प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधान जारी भएको खुसियाली मनाउनुपर्ने दिनमा दिन दहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले यस्तो कार्यको अन्त्य गर्नुपर्ने बताएका छन्।
संविधान दिवसका दिन राष्ट्रपतिले जेल सजाय पाएका व्यक्तिको कैद मिनाहा गर्ने नाममा दिनमा दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्तिप्रति रास्वपाको घोर विरोध रहेको उनले बताए।
जनताको बलिदानबाट आएको लोकतन्त्रको संविधानलाई देशले आशा, भरोसा गरेको बताउँदै उनले यो संविधान बनाउँदा त्यति नै लगानी भएको बताए। तर, यस संविधान बनाएको दिनको मौकामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको माफी दिने काम बन्द गर्नुपर्ने उनले बताए।
‘जघन्य अपराध गर्ने, मानिसलाई दिउँसै हत्या गर्ने र आजीवन सजाय पाएको मान्छेलाई जनताले खुसियाली मनाउने दिनमा माफी दिनुले प्रणालीलाई खराब बनाउने उनको तर्क थियो।
यसैगरी, उनले पेट्रोलियम पदार्थाको मूल्य वृद्धिबारे भने, ‘आयल निगम व्यापार पनि आफैं गर्छ, आयात पनि आफैं गर्छ। नियामक निकाय पनि उही हो, सबै कुरा आफैं गर्छ। भन्छ, घाटामा छु। कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ, तर यो सधैँ घाटामा रहन्छ। घाटा के हो? सधैं यो देशले घाटा सहिरहनुपर्ने कुराको निक्र्योल होस्। राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको घोर विरोध गर्न चाहन्छ। स्वचालित प्रणालीका कारणले भएको हो भन्ने हो भने अन्तर्राष्ट्रिय बजारमा घटेका बेला यसले मूल्य किन घटाउँदैन, दुई दिन तीन दिन किन लगाउँछ?’