कांग्रेस अब सुध्रिएर अघि बढ्छ : महामन्त्री शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस आगामी दिनमा सुध्रिएर अघि बढ्ने बताएका छन् । उनले विगतका पाठलाई सिकाइका रूपमा लिएर अघि बढ्ने दृढता कांग्रेसजनमा हुनुपर्ने बताए ।
सोमबार पाल्पा क्षेत्र नम्बर १ को रामपुरमा प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनमा बोल्दै महामन्त्री शर्माले भने, ‘कांग्रेसले समाजका प्रभुत्व व्यक्तिलाई जित्नेछ, समाजको माया लिएर अघि बढ्ने छ ।’
कांग्रेसले भ्रष्टाचारविरुद्धको अभियान थाल्ने बताउँदै गाउँटोलमा सहयोगी भावना बोकेर सेवाभावमा अघि बढ्ने उनले बताए । आगामी दिनमा कांग्रेस नयाँ भावना, दृष्टिकोण, सोंच लिएर कांग्रेस अघि बढ्ने उनले बताए । ‘अब देशभर कांग्रेस गाउँघरमा पुग्छ,’ उनले भने, ‘देशमा जनतासँग कांग्रेस पुगेर आफ्ना कुरा राख्ने र जनतालाई जागृत गराउनेछ ।’ महामन्त्री शर्माले ‘संघर्ष गरेर आएका कांग्रेसका नेताले अब पनि चेत नखाए कहिले खाने ?’ भन्ने प्रश्न गरे ।
‘एउटा चुनावबाट आत्तिनु हुँदैन,’ उनले भने, ‘विगतमा देखिएका कमजोरीलाई हटाएर अघि बढ्ने योजना छ ।’ विगतमा जे नहुनु थियो भयो तर अब नयाँ सोच लिएर अघि बढ्न उनले सबैलाई आग्रह गरे । कांग्रेसलाई गाउँघरमा देखिनेगरी लैजानपर्ने बताउँदै उनले भने, ‘अब चुनावको चिन्ता लिने होइन, जनताको चिन्ता लिने बेला आएको छ ।’ महामन्त्री शर्माले कांग्रेसले जित्ने मात्र नभई अब समाजलाई चिन्ने र सद्भावको भावना ल्याउन जरुरी रहेको बताए ।
कांग्रेसले दोषीलाई उम्किन नदिने र निर्दोषलाई सजाय हुन हुँदैन भन्ने गरेको बताउँदै उनले भ्रष्ट्राचारका विरुद्धमा कांग्रेस सधैँ अगाडि रहेको उनले बताए । ‘भ्रष्टाचारविरुद्धका कानुन सबै कांग्रेसकै सरकारका पालामा बनेका छन्,’ उनले भने, ‘कांग्रेसका केही नेता जसले कानुन बनाए उनै नेताहरू जेल परेका छन् ।’
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर रानाले अब अन्योललाई चिर्दै कांग्रेसले ‘गाउँ अभियान’ चलाउनुपर्ने सुझाव दिए । उनले संगठनका बीचमा नै पहिला सुशासन कायम गराउनुपर्ने उनले बताए । कार्यक्रममा कांग्रेसका कार्यवाहक जिल्ला सभापति झपेन्द्र गहिरे, उपसभापति ज्ञानबहादुर गाहा, कांग्रेसका प्रदेश सदस्य तथा दक्ष जनशक्ति नीति निर्माण विभागका सयोजक सन्दीप रानालगायतले कांग्रेसले हिजोका गल्ती कमजोरीलाई सच्चाएर जनताको माझमा पुग्नुपर्ने बेला आएको बताए ।