६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

सापुले आँखामा जटिल समस्या

सेतो पुतली तपाईंको वरपर घुम्दैछ भने यसको संक्रमणबाट बच्नुहोस् हैै ! यसको रौं आँखाभित्र पसेमा सापु रोगको संक्रमण हुन सक्छ। सापुको समयमै उपचार नभएमा आँखाको दृष्टि गुम्न पनि सक्छ। एक महिनाको अवधिमा तिलगंगा आँखा अस्पतालमा उपचारमा पुगेका ३० प्रतिशत बिरामीको आँखामा सापु संक्रमणले जटिल समस्या देखिएको उपचारमा संलग्न अल्थामोलोजिष्ट डा. स्मिता श्रेष्ठले जानकारी दिइन्। जटिल समस्या भएकाहरूको उपचार भइरहेको छ। उनीहरूमध्ये कतिपयको आँखाको ज्योति गुम्ने सम्भावना रहेको डा. श्रेष्ठले बताइन्। ‘सापुले दृष्टि गुमेको असर थाहा पाउन करिव एक महिनाको अवधि लाग्छ,’ उनले भनिन्।

चिकित्सकका अनुसार पखेटामा कालो धर्का भएको सेतो पुतलीको रौँ आँखामा परेमा सापु रोेग लाग्छ। सेतो पुतलीको अति सानो रौंमा किटाणु हुन्छ। यो किटाणु आँखामा पसेपछि सापु रोगको संक्रमण हुन्छ। सामान्यतया भदौदेखि कात्तिकसम्म यो पुतली देखिने र यो पुतली बारीमा काम गर्ने क्रममा बारीनजिक घर भएमा हातले छोइएमा र त्यही हातले आँखा छोएमा पुतलीको रौं आँखाभित्र पस्छ। रौंसँगै पसेको किटाणुले सापुको संक्रमण गर्छ। यसको समयमै उपचार नभएमा आँखाको दृष्टि गुम्ने चिकित्सक बताउँछन्। यो वर्ष जटिल समस्या भएकामध्येमा ३० प्रतिशतको आँखामा जटिल समस्या देखिएको छ। तीमध्येमा केही संंख्यामा आँखाको ज्योति गुम्ने सम्भावना हुन्छ। कतिपय संक्रमण बिरामीको प्रतिरक्षा क्षमताको आधारमा ढिलो र छिटो हुने चिकित्सक बताउँछन्।

नेपाल आँखा अस्पतालमा भदौको दोस्रो सातादेखि हालसम्म आठजना सापु संक्रमित आइसकेको अस्पतालका निर्देशक कमलबहादुर खड्काले जानकारी दिए। संक्रमितहरू काठमाडौं उपत्यकाभित्रवाट आएका छन्। बिपी कोइराला नेत्र अध्ययन केन्द्र महाराजगन्जका अनुसार एक महिनायता उपत्यकाभित्र र उपत्यका बाहिरको गरी सातजना पुगेका छन्। पुगेकामध्येमा उपत्यकाबाहिरबाट आएको बालकमा ढिला पुगेको कारण जटिल समस्या देखिएको छ।

जटिल समस्याको तुरुन्तै शल्यक्रिया गरेपछि उनमा सुधार आएको उपचारमा संलग्न आँखा रोग विशेषज्ञ डा. रञ्जु सिटौलाले बताइन्। उपचारमा आउनेहरू धेरै काठमाडांैभित्र बुढानीलकण्ठ, स्वयम्भू, वालुवाटार, चुनदेवीबाट पुगेका छन्। धेरैै संख्यामा उपत्यकानजिकका जिल्ला र उपत्यकाभित्रैबाट सापु संक्रमित आएको तिलगंगा आँखा प्रतिष्ठानले जानकारी दिएको छ।

आँखामा जटिल समस्या आउनेहरू केही दुर्गमका र केही नजिक भएर पनि आँखा पाक्ने रोगको आशंकामा परेका हुन्। तीमध्येमा कतिपयले आँखा पाक्ने रोगको औषधी राखेर निको नभएपछि मात्र अस्पताल पुगेको पाइएको छ। ‘आँखा पोकेको औषधी राखेर निको नभएपछि आउने धेरै छन्,’ डा. श्रेष्ठले भनिन्।

आँखामा सापु भएपछि सुरुमा आँखा रातो हुने, उज्यालोमा हेर्न गारो हुने जस्ता लक्षण देखिन्छ। समयमै उपचार नभएमा किटाणुको संक्रमणले पिप भरिएर आँखा सेतो र पहेंलो देखिन्छ। सापु रोगमा आँखा चिलाउने र आँखावाट चिप्रा भने आउँदैन। यो आधारमा पनि सापु भएको अनुमान गर्न सकिने चिकित्सक बताउँछन्।

यी र यस्ता लक्षण देखिएमा सक्दो छिटो अर्थात आधादेखि दुइ घण्टाभित्र पुगेमा थप असरवाट बच्न सकिने डा. श्रेष्ठको सुझाव छ। सापु संक्रमण फैलिएसंगै सापु रोगको संक्रमण गराउने पुतली र त्यसको झुसमा हुने कीटाणुको बारेमा अध्ययन गरिरहेको विपी कोइराला नेत्रअध्ययन केन्द्रकी डा. सिटौलाले बताइन्। उनको अनुसार यो वर्ष हालसम्म देशभरिमा ६० जनामा सापुको संक्रमण भएको छ।

गत वर्ष एक सय ५० जनामा सापुको संक्रमण भएकोमा ७० प्रतिशत बालबालिका थिए भने ३० प्रतिशत पाका मानिस थिए। यो हिसावले पछिल्लो समय ठूला मानिसहरूमा पनि सापु संक्रमण भएको अध्ययनले देखाएको छ। गत वर्ष सापुको संक्रमण भएकामध्ये ३० प्रतिशतको दृष्टि गुमेको थियो।

सापु फैलिएसँगै राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत जनचेतना जगाउने काम भइरहेको डा. सिटौलाले बताइन्। उनका अनुसार सापुको कुनै पनि लक्षण देखिएमा वा उज्यालोमा आँखा हेर्न कठिन भएमा र आँखा रातो भएमा तुरुन्त नजिकको स्वास्थ्य केन्द्रमा पुगेमा आँखा रोग विशेषज्ञले सिफारिस गरेका प्राथमिक औषधिहरू केन्द्रमार्फत नै वितरण हुन्छ। स्थानीय स्वास्थ्य चौकीमार्फत नै यस्ता औषधि उपलब्ध हुने भएकाले आँखाको दृष्टि गुम्ने असरलााई न्यूनीकरण गर्न सकिने सम्भावना छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?