प्रधानमन्त्री पुष्पकमल दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक पारित गर्न सहयोग खोजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘सहयोग गर्नुपर्ने’ कारण मागेका छन् । शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न एमाले तयार रहेको तर सरकार निरन्तर एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागिरहेको ओलीको आरोप छ । उनले सहयोग एकपक्षीय नहुने पनि दाहाललाई स्पष्ट पारेका छन् ।
ओलीसँग गत साता भएको भेटमा दाहालले टीआरसी विधेयकमा समझदारी जुटाउने प्रयास गरेका थिए । तर, ओलीले निःसर्त सहयोग गर्न नसकिने भन्दै त्यसका लागि सरकारका तर्फबाट प्रस्ताव ल्याउन आग्रह गरेका थिए । दुई नेताबीच सवालजवाफ भए पनि टीआरसी विधेयक अघि बढाउने विषयमा सहमति भएन । दाहालले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याए सहकार्यको ढोका खुल्ने बताएको स्रोतको भनाइ छ । ‘प्रधानमन्त्री आफ्नै पालामा टीआरसी विधेयक टुंगियोस् भन्ने पक्षमा हुनुहुन्छ, त्यसैले एमालेको सहयोग लिन खोज्नुभएको छ, यसमा सहमति भए आगामी दिनमा सहकार्य गर्न सकिने संकेत ओलीलाई दिनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो ।
एमाले टीआरसीको तरबार दाहालको टाउकोमाथि झुन्डिइरहोस् भन्ने चाहन्छ । टीआरसी विधेयकलाई एमालेले दाहाल सरकारसँग ‘बार्गेनिङ’ औजार बनाउन खोजेको छ ।
कांग्रेसको शेखर कोइराला पक्षले सरकारको चर्को आलोचना गरिरहेका बेला उक्त विधेयक अघि बढाउन भेटवार्ता सुरु भएको हो । आफ्नै कार्यकालमा विधेयक टुंगोमा पुर्याउन दाहालले ओलीको सहयोग मागेका हुन् । तर ओलीले एमालेमाथि प्रहार गरेर समर्थन गर्न नसकिने जवाफ दाहाललाई दिएका छन् ।
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएका बेला शान्तिप्रक्रिया टुंगोमा पुर्याउन तयार रहँदा द्वन्द्वरत दुवै नेता (दाहाल र शेरबहादुर देउवा) ले बेवास्ता गर्नुको कारण खोजेका छन् । एमाले उपमहासचिव विष्णु रिमालले एमाले जहिले पनि टीआरसी विधेयक टुंगोमा पुर्याउन तयार रहेको तर दाहाल–देउवाले नै ढिला गरेको बताए । ‘अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला जतिसक्दो छिटो सकौं भन्नुभएको थियो, द्वन्द्वरत दुवै पक्ष देउवा र दाहालले चासो दिनुभएन,’ उनले भने, ‘हाल अमेरिका जानुअघि टीआरसीमा सहमति गरौं भनेर मौसमी कुरा गरेर हुन्छ र ? उहाँ (दाहाल) भारत जानुअघि नागरिक विधेयक पनि हताहतार पारित गरेको होइन र ?’
उनले टीआरसीसम्बन्धी कानुनलाई विस्तृत शान्तिसम्झौता, अन्तर्राष्ट्रिय रूपमा मान्य हुनेगरी टुंगोमा पुर्याउन एमाले तयार रहेको बताए । ‘एमाले नेपाली नेताहरूलाई अन्तर्राष्ट्रिय अदालतमा लगेर झुन्ड्याउनुपर्छ भन्ने पक्षमा छैन, नेपाली कानुनअनुसारै सत्य निरुपण हुनुपर्छ,’ उनले भने, ‘युद्धमा द्वन्द्वरत पक्ष आफैं सरकारमा छन् । एमालेका कारण टीआरसी रोकियो भनेर हुन्छ ?’
मंसिरको आमनिर्वाचनपछि दाहालले प्रधानमन्त्री पदलाई केन्द्रमा राखेर एमाले र कांग्रेससँग पालैपालो गठबन्धन गरेका छन् । देउवाले प्रधानमन्त्री बनाउन तयार नभएपछि एमालेको समर्थनमा प्रधानमन्त्री बने । राष्ट्रपति निर्वाचनअघि दुई महिनामै फेरि कांग्रेसतिर पुगे । यसरी आफूलाई केन्द्रमा राखेर दाहाल ‘लेफ्ट–राइट’ गर्नसक्ने नेता हुन् । माओवादीका एक पदाधिकारीका अनुसार कांग्रेसमा शेखर कोइराला पक्षले सरकारको आलोचना गर्न थालेपछि दाहालले रणनीतिक रूपमा ओलीसँग सम्बन्ध बढाइरहेका छन् । उनले एमालेलाई निशाना बनाएर सरकारका कामकारवाही अघि बढाउने पक्षमा नरहेको ओलीसँग बताएका छन् । उनका अनुसार माओवादी उपमहासचिवद्वय जनार्दन शर्मा, वर्षमान पुन तथा एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायत नेताहरू वामपन्थी एकता हुनुपर्ने भन्दै अनौपचारिक संवादमा छन् ।
माओवादी सचिव गणेश शाहले दाहाल र ओलीबीच सहकार्यको साझा आधार तयार भइनसकेको बताए । अध्यक्ष दाहाल राजनीतिकको ‘कुशल’ खेलाडी भएकाले देउवा र ओलीसँग खेल खेलिरहेको बताए । ‘प्रचण्डजी र ओलीजीबीच सहकार्यका लागि साझा भूमि तयार भइसकेको छैन,’ उनले भने, ‘दुई नेताबीच टीआरसी विधेयकमा सहमति भयो भने आगामी दिनमा सहकार्यको ढोका खुल्न सक्छ ।’
गठबन्धन (दाहाल, देउवा, माधवकुमार नेपाल, उपेन्द्र यादव) मा कुनै समस्या नभएकाले दाहाल ढुक्क छन् तर अबको करिब डेढ वर्षपछि पूर्वसहमतिअनुसार देउवालाई सहजै सत्ता हस्तान्तरण हुन्छ कि हुँदैन भन्नेमा आशंका रहेको कांग्रेस नेताहरूको बुझाइ छ । गत साता समाजवादी मोर्चाको सन्देश–सभा पोखरामा दाहालले आफू पाँच वर्ष प्रधानमन्त्री हुने सम्भावना भएको बताएर देउवालाई झस्काएका छन् । एमालेले पनि ओली सरकारका बेला भएका निर्णय देखाएर नतर्साउन दाहाललाई चेतावनी दिँदै आएको छ । उपमहासचिव विष्णु रिमालले दाहालको ‘दायाँ–बायाँ’ ले एमालेलाई केही असर नगर्ने बताए । ‘प्रचण्डजी लेफ्ट–राइट कवाज खेल्न सक्ने नेता हो, त्यसले एमालेलाई असर गर्दैन,’ उनले भने, ‘यति, ओम्नी, वाइडबडीका फाइल खोले हुन्छ । प्रधानमन्त्रीले फाइल खोल्छु भनेर त्रास नदेखाए हुन्छ ।’
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पाखरेलले २०७४ मा राजनीतिक सिद्धान्तका आधारमा ओली र दाहाल एक नभएको उल्लेख गर्दै सत्तास्वार्थका लागि मिल्ने गरेको बताए । हाल दुवै नेता एकले अर्कोलाई सार्वजनिक रूपमा खुइल्याउन लागेको देखिन्छ तर मिल्न सक्ने ठाउँ राखेर भित्रभित्रै संवादमा पनि छन् । ‘सत्ता र शक्ति बाँडफाँट गर्न २०७४ पछि मिलेका थिए । सत्ता स्वार्थ नमिलेपछि अलग भए,’ उनले थपे, ‘पार्टी एकताका लागि लामो राजनीतिक, सैद्धान्तिक, वैचारिक छलफल बहस गरेर मिलेको भए यति छिट्टै फुट्ने थिएनन् ।’