१७ जेष्ठ २०८१, बिहिबार
१७ जेष्ठ २०८१, बिहिबार

नाटकमा ‘नेपाली चिया’ को कथा

हरियो गलैंचाझैं चियाबारीमा एक हुल श्रमिक महिला धमाधम चियापत्ती टिप्दैछन्। गाउँको एक झुपडीमा ठूलो कालो कित्लीमा भकभक चिया उम्लिरहेको छ। लिम्बू संस्कृति झल्किने घरमा पाकिरहेको चिया झर्केबटुकामा सुक्र्याउँदै गाउँले दुःख–सुखको भलाकुसारी गर्दैछन्।

उनीहरूको गफको विषयवस्तु छ– ‘एक सय ६० वर्षयता पिता पुर्खादेखि पसिना चुहाएर आफूहरूले इतिहास बनाएको चियाको अवस्था किन अहिलेसम्म सुध्रिन सकेन ? हामीलाई किन सधैं पुस्तैनी दुःखले छाडेन ?’

इलामको कुनै गाउँको चियाबारीमा श्रमिकले पत्ती टिपिसकेपछि त्यसलाई उद्योगसम्म पुर्‍याउन व्यापारी पनि आइपुगेका छन्। उनलाई नेपाली रुपैयाँभन्दा डलरको मूल्य घटबढमा चाहिँ बढी चासो छ। किनकि, डलरको भाउ घटबढले उनले संकलन गरेर बेचेको चियालाई सोझो असर पुग्छ, व्यापारी, उद्योगी, आफू हुँदै चिया किसान र श्रमिकसम्म पुग्छ त्यो।

डलरको भाउ घटे चियाको मूल्य पनि घट्छ र बढे बढ्छ। करिब तीन दर्जन देशमा निर्यात हुने नेपाली तयारी चियाको गुणस्तरमा पनि उनी उत्तिकै चिन्तित देखिन्छन्। र, बेला–बेला श्रमिकलाई पनि पत्तीको गुणस्तरमा ध्यान दिन सचेत गरिरहन्छन्। चिया किसानका समस्याको वास्तविक प्रस्तुति ‘किसान’ ले दिइरहेकै छन्।

यो कथा इलामका चिया खेती हुने अधिकतर गाउँको वास्तविक कथा नै हो। तर, माथिका दृश्य चाहिँ सदरमुकाममा मञ्चन भइरहेको नाटक ‘चियाबारी: मीठो चियाको कथा’ का हुन्।

नेपालमै पहिलो पटक चिया खेती गरिएको इलामका युवाले करिब छ महिनाको अथक मेहनतपछि चियाको कथालाई मञ्चमा उतारेका हुन्, त्यो पनि कलाका रूपमा।

चियाको यही कथा हेर्न र अझ गहिरोसँग बुझ्न चाहने विद्यार्थी, युवादेखि वृद्ध वृद्धासम्म सदरमुकामको ठूलो टुँडिखेलछेउको नारी विकास संघ सभा हलमा दिनैपिच्छे लाइन लागिरहेका छन्। व्यवस्थित थिएटर हल नभए पनि उपलब्ध स्रोत–साधनको भरपुर सदुपयोग गर्दै चेतना नाट्य समूहका युवाले चियाको कथा जिल्ला, देश र संसारभर पुर्‍याउने प्रयत्न गरिरहेका छन्।

नाटकमा चियाको गर्विलो इतिहास बोलिएको छ, चिया र इलामको अन्योन्याश्रित सम्बन्ध केलाइएको छ र यसको उत्पादन, गुणस्तर, प्रशोधन, व्यापार, आम्दानी सबैजसो क्षेत्रको कथा छ। अझ मज्जाले चाहिँ चियासँग जोडिएको इलामे संस्कृतिलाई युवा निर्देशक अन्वेश थुलुङले जीवन्त बनाउने प्रयास गरेका छन्। र, इलामदेखि पाँचथरसम्मका स्थानीय युवा कलाकारको मेहनत यस्तो छ कि, दर्शकलाई लाग्छ– म नाटक हेरिरहेको छैन, इलामको कुनै गाउँ घुमिरहेको छु, जहाँ चियाको व्यावसायिक खेती हुन्छ।

इलामका गाउँघरमा कोही पाहुना घरमा आउँदा उसलाई सबैभन्दा पहिला चिया दिएर स्वागत गर्ने चलन छ। आधा दशक अघिसम्म गाउँघरमा दूध हालेको तर चिनी नहालेको चिया सबैको रोजाइ बन्थ्यो।

चियाको ‘गाउँले ब्रान्ड’ थियो त्यो। बिहान सबेरै उठेर सबैभन्दा पहिला पिउने तरल नै चिया हुन्थ्यो र अहिले पनि छ। कुनै पाहुनाले चिया पिउँदैन भन्ने थाहा पाएकै भएपनि उसको सम्मानका लागि चिया ल्याएर टक्र्याउने इलामे संस्कृति जीवितै छ। केही वर्षयता चाहिँ चिया पनि स्वादअनुसार फरक–फरक उत्पादन र प्रयोग भइसकेको छ– ब्ल्याक, ग्रिन, ह्वाइट, सिल्भर, गोल्ड, चियाको जुस र अरू–अरू थुप्रै।

नाटकले इलामे चिया संस्कृतिलाई पनि अभिनयका माध्यमबाट दर्साउन खोजेको समूह अध्यक्ष सुरेश पोर्तल बताउँछन्। त्यति मात्र होइन, चिया किसानका समस्या, श्रमिकका दुःख र आर्थिक अभाव, चियाको बजार समस्या, चियाप्रतिको सरकारी बेवास्ता, विदेशी मुद्रा आर्जको गतिलो सम्भावना बोकेको चिया खेतीप्रति युवाको वितृष्णालगायत विषयलाई कलात्मक हिसाबले नाटकमा दर्साइएको छ।

‘यसलाई केबल नाटक मात्र सम्झनुहुँदैन, यो नाटक मात्र हैन। कलामार्फत हामी अभियान सुरुआत गर्न खोजिरहेका छौं,’ पोर्तेल भन्छन्, ‘यसमा लगभग नेपालका ८० प्रतिशत अर्थाेडक्स चियामा निर्भर समाजको कथा छ, त्योभन्दा धेरै यसलाई अभियान नै भनेर बुझ्नुपर्छ।’

महेन्द्ररत्न बहुमुखी क्याम्पसको इतिहास विषयका अध्यापक मोहनसिंह थेबे चिया इलामको इतिहाससँग जोडिएको र नाटकमा त्यसैलाई कलात्मक हिसाबले प्रस्तुत गरेको पाइएको प्रतिक्रिया दिन्छन्। ‘नाटकमा चियाका सबैजसो समस्या, वास्तविकता र सम्भावना झल्काइएको रहेछ,’ उनले भने, ‘चियामै तीन–चार पुस्ता बिताउने, चियामै जुनी बिताउने श्रमिक र किसानको कथा नाटकमा राम्रोसँग उतारिएको रहेछ।’

चिया व्यापारी तथा इलामको पर्यटन प्रवर्द्धनमा क्रियाशील युवा हरि गुरुङ नाटकमा इलामको इतिहास, इलामको सान, पौरखी इलामेली किसान र उद्यमीको पसिनाका कथा देख्न पाएको बताउँछन्।

‘नाटकमा चिया किसानको समस्या, ठेकेदारको शोषण, मजदुरको पीडा, अन्तर्राष्ट्रिय बजार समस्या, सरकारको उदासीन अर्थनीति, अर्थोडक्स चियाको बजारीकरणमा चेतना अभाव, चियामा सम्भावना नदेखेर विस्थापित युवा पिँढीको कथा देखाइएको रहेछ,’ उनले भने, ‘त्यससँगै नाटक सिर्जना गर्ने युवाको मेहनत तारिफयोग्य देखियो।’

उनले चियामा आधारित विषयवस्तुको परिधिमा केही हास्य, रौद्र रस र करुण रस मिसाउँदा नाटक ‘सुनमा सुगन्ध’ हुने पनि बताए। इलामको इतिहासमा चियाको विषय प्रस्तुत गरिएको सम्भवतः यो पहिलो नाटक हो।

‘सीमित स्रोत र साधन प्रयोग गरी यति दमदार नाटक प्रस्तुत गर्नु आफैंमा चुनौतीपूर्ण काम हो तर इलामका युवाले क्षमता प्रस्तुत गरेको देखियो,’ नाटक हेरेपछि युवा अर्जुन योङहाङले प्रतिक्रिया दिए, ‘नाटकले स्थानीय लोकसंस्कृति झल्काउनेदेखि चियाको विस्तार र विकासमा सरकारी बेवास्ताप्रति प्रश्नसमेत गरेको छ। चियासम्बन्धी खोज, अनुसन्धानका लागि यो नाटक एउटा सन्दर्भ सामग्री हो तर एक प्रकारले बृहत् खोजी पनि।’

असोज २२ देखि कात्तिक २ सम्म चलिरहेको डेढ घण्टाको नाटक प्रत्येक साँझ साढे ४ बजे सुरु हुन्छ। नाटक मञ्चनकै बेला चियाका सरोकारवालासँगको छलफलसमेत सञ्चालन गरिएको छ। र, नाटक हेर्न आउनेलाई इलामे अर्ग्यानिक चियासमेत चखाएर पठाउने गरिएको आयोजकले जनाएको छ।

निर्देशक थुलुङ चियाको कथा प्रस्तुतिसँगै सृजनशील युवामा कलाप्रतिको मोह बढाउन नाटक तयार गरिएको बताउँछन्। ‘प्रविधि र सञ्चारको युगमा समेत नाटकप्रतिको माया इलाममा लोभलाग्दो छ,’ उनी भन्छन्, ‘यसले हामी नाट्यकर्मीलाई हौसला दिने गरेको छ, यो नाटक पनि त्यसैको परिणाम हो।’

उनका अनुसार यो नाटक इलामे माटोको कथा देखाउने प्रयास हो र विश्वभर इलाम चिनाउने चियासँग जोडिएको संस्कृति संरक्षण तथा प्रचारको प्रयास पनि।

इलाममा १९२० सालमा देशमै पहिलो पटक चिया खेती भएको इतिहास छ। त्यसको करिब सवासय वर्षपछि किसानले समेत चियालाई व्यावसायिक बनाउन थालेका हुन्। अहिले इलामका हजारौं किसान चियामा आश्रित छन् भने देशका करिब दर्जन जिल्लामा चियाको व्यावसायिक खेती हुने गरेको तथ्यांक छ।

विश्वका करिब ३२ देशमा बर्सेनि झन्डै चार अर्ब रुपैयाँको नेपाली तयारी चिया विक्री हुने गरेको भएपनि नेपाली चियाको पहिचान चाहिँ विश्व बजारमा गुमनामझैँ छ। चिया खेतीको यतिका वर्ष भइसक्दा पनि किसानले हरियो चियाको मूल्यबाट लगानी उठाउनसमेत धौधौ छ।

चिया श्रमिकले कानुनले तोके अनुसारको सेवा–सुविधासमेत पाउन सकेका छैनन् भने चिया निर्यातमा बारम्बार देखिने गरेको अवरोधले व्यवसायी आजित छन्। यिनै कथालाई नाटकका माध्यमबाट ध्यानाकर्षण गर्ने प्रयास गरेको निर्देशक थुलुङको भनाइ छ। @nagariknews.com

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?