२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

विदेशिने लहर कहिलेसम्म?

छिमेकीले अन्तरिक्षमा यान पठाउँछ, मेरो देशले खाडीमा जवान पठाउँछ

मेरो देशले अरू केही पठाउन नसकेपनि घरको याद हरेक साँझ-बिहान पठाउँछ

गणेश गौतमको यो गजल पछिल्ला दिनहरूमा धेरै स्मरणमा रह्यो।

केहीदिनअघि चार जना आफन्त एकैदिन वैदेशिक रोजागरीका लागि उडे। यसो घोत्लिएर सूची तयार गर्दा करिव ५० घर रहेको मेरो गाउँबाट मात्रै २८ भन्दा बढी युवा रोजगारीका लागि विदेशिइसकेछन्। आफन्तलाई वर्षौँका लागि बिदाइ गर्दैगर्दा नरमाइलो अनुभूति भयो। सोचेँ–विस्तारै गाउँ रित्तिँदैछ। भविष्यमा त गाउँमा बालबालिका र वृद्धहरू मात्रै पो हुने हुन् कि? चिन्ता उत्तिकै बढेको छ। विदेशिने क्रम बढेपछि नेपालीहरूको संस्कार, चाडपर्वमा देखिने रौनकहरू पनि क्रमशः घट्दै जानेछन्। छोराछोरीलाई बिदाइ गर्दैगर्दा आमाहरू रुँदै भन्दै थिए–अब त घरै रित्तो र अँध्यारो भयो।

विदेशिनेहरू रमाइलो र घुमफिरका लागि नभई रोजगारीका लागि गएका हुन्। कडा शारीरिक परिश्रम गर्न गएका हुन्। केही कमाइ गरेर ऋण तिर्न र परिवारको भविष्यको चिन्ताले सताएर गएका हुन्। विदेशिनेहरूको पनि आफ्ना व्यक्तिगत सपनाहरूत पक्कै होलान् तर त्यो भन्दा धेरै आफ्नो परिवार र सन्ततिको भविष्यको चिन्ताले सताएर गएका हुन्।

पछिल्लो समय रहरले भन्दा बाध्यताले विदेशिने धेरै छन्। केही गर्छुभन्दा पनि अवसर नपाएर विदेशीने धेरै छन्। केही वर्षअघिसम्म गाउँबाट एक दुई जना विदेश गए भन्दा पनि असाध्यै ठूलो बहसको विषय हुन्थ्यो। अहो ! कसरी गएको होला? कहिले आउला? कति कमाउला? तर आजकल गाउँघर र नजिकका आफन्तहरू विदेशिने सङ्ख्या सयौँ पुग्न लागिसक्यो। बढ्दो छ। आजकाल जमाना उल्टो भएको छ। कोही कसैको घरबाट कोही विदेश गएको छैनन् भने फलानोको घरको त कोही विदेश किन गएनन्? नेपालमै पनि भविष्य देखेरै बसेका होलान् कि? जान नसकेर होला? भनेर अचम्म मान्ने हुन थालेछ। केही सपना, केही महŒवाकांक्षा, केही अत्यावश्यक आवश्यकता र विदेशिनेको लहरले बाँकी रहेकाहरूलाई पनि मानसिक दबाब बढिरहेको छ। त्यसैले त लहर बढ्दो छ। यो लहरको पछाडि धेरै दुःख, पीडा, वेदना र सपना छन्। भविष्यप्रतिको चिन्ता छ।

पहिले विद्यार्थीहरूलाई भविष्यमा के बन्छौ भनेर सोध्दा ‘सरकारी जागिर’, ‘शिक्षक’, ‘डाक्टर’, ‘इन्जिनियर’, ‘नर्स’, ‘वकिल’ लगायत केही पेसा रोजाइमा पर्ने गर्थे। आजकल सहजै उत्तर आउँछ– ‘विदेश जाने’। जमाना फेरियो। आवश्यकता बढ्यो। अवसरको कमी भयो। भविष्यको चिन्ताले सताउन थाल्यो। त्यसैले त पढेका र ऋण गरेर भए पनि केही पैसा जोहो गर्नसक्नेहरू युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान जस्ता विकसित देशहरू र पढाइ कमी र खर्च जोहो गर्न नसक्नेहरू खाडी देशतर्फको लर्काे ह्वात्तै बढेको देखिन्छ।

वैदेशिक रोजगारीमा गएकाहरूले पठाएको रेमिटेन्सबाट चल्दै गरेको अर्थतन्त्र र मुलुक हाँक्नेहरूको मन यो लहरले कत्तिको पोल्छ होला? थाहा भएन तर दिनहुँ युवा, युवासँगै विदेशिने पैसा, श्रमशक्तिले हाम्रो जस्तो विकासको पथमा लम्किँदै गरेको देशलाई पक्कै घाटा लाग्नेछ। यो विषयमा राज्यका नीति निर्माता, राजनीतिक नेतृत्व, सचेत र स्वतन्त्र नागरिकहरू र कर्मचारीतन्त्रले बेलैमा सोच्न जरुरी छ किनकि बढ्दो युवा पलायनलाई मुलुकका लागि राम्रो मान्न सकिँदैन।

यसरी दिनहुँ हजारौँ युवाहरू विदेश पलायन भइरहँदा यसले भविष्यमा विभिन्न क्षेत्रमा पार्नसक्ने असरहरूबारे पनि समयमै सोच्न जरुरी छ। एकातिर पढेर पनि अवसर पाइने अवस्था छैन। अर्कोतिर हाम्रो शिक्षा एउटा घोक्ने विद्या र परीक्षा दिएर पास गर्ने र सर्टिफिकेट लिने जस्तो मात्रै भइरहेको छ। हात हातमा डिग्रीका सर्टिफिकेट हुनेहरू पनि बेरोजगारी सूचीमा छन्। लाखौँ खर्चेर प्राविधिक शिक्षा पढेकाहरू पनि पढाइअनुसारको रोजगारी नपाएर काठमाडौँमा पठाओ चलाएर जीविका चलाइरहेका धेरै भेटेका छौँ। यो दुःखद पक्ष हो।

देशमा कुनै उद्योग, कलकारखाना चलाउन राज्यले पछिल्लो समयमा कुनै पनि पहल लिएको देखिँदैन। भएकाहरू पनि धमाधम बन्द हँुदैछन्। यस्तो केले भइरहेको छ? गम्भीर समीक्षा जरुरी छ। हामीजस्ता भुँइमान्छेलाई त यसरी विदेशिनेको लहर देख्दा कहाली लाग्छ। देशप्रतिको चिन्ताले सताउँछ। राज्य हाँक्ने जिम्मेवारी लिएकाहरूलाई कुनै चिन्ता छ कि छैन होला? कसरी निदाउँछन् होला?

युवा र दक्ष जनशक्ति देशमा नहुँदा देश के-कसरी चल्ला? परिवार र समाज कस्तो बन्ला? बुढेसकालको सहाराकारूपमा सन्तानलाई हेर्दै आएका वृद्ध आमा-बाबुको मन कस्तो होला? गाउँघर, छरछिमेक र आफन्तमा दुःख, सुख, राम्रा, नराम्रा घटना हुँदै गर्दा कसरी व्यवस्थापन होला? कला, संस्कृति, चाडपर्व, रितिथितिको धनी हाम्रो देशको भविष्य कस्तो होला? र, हामीले गर्व गर्ने गरेका ती सबैकुरा कस्ले धानिदेला? विभिन्न विकसित मुलुकले ठूलाठूला आविष्कार र विकास गर्दैगर्दा बालबालिका र वृद्धहरूको मात्रै सहभागितामा के-कस्तो आविष्कार विकास होलान्?

एउटा तथ्याङ्क भन्छ– अघिल्लो वर्ष नेपालबाट पाँच लाख युवा विदेशिए। अर्को तथ्याङ्क भन्छ– ४० लाख नेपाली युवा विदेशमा छन्। जोसँग श्रम गर्ने सिप र क्षमता छ, जोसँग योग्यता छ, प्राविधिक ज्ञान छ, उनीहरू अर्काको देशमा पसिना बगाइरहेका छन्। सबैभन्दा ठूलो चिन्ता के छ भने अहिले विभिन्न मुलुकमा अध्ययन वा कामका लागि भनेर विदेशिनेमध्ये झन्डै ८० प्रतिशत युवाको उद्देश्य स्वदेश फर्कनु नभई विकसित र राम्रा मुलुकमा स्थायीरूपमा बस्ने, परिवारलाई समेत उतै लैजाने भन्ने छ।

तत्काल केही जादू गरेर विदेश जाने लहर रोक्न त पक्कै सकिँदैन तर भावी पुस्तालाई देशभित्रै अवसर दिलाउन अब पहल थाल्नुपर्छ। विदेशिएकाहरूलाई स्वदेश फर्काएर कसरी देशमै अवसर दिलाउने भन्ने विषयमा सोच्नैपर्छ। विदेशिनेहरू फगत कमाइका लागि मात्र लाइन लागेर गएका होइनन्, देशको बिग्रदो राजनीतिक अवस्था, अवसरको कमी, विभिन्न द्वन्द्वले गर्दा दिक्क भएर गएका हुन्। स्थिर सरकार, उद्योगधन्दाको विकास, सिप, क्षमता र योग्यताअनुसारको काम र रोजगारी भइदिने हो भने पक्कै यो लहर रोक्न सकिन्छ। यी विषयमा राज्य सञ्चालनको ठेक्का लिनेहरूले सोच्नु पर्दैन?

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?