कर्मचारी युनियन स्थापना दिवस : अर्घाखाँची अस्पतालमा कुर्सीदेखी क्यान्सर पिडितलाई सहयोग

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । स्थापना दिवसको अवसरमा नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले विभिन्न कार्यक्रम गरी मनाएको छ ।
दिवसका अवसरमा युनियनले जिल्ला अस्पतालमा सेवाग्राहीहरुलाई सुविधा होस् भन्ने उद्देश्य सहित २ थान भिजिटर कुर्सी हस्तान्तरण गरेको छ । यस्तै युनियनले जिल्ला समन्वय समिति अर्घाखाँचीमा कार्यरत मधुकला श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ । श्रेष्ठ हाल क्यान्सर रोगले पिडित छिन् ।
एक कार्यक्रमका बिच अर्घाखाँची जिल्ला अस्पतालबाट अनिवार्य अवकाश हुने चेतनारायण भट्टराईलाई सम्मान समेत गरिएको छ । दिवसका अवसरमा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्यालले जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला उपसभापती बिष्णु भुसाल, सचिव कृष्ण खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, नेपाल प्रेस युनियनका अध्यक्ष लक्ष्मण घिमिरे, काेषाध्यक्ष सागर महत, सिबिएका अध्यक्ष कृष्ण वर्मा, विभिन्न संचार गृहका कार्यरत संचारकर्मी, कर्मचारी युनियनमा आबद्ध सम्पुर्ण पदाधिकारी, सदस्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा काँग्रेस लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी, आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण वर्मा, पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, अस्पताल प्रमुख जगन्नाथ तिवारी लगायतले मन्तव्य राख्दै निजामती कर्मचारी युनियन अर्घाखाँची शाखाले विभिन्न समयमा रचनात्मक तथा सृजनात्मक कार्य गर्ने गरेको भन्दै प्रशंसा गरेका थिए । मानव जिवनमा सहयोगनै महत्वपुर्ण कुरा रहेको भन्दै वक्ताहरुले यस्ता किसिमका कार्यले समाजमा सकारात्मक संदेश प्रवाह हुने भनाई राखेका थिए ।
जिल्ला अस्पताल अर्घाखाँचीमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सदस्य शान्ता भण्डारीको प्रमुख आतिथ्यता, अस्पताल प्रमुख जगन्नाथ तिवारीको विशिष्ट आतिथ्यता, युनियन अध्यक्ष माधव अर्यालको अध्यक्षता र सचिव अर्जुन रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।