्रविधी उपलब्ध नभएपनि तौलका आधारमा स्थानिय तहहरुले सामान्य, मध्यम र गम्भिर कुपोषण छुट्टाउने गरेका छन् । आ.व २०७८/०७९ मा ७९ जना कुपोषित बालबालिका भेटिएकामा गएको आर्थिक वर्षमा बढेर १७३ पुगेका छन् ।

आ.व २०७९/०८० मा जिल्लाको सदरमुकाम समेत रहेको सन्धिखर्क नगरपालिकामा ९ जना कुपोषित बच्चाबच्ची फेला परेका छन् । अँघिल्लो आर्थिक वर्षको तुलनामा यसवर्ष कुपोषितको संख्या बढेको पाईएको हो । यस्तै देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिकामा ७४ जना कुपोषित बिरामी छन् । शितगंगामा पनि अँघिल्लो वर्षको तुलनामा यसवर्ष कुपोषित बालबालिकाको संख्या बढेको छ ।

यस्तै गत वर्ष भुमिकास्थान नगरपालिकामा ५२, पाणिनी गाउँपालिकामा १९, छत्रदेव गाउँपालिकामा ४, मालारानी गाउँपालिकामा १५ जना कुपोषित बालालिका फेला परेका छन् । तथ्याङ्कलाई हेर्ने हो भने मालारानी गाउँपालिका बाहेक अन्य पाँच स्थानिय तहमा कुपोषण बढेको छ ।

यसमध्ये ३९ जना गम्भिर प्रकृतीका बिरामी छन् । बालबालिकाको उमेर अनुसार तौल नभएका, रोगले सताईरहने, हड्डी र छाला बाहिरै देखिने, सुन्निने प्रकृतीका कुपोषित बालबालिकालाई गम्भिर प्रकृतीमा राख्ने गरिएको छ ।

कुपोषणको चपेटामा परेका बालबालिका मध्ये अधिकांश मध्यम खालका कुपोषित छन् । कार्बोहाइट्रेड, प्रोटिन, चिल्लो पदार्थ, माइक्रोन्यूटे«न, मिनिरल र पानीको मात्रा नमिल्दा वा अभाव हुँदा बालबालिका कुपोषित हुने गरेका पाणिनी गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामप्रसाद घिमिरेले बताए । यो एक कारणले मात्र नभई अनेक कारणले हुने गरेको उनको भनाई छ । ‘गरिबीका कारण कुपोषण हुन्छ भन्ने भाष्य गलत हो,उनले भने,‘आमा गर्भवती बन्नु धेरै अँघी किशोरावस्थादेखी नै यो प्रक्रिया सुरु भएको हुन्छ ।’

किशोरावस्थामा आवश्यक पोषण नहुँदा समेत त्यसको असर जन्मिने सन्तानसम्म पुग्छ । त्यस्तै गर्भवती तथा सुत्केरी अवस्थामा पौष्टिक आहारको कमी, बच्चा जन्मेपछी उचित स्तनपान, बिस वर्ष अँघी नै बिहे गर्नु, तयारी खानेकुरा (जङ्क फुड), सन्तुलित खाना नखुवाएका कारण बालबालिकामा कुपोषण बढेको सरोकारवाला संस्थाले बताउने गरेका छन् ।

२४ महिनासम्मका कुपोषित बालबालिकाको तथ्याङ्क
स्थानिय तह                 आ.व २०७८/०७९      आ.व २०७९/०८०
सन्धिखर्क न.पा                  ७ जना                       ९ जना
शितगंगा न.पा                    ४० जना                     ७४ जना
भुमिकास्थान न.पा              ३ जना                        ५२ जना
पाणिनी गा.पा                    ५ जना                        १९ जना
मालारानी गा.पा                 २० जना                      १५ जना
छत्रदेव गा.पा                     ४ जना                        ४ जना

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *