घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीद्वारा शितगंगा नगरपालिकामा विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको छ । दसैं लगायतका चाडबाड नजिकिएका बेला घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमनलाई तिव्र पारेको छ ।
चाडपर्वको समयमा हुने कालोबजारी तथा अखाद्य बस्तु बिक्री हुन सक्ने सम्भावनालाई मध्यनगर गर्दै अनुगमन गर्ने क्रममा शितगंगा नगरपालिकाको वडा नम्बर १२ तथा वडा नम्बर ४ का बिभिन्न पसलहरुमा अनुगमन गरिएको हो । हिलेखोला, चाक्ला तथा अमराइका बिभिन्न पसलमा टोलीले अनुगमन गरेको हो । अनुगमनमा म्याद नाघेका सामानहरु बरामद गरिएको थियो ।
दर्ता नभएका पसलहरुलाई नगरपालिका र सम्बन्धित निकायमा दर्ता गर्न अनुरोध गरिएको छ । मापदण्ड बिपरित सञ्चालन गरिएका पसलहरुलाई तल्काल सुझाव सहित मापडण्डमा रहन भनिएको छ । बजार अनुगमनका क्रममा खाद्यान्न सामाग्रीहरु बढी मुल्यमा बेचेको, बिल बिनै खरिद बिक्री गर्ने, बिल प्रयोग नगर्ने गरेको पाइएको छ । साथै पेय पदार्थहरु, चाउमिन प्याकेटहरु, मसला, पेन्ट लगायतका विभिन्न सामाग्री म्याद गुज्रेको पाईएपछी जफत गरी नष्ट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यको नेतृत्वमा रहेको अनुगमन टोलिमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत सन्तोष खनाल, इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी सहायक निरिक्षक डम्बर बुढाथोकी, उद्योग बाणिज्य संघ शितगंगाका प्रतिनिधी नारायण बन्जाडे, शितगंगा नगरपालिका राजश्व शाखाका कमल पन्थी, पत्रकार महासंघका प्रतिनिधी लगायतको टोलीले बजार अनुगमन गरेको हो ।