समाजवादी मोर्चाले मंगलबार बुटवलमा सन्देश सभा गर्दै

समाजवादी मोर्चाले मंगलबार बुटवलमा सन्देश सभा गर्ने भएको छ । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुटवल आउने भएका छन् ।
मोर्चाको प्रदेश समितिले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री दाहालसहित मोर्चाका शीर्ष नेताहरु एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायतका नेता पनि मंगलबार बुटवल आउने जानकारी दिएको हो ।
मोर्चाले बुटवलमा सन्देश सभा गरेर प्रदेशका सबै स्थानीय तहसम्म छलफल, अन्तरक्रिया र सन्देश सभाहरु गर्ने योजना बनाएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
बुटवलमा हुने मंगलबारको सन्देश सभाको तयारी एवं व्यवस्थापनका लागि नेपाल कम्युनिष्ट पार्टीले जिम्मेवारी पाएको छ । नेकपाका पोलिटब्यूरो सदस्य वसन्त सीले बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा हुने घोषणा सभाको सबै तयारी पुरा भएको बताए । घोषणा सभामा रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाबाट मोर्चामा आबद्ध नेता कार्यकर्ता सहभागी हुनेछन् ।
मोर्चाको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका सचिव एवं प्रदेश इन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष सुदर्शन बराल, एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सदस्य कमल भण्डारी, जसपाका प्रदेश सहइन्चार्ज नवीन सुनार लगायतको उपस्थिति थियो ।
मोर्चा देशको हित र प्रतिगमन विरुद्धको आन्दोलनलाई बलियो बनाउन घोषणा भएको नेताहरुले बताएका थिए ।