अर्घाखाँची । नेपाल निजामती कर्मचारी युनियन (संघ) अर्घाखाँचीले संघका केन्द्रिय पदाधिकारीसंग साक्षात्कार एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सन्धिखर्क स्थित बिपी स्मृती भवनमा संघका कर्मचारीहरुको अवस्था, वर्तमान अवस्था र आगामी रणनीतिबारे केन्द्रिय पदाधिकारीसंग छलफल भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी कांग्रेस जिल्ला सभापती बिष्णु प्रसाद खनाल मुस्कानले कर्मचारी युनियन (संघ) पार्टीको मेरुदण्ड रहेको बताएका छन् । हरेक परिवर्तनको आन्दोलनमा संघले पार्टीलाई उर्जा दिएको उनले बताए । कर्मचारी स्थाई सरकार भएकाले जनता र देशको हितमा काम गर्नुपर्ने उनको भनाई छ । राजनितिक दल र नेताहरुको दबावमा उनीहरुको गोटी भएर प्रयोग नहुन समेत् उनले आग्रह गरे ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन (संघ) का बरिष्ठ केन्द्रिय उपाध्यक्ष सुरेन्द्र अधिकारीले कर्मचारीहरुको हकहितमा न्युन मान्छेले मात्र सोंच्ने गरेको बताए । जागिर मात्र नभएर सेवाभावले कर्मचारीले काम गरिरहेको भएपनी उनीहरुले त्यो सम्मान पाउन नसकेको बताए । यो सरकारले नागरिकहरुले ठुलो बलिदानबाट प्राप्त गरेका नैसर्गिक अधिकारमाथि एक पछि अर्को गर्दै प्रहार गरेको आरोप पनी लगाए । हिंजो सुभेच्छुक पार्टी नेपाली कांग्रेस सत्तामा हुँदापनी निजामती कर्मचारी युनियन (संघ) का कुनैपनी पदाधिकारीले दास भएर काम नगरेको स्मरण गर्दै उपाध्यक्ष अधिकारीले अहिले अन्य संगठनका साथीहरु पार्टीको झोला बोकेर हिंडेको बताए ।
कार्यक्रममा कांग्रेस जिल्ला उपसभापती शान्ता भण्डारी, सचिव बिष्णु भुसाल, नेपाल निजामती कर्मचारी युनियन (संघ) का केन्द्रिय उपाध्यक्ष एकनारायण काफ्ले, विनोद अधिकारी, पुर्व केन्द्रिय सदस्य देवराज सापकोटा, महासमिती सदस्य केशब श्रेष्ठ, शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरे, महाधिवेशन प्रतिनिधी कृष्ण खनाल, तरुणदलका जिल्ला अध्यक्ष नारायण खड्का, नेविसंघ जिल्ला अध्यक्ष भरतमणी भट्टराई, पत्रकार महासंघका सचिव सुर्यप्रसाद भुसाल, आधिकारिक ट्रेड युनियन जिल्ला अध्यक्ष झविन्द्र खनाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सन्धिखर्कमा कार्यरत नायब सुब्बा राजन पाण्डे नेपाल निजामती कर्मचारी युनियन (संघ) को जिल्ला सहसचिवमा र बालकृष्ण पाण्डे सदस्यमा मनोनित भएका छन् । यस्तै संघिय खानेपानी तथा ढल निकास कार्यालयमा कार्यरत सहायक कम्प्युटर अपरेटर बसन्त पौडेल अन्य संगठन त्यागी नेपाल निजामती कर्मचारी युनियन (संघ) मा आबद्ध भएका छन् । युनियन संघमा आबद्ध हरेक कर्मचारीले निष्ठापुर्वक र मुस्कान सहितको सेवा प्रदान गर्ने पुर्व अठोटलाई अझ प्रभावकारी बनाउने सहमती पनी भएको छ ।
कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन (संघ) का जिल्ला अध्यक्ष शेषकान्त घिमिरे ओसनको अध्यक्षता, संघका जिल्ला उपाध्यक्ष माधब अर्यालको स्वागत मन्तव्य र सचिव रवी अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अतिथीहरुलाई सम्मान र मायाँको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा कंग्रेस निकट विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाल निजामति कर्मचारी युनियन संघमा आवद्ध निजामति कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।