नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा निर्वाचित भएका पारस खड्काले घरेलु क्रिकेट संरचनाको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्।
शनिबार भएको केन्द्रीय कार्यसमितिको निर्वाचनमा खड्काले ४८ मत पाएर निर्वाचित भएका थिए। उनका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका थिए। कुल ८५ मत खसेको थियो।
निर्वाचित भएपछि पारस खड्काले घरेलु क्रिकेटको संरचना विकास गर्नु आफ्नो पहिलो प्राथमिकताको विषय रहेको बताएका हुन्। उनले नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रूपमा अझ अघि बढाउने पनि बताए।
उनले अहिलेको नेपाली क्रिकेट टिम परिपक्व भएको र आफूले खेल्दा भएको सम्बन्धका आधारमा नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरको पार्टनरशीप गर्ने सोचेको पनि उनले बताए। ‘नेपाली टिम परिपक्व छ। मैले क्रिकेट खेल्दा राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्बन्ध बनाएको छु, त्यसको आधारमा नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरको पार्टनरशीपमा सोचेको छु,’ उनले भने।