६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

इजरायल–प्यालेस्टाइन संघर्षको ऐतिहासिक कारण

पामिर गौतम ।

अघिल्लो शनिबार बिहान प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा भयानक आक्रमण गर्‍यो, जसले पूरै दुनियाँलाई चकित पार्‍यो । प्रतिशोधका रूपमा इजरायलले तुरुन्तै युद्धको घोषणा गर्‍यो र हमासद्वारा नियन्त्रित गाजापट्टीमा जवाफी कारबाही सुरु गर्‍यो । इजरायल र प्यालेस्टिनबीचको पछिल्लो संकटमा अहिलेसम्म सयौँ इजरायली तथा प्यालेस्टिनी सैनिक र नागरिक मारिएका छन् । संसारको सबैभन्दा पुरानो र जारी द्वन्द्वमध्ये एक रहेको इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको केन्द्रमा छ, एक विवादित भूमि । विशेषगरी जोर्डन नदी र भूमध्यसागरबीचको क्षेत्रमा बस्ने अधिकार कसलाई र कुन अवस्थामा छ भन्ने विषयमा दुवै पक्षबीच गम्भीर विवाद छ । हालको द्वन्द्वको जरा २०औँ शताब्दीमा गढेको भए पनि यसलाई बुझ्न त्यस ठाउँको ऐतिहासिक र वर्तमान पृष्ठभूमि बुझ्न जरुरी छ ।

तोराह र कुरान दुवैअनुसार यहुदी र अरब दुवै एउटै स्रोतबाट व्युत्पन्न भएका थिए । बाइबलीय उत्पत्तिको पुस्तकअनुसार अब्राहमलाई भगवान्ले अज्ञात भूमिमा नयाँ राष्ट्र स्थापित गर्न निर्देशन दिएका थिए, जुन कनान (वर्तमान इजरायल र प्यालेस्टाइनको क्षेत्र) थियो । हिब्रु भनेर चिनिने अब्राहमका जनजातिले प्यालेस्टाइनलाई आफ्नो वासस्थल बनाए, जहाँ पहिले नै विभिन्न समुदायको बसोवास थियो र भूमि इजिप्टको अधीनमा । धार्मिक पुस्तकका अनुसार कनानमा अब्राहमका दुई छोरा भए– श्रीमती साराबाट छोरा इसाक जन्मिए भने हागर नामक मिश्री दास स्त्रीबाट इस्मायल । कथाअनुसार परमेश्वरले अब्राहमलाई सारा ‘राष्ट्रकी आमा’ हुने बताएका थिए, तर निकै वर्षसम्म निःसन्तान रहेकी साराले परमेश्वरको वाचा पूरा हुने आसमा अब्राहमलाई आफ्नी दासी हागर दिन्छिन् ता कि हागरले उनीहरूका लागि बच्चा जन्माउन सकून् । तर, ९० वर्षको उमेरमा साराबाट इसाकको जन्म हुन्छ । त्यसपछिको राजनीतिक र धार्मिक गतिविधिले इसहाकलाई अब्राहमको एक मात्र उत्तराधिकारी बनायो भने इस्मायल र हागरलाई मरुभूमिमा निर्वासित गरियो । बाइबलीय कथाअनुसार भगवान्ले हागरलाई मरुभूमिमा भेटेर इस्मायलले पनि आफ्नो एउटा ठूलो राष्ट्र खडा गर्ने बताएका थिए । त्यसपछिका समयमा इस्मायलका वंशज अरब भनेर चिनिन थाले भने इसाकका यहुदी । यसरी, अरब र यहुदी भाइभाइ हुन् । दुवैले अब्राहमलाई आफ्ना साझा पिताका रूपमा मान्छन् । एक हिसाबले हेर्ने हो भने अब्राहमलाई भगवान्ले निर्देशित गरेका राष्ट्र तर्कसंगत रूपमा अब्राहमको विस्तारित परिवारका दुवै शाखामा फैलिएको छ । फरक यति छ, तोराहले यो केवल यहुदीका लागि हो भनी दाबी गर्छ भने कुरानले केवल अरबका लागि ।

इजरायल र प्यालेस्टाइन दुवैतर्फका राजनीतिक वृत्त र आमजनतामा यस संकटको शान्तिपूर्ण समाधान हुनुपर्छ भन्ने धारणामा कमी आएको देखिनु गम्भीर चिन्ताको विषय हो 

पुरातन इजरायली समाजको स्थापनापश्चात् यसले विभिन्न कालखण्डमा विभिन्न विपत्तिको सामना गरेको थियो । धेरै शताब्दीसम्म इजरायलको क्षेत्रलाई बेबिलोनिया साम्राज्य, फारसी, रोमन, ग्रिक, अरब, फातिमिद, सेल्जुक टर्क, क्रुसेडर, इजिप्सियन, मामलुक र अन्त्यमा ओटोमन साम्राज्यहरूले विभिन्न समयमा शासन गरेका थिए भने विकसित राजनीतिक परिवेशले धेरैलाई विभिन्न स्थानमा स्थापित र विस्थापित पनि गरेको थियो । आधुनिक कालमा भने ओटोमन साम्राज्यले १५१७ देखि १९१७ सम्म इजरायल क्षेत्रसहित पश्चिम एसियाको धेरै भागमा शासन गर्‍यो । एक तथ्यांकअनुसार १९औँ शताब्दीको सुरुमा प्यालेस्टाइनका रूपमा परिभाषित गरिएको क्षेत्रको यहुदी जनसंख्या केवल तीन प्रतिशत थियो । यस क्षेत्रका अधिकांश बासिन्दा अरब थिए, जसले सातौँ शताब्दीमा अरबले विजय हासिल गरेपछि यस क्षेत्रलाई ओगटेका थिए । १८८० को दशकको अन्त्यदेखि १९०० को सुरुवातसम्म, युरोपमा व्याप्त यहुदीविरोधी भावनाले लाखौँ यहुदीलाई युरोपबाट भाग्न बाध्य बनायो । यसरी युरोप छाडेर बाहिर जान बाध्य बनाइएका यहुदी आप्रवासीमध्ये लगभग तीन प्रतिशत प्यालेस्टाइन गए । पहिलो विश्वयुद्धको सुरुसम्म प्यालेस्टाइनको यहुदी जनसंख्या कुल जनसंख्याको दश प्रतिशत पुगेको थियो ।

१९औँ शताब्दीको युरोपेली राष्ट्रवादको उदयबाट प्रभावित त्यहाँका यहुदीमा पनि यहुदी मातृभूमिको चाहना बढायो । युरोपमा व्याप्त यहुदीविरोधी भावनाले त्यस चहनालाई थप बढाएको थियो । १८९६ मा एक एस्ट्रो–हंगेरी यहुदी विद्वान् थियोडोर हर्जलले यहुदी राज्य नामक प्रकाशन प्रकाशित गरेका थिए, जसले एक यहुदी राष्ट्र निर्माणका लागि बौद्धिक आधार निर्माण गरेको थियो । तर, यहुदीका लागि बेग्लै राष्ट्र कहाँ बनाउने भन्ने विषयमा दुईवटा धार देखिए । एकथरिलाई ठाउँभन्दा पनि यहुदी राज्य निर्माण प्रमुख थियो भने अर्को पक्ष प्यालेस्टाइनमै राज्य स्थापना गर्न कटिबद्ध देखियो । यस विवादबीच १९०५ मा बासेलको सातौँ यहुदी कंग्रेसले धार्मिक र ऐतिहासिक सम्बन्धलाई ध्यान दिन आवश्यक मान्दै प्यालेस्टाइनमै यहुदी राज्य स्थापना गर्नुपर्ने निर्णय गर्‍यो ।

पहिलो विश्वयुद्धमा ओटोमनको हारपछि बेलायतले ‘प्यालेस्टाइन जनादेश’का नाममा वर्तमान प्यालेस्टाइनलाई नियन्त्रणमा लियो र दोस्रो विश्वयुद्धपछिसम्म पनि यस क्षेत्रमा प्रशासनिक नियन्त्रण कायम राख्यो । प्यालेस्टाइनलाई आफ्नो नियन्त्रणमा लिएसँगै बेलायती विदेश सचिव बालफोरले बालफोर घोषणापत्र जारी गरे, जसअनुसार बेलायत सरकारले प्यालेस्टाइनमा यहुदीका लागि राष्ट्र स्थापना गर्न भूमिका खेल्ने बताइएको थियो । यस घोषणाद्वारा बेलायत आफ्नो रणनीतिक स्वार्थपूर्ति गर्न चाहन्थ्यो । पहिले त प्यालेस्टाइनमाथि नियन्त्रण कायम राखेर इजिप्ट र स्वेज नहरलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्नु बेलायतको रणनीतिक स्वार्थ थियो भने अर्कातर्फ बेलायतमा रहेको यहुदी समुदाय र बेलायती सरकारबीचको बलियो सम्बन्ध थियो । यस घोषणाद्वारा अमेरिका र रुसमा रहेका यहुदी समुदायलाई प्रभावमा पारेर युद्धका समयमा सहयोगी शक्तिबीचको एकता कायम राख्न चाहन्थ्यो । बालफोर घोषणासँगै बेलायतीले प्यालेस्टाइनमा युरोपेली यहुदीको आप्रवासनलाई सहज बनाउन थाले ।

एकातर्फ आफ्नो बेग्लै राज्य अर्कातर्फ सन् १९२० को दशकमा जर्मनीमा नाजीवादको उदय, यी दुई कारणले यहुदीको प्यालेस्टाइनमा बसाइँ सर्ने क्रम तीव्र रूपमा बढ्यो । १९३२ मा जर्मनीमा नाजीको विजयले जर्मनी, अस्ट्रिया र चेकोस्लोभाकियामा यहुदीहरू उत्पीडनमा परेका थिए । १९३२ र १९३९ का बीचमा प्यालेस्टाइनमा दुई लाख ४७ हजार यहुदी शरणार्थी थिए, जसमध्ये ४६ प्रतिशत युरोपबाट आएका थिए । एक तथ्यांकअनुसार १९३९ देखि १९४५ सम्म नाजी र तिनका सहयोगीले ६० लाख यहुदीको हत्या गरेका थिए । नरसंहारको त्रासबीच यहुदीहरू १९३९ पछि सम्भव भएसम्म युरोपबाट भाग्न जारी राखे र तिनका लागि प्यालेस्टाइन तुलनात्मक रूपमा पहुँचयोग्य थियो । १९४६ सम्म प्यालेस्टाइनको लगभग ६ प्रतिशत जमिन यहुदीको स्वामित्वमा थियो भने १९४७ सम्म प्यालेस्टाइनको लगभग एकतिहाइ जनसंख्या यहुदी थियो । ब्रिटिस औपनिवेशिक शासनको अधीनमा निसास्सिरहेका अरबहरू ठूलो संख्यामा युरोपेली यहुदीको आगमन र प्यालेस्टाइनमा स्वतन्त्र यहुदी राज्य स्थापना गर्ने यहुदी संगठनहरूको अभिप्रायले झन् त्रसित थिए । दोस्रो विश्वयुद्धको संघारमा अरबहरूको समर्थन जुटाउने लालसामा बेलायतीले यहुदी आप्रवासन रोक्न आफ्नो नीति बदलेका थिए । तर, परस्थिति नियन्त्रणबाहिर गइसकेको थियो । दुई समुदायबीचको तनाबले प्यालेस्टाइन भूमिमा आफ्नो पकड बलियो बनाउन दुवै अरब र यहुदी मिलिसियाको स्थापना गर्‍यो । यस्ता गतिविधिले दुई समुदायबीचको हिंसामा उल्लेख्य वृद्धि भयो । दोस्रो विश्वयुद्धपछि अरब र प्यालेस्टाइनी मिलिसियाद्वारा बढ्दो आक्रमणले बेलायतलाई संयुक्त राष्ट्रसंघलाई स्थिति समाधान गर्न आग्रह गर्न बाध्य तुल्यायो ।

२९ नोभेम्बर १९४७ मा संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई यहुदी र अरब राष्ट्रमा विभाजन गर्न सिफारिस गर्ने प्रस्ताव पारित गर्‍यो । प्रस्तावअनुसार प्यालेस्टाइनको ५६.४७ प्रतिशत भूभाग यहुदी राज्य स्थापना गर्न र ४४.५३ प्रतिशत प्यालेस्टाइनी अरबलाई छुट्याइयो । यहुदी प्रतिनिधिले यसलाई स्वीकार गरे पनि प्यालेस्टिनीहरूले विभाजनलाई अनुचित बताउँदै सो योजना अस्वीकार गरे । प्यालेस्टिनीका लागि कुल जनसंख्याको ३३ प्रतिशत मात्र रहेका यहुदीलाई ५६.४७ प्रतिशत भूभाग दिनु अन्यायपूर्ण थियो । यसमा पनि अधिकांश यहुदी नयाँ थिए, जब कि प्यालेस्टाइनका अरबहरू त्यहाँ शताब्दीयौँदेखि बस्दै आएका थिए । धेरैजसो पश्चिमी देशले यस योजनालाई संयुक्त राष्ट्रसंघमा समर्थन गरे पनि अरब देशका साथै अधिकांश अफ्रिकी र एसियाली देशले यसको विरोध गरे । इजिप्ट, जोर्डन र इराकले त संयुक्त राष्ट्रसंघको विभाजन योजनाको विरोधमा हतियार उठाउने धम्की नै दिएका थिए ।

मे १९४८ मा इजरायललाई एक स्वतन्त्र राष्ट्र घोषणा गरियो र डेभिड बेन गुरियन इजरायलका प्रधानमन्त्री बने । यस घोषणासँगै पाँच अरब राष्ट्रहरू, इराक, सिरिया, लेबनान, जोर्डन र इजिप्टले इजरायलमाथि आक्रमण गरे । १९४९ मा युद्धविराम घोषणा गरियो र सम्झौताअनुसार वेस्ट बैंक जोर्डनलाई दिइयो भने गाजापट्टी इजिप्टको हिस्सामा र पूर्वी जेरुसेलम जोर्डनको नियन्त्रणमा रह्यो । सात लाखभन्दा बढी प्यालेस्टिनी भागेर छिमेकी अरब देशमा शरणार्थी बने । यस युद्धलाई दुवै समुदायले फरक तरिकाले हेरेका छन् । इजरायलीका लागि यो स्वतन्त्रताको युद्ध थियो र आफ्नो अस्तित्व कायम राख्न अरबसँग लड्नुको विकल्प थिएन । अर्कातर्फ प्यालेस्टाइनीले यस युद्धलाई नाक्बा वा प्रकोप भन्छन्, किनभने तिनीहरू राज्यविहीन बनेका थिए ।

दुवै पक्षले विभिन्न घटनालाई फरक–फरक तरिकामा प्रस्तुत गरे पनि दुईबीचको संकटले दुवै इजरायली र प्यालेस्टिनीले लामो समयदेखि ज्यान गुमाइरहेका छन् र प्यालेस्टिनी अर्थव्यवस्थाको निरन्तर विनाश भइरहेको छ । यति मात्र होइन, यसले मध्यपूर्वी एसियालाई नै विश्वको सबैभन्दा अस्थिर र राजनीतिक रूपमा विस्फोटक क्षेत्रका रूपमा स्थापित गराएको छ । सबैभन्दा चिन्ताको विषय त यो छ कि दुवैतर्फका राजनीतिक वृत्त र आमजनतामा यस संकटको शान्तिपूर्ण समाधान हुनपर्छ भन्ने धारणामा चिन्ताजनक रूपमा कमी आएको देखिन्छ । इजरायली सार्वजनिक मनोवृत्ति आत्मघाती बम विस्फोट र प्यालेस्टाइनबाट इजरायली सहरहरूमा निरन्तर हुने आक्रमणद्वारा आकारिएको छ । त्यसकारण अधिकांश इजरायलीले यस्ता गतिविधिविरुद्ध लड्न प्यालेस्टिनी क्षेत्रको पुनः कब्जा र लक्षित हत्याजस्ता कडा कदमको समेत समर्थन गरेका छन् । अर्कातर्फ प्यालेस्टाइनमा पनि अधिकांश जनसंख्या विद्रोह वा प्रतिरोध आन्दोलनका पक्षमा छन्, जसमा हालै हमासले गरेका जस्ता आक्रमण पनि समावेश छन् । यस्ता धारणा विगत दुई दशकमा लगातार बढ्दै गएका छन्, जसले इजरायली कब्जा र हिंसालाई लिएर कट्टरपन्थी बनिरहेको जनसंख्यालाई प्रतिबिम्बित गर्छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?