लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीमा सम्बन्ध विच्छेदको तथ्याङ्क हेर्ने हो भने अवस्था विक्राल नै छ । जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरूमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन्।
आ.व. २०७९/०८० मा अदालतमा सम्बन्ध विच्छेदका २ सय ७३ वटा मुद्दा दर्ता भएका छन् । अदालतमा दर्ता हुने मुद्दामध्ये ५० प्रतिशत भन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका हुने गरेको तथ्याङ्कले देखाएको छ ।
यस्तै स्थानिय तहमा रहेका न्यायिक समितिमा पर्ने उजुरीमा समेत पती–पत्नीबिचको झैंझगडा नै प्रमुख मुद्दा रहने गरेको हो । अर्घाखाँचीका छ वटा स्थानिय तहमा गत आ.व. २०७९/०८० मा ७१ वटा उजुरी दर्ता भए । जसमध्ये अधिकांश मुद्दा दम्पतीका झैंझगडा, कलह, शंका सम्बन्धी रहेका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय तहमा गएको दुई वर्षमा १४१ वटा मुद्दा दर्ता भएका छन् ।
जिल्लाको मालारानी गाउँपालिकाको न्यायिक समितिमा गएको दुई आर्थिक वर्षमा २३ ओटा उजुरी परे । आ.व. २०७८/०७९ मा ८ वटा तथा आ.व. २०७९/०८० मा १५ ओटा उजुरी परेका छन् । ति मध्ये सबैभन्दा धेरै उजुरी दम्पतीका समस्या सम्बन्धी नै रहेको कार्यालयका सुचना अधिकारी भविश्वर खनालले जानकारी दिए । ‘अधिकांश उजुरी श्रीमान श्रीमतीबिचका झगडा सम्बन्धी नै हुन्छन,उनले भने,‘यहाँ मिल्ने मुद्दा मिलाउँछौ, नमिल्ने मुद्दा थप प्रक्रियाका लागी सम्बन्धीत निकायमा पठाउँछौं ।’
न्यायिक समितिमा सबैभन्दा बढी उजुरी शितगंगा नगरपालिकामा परेका छन् । गएको दुई आर्थिक वर्षमा शितगंगाको न्यायिक समितिमा ६६ ओटा उजुरी परेका छन् । आ.व. २०७८/०७९ मा ३६ वटा तथा आ.व. २०७९/०८० मा ३० ओटा उजुरी परेका छन् । त्यहाँको समस्या पनि उस्तै छ । पती–पत्नीबिचको झगडा नै अधिकांश उजुरीका विषय रहेको न्यायिक समितीका संयोजक तथा नगर उपप्रमुख गिता भाट क्षेत्रीले बताईन् ।
यस्तै सन्धिखर्क नगरपालिकामा आ.व. २०७८/०७९ मा ६ वटा तथा आ.व. २०७९/०८० मा १२ ओटा उजुरी परेका छन् । भुमिकास्थान नगरपालिकामा आ.व. २०७८/०७९ मा १ वटा तथा आ.व. २०७९/०८० मा ४ ओटा उजुरी परेका छन् । यि दुवै नगरपालिकाको तथ्याङ्कलाई आधार मान्ने हो भनेपनि दम्पतीका आन्तरिक कलह न्यायिक समितिमा उजुरीका रुपमा देखिन्छन् ।
यता पाणिनी गाउँपालिकाको न्यायिक समितिमा आ.व. २०७८/०७९ मा १४ वटा तथा आ.व. २०७९/०८० मा ६ ओटा उजुरी परेका छन् । यस्तै छत्रदेव गाउँपालिकामा आ.व. २०७८/०७९ मा ५ वटा तथा आ.व. २०७९/०८० मा ४ ओटा उजुरी परेका छन् ।
पालिकाको न्यायिक समितिमा आउने अधिकांश उजुरी श्रीमान श्रीमतीबिचको खटपट र दोस्रोमा गाली बेईजती रहेको छत्रदेव गाउँपालिकाका सुचना अधिकारी बुद्धीराम न्यौपानेले बताए । उनका अनुसार परिपक्क उमेर नभई बिहे गर्नु, वैदेशिक रोजगारीमा गएपछी अविश्वास हुनु, सामाजिक संजालको बढ्दो प्रयोग, बेरोजगारी, नियमित मदिरा सेवन जस्ता कारणले सम्बन्धमा खटपट आउँछ । जसले गर्दा सम्बन्ध विच्छेदसम्म हुने गर्दछ ।
मालारानी गाउँपालिकाका न्यायिक समिति संयोजक तथा पालिका उपप्रमुख दिपा पोख्रेलले सामान्य विषयमा छलफल गरेर टुङ्गाउने गरेको बताईन् । जटिल र कानुनको परिधी भन्दा बाहिरका उजुरी अदालत पठाउने गरेको उनको भनाई छ । ‘दम्पतीबीचका झैंझगडा गोप्य रुपमै छलफल गरेर निरुपण गर्ने गरेका छौं,उनले भनिन्,‘खानेपानी, जग्गा जस्ता मुद्दा बहुपक्षिय सरोकारवाला बसेर सल्टाउने प्रयास गर्छौं ।’
स्थानिय तहमा परेका उजुरी मध्ये अधिकांश मुद्दा मिलापत्र भएका छन् । किनारा लाग्न बाँकी र उजुरी पछी सम्पर्कमा नआएका केही थान उजुरी बाँकी रहेको देखिन्छ ।
स्थानिय तहमा उपमेयर/उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति रहेको हुन्छ । गाँउघरमा हुने विवाद न्यायिक समितिमा छलफल गरि टुङ्गाउने प्रयास गरिन्छ । न्यायिक समितिमा मेलमिलाप हुन नसकेका मुद्धाहरु अदालत सम्म पुग्ने गर्छन ।