१७ जेष्ठ २०८१, बिहिबार
१७ जेष्ठ २०८१, बिहिबार

दसैं बजार: चाडपर्वले अर्थतन्त्र चलायमान

मुलुकको अर्थतन्त्र सुस्ताएका बेला दसैंले राहत दिएको छ । दसैं नजिकिँदै गर्दा सामानको माग र उपभोग बढेर बजारमा पैसा जाँदा अर्थतन्त्र चलायमान भएको छ ।

दसैं, तिहार, छठलगायतका चाडपर्वमा नयाँ सवारीसाधन खरिद, नयाँ घर खरिद र निर्माण सुरु, घर रङरोगन, घरायसी विद्युतीय सामग्री खरिद, खाद्यान्न, तरकारी, फलफूल, मदिरा, लत्ताकपडा, खसी, बोका खरिदबिक्री हुँदा ठूलो परिमाणमा पैसा बजारमा आउँछ । यसले आर्थिक गतिविधि बढेर अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुग्छ ।

दसैंले बजारमा चहलपहल बढाएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । ‘दसैंमा सरकारी तथा निजी क्षेत्रमा काम गर्नेले तलबका अतिरिक्त दसैं खर्च पाउँछन् । उनीहरूले त्यो पैसा खर्च गर्छन्,’ मल्लले भने, ‘यसले बजारमा दैनिक उपभोग्य वस्तुको किनमेल बढाएको छ ।’ दसैं मिठोमसिनो खाने, राम्रो लगाउने चाड भएकाले उपभोग्य वस्तुको माग बढेको उनले बताए । ‘शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुगेको छ,’ मल्लले भने, ‘दसैंमा आम्दानी र खर्च दुवै बढ्ने भएकाले अर्थतन्त्रलाई राम्रै गर्छ ।’

दसैंमा सरकारी, गैरसरकारी, निजी कार्यालय र प्रतिष्ठानमा काम गर्ने कर्मचारीलाई तलबबाहेक दसैं भत्ता पनि दिइने भएकाले खर्च ह्वात्तै बढेको छ । अन्य समयको तुलनामा दसैंमा विदेशमा रहेका नेपालीले पनि रेमिट्यान्स धेरै पठाएका छन् ।

दसैं हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड भएकाले सरकारले एक साता बिदा दिन्छ । यो समयमा धेरै मानिस सहरी क्षेत्रबाट आफ्नो जन्म स्थल ग्रामीण क्षेत्रमा पुग्छन् । दसैंले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पनि सघाएको छ । कुनै निकायसँग आधिकारिक तथ्यांक नभए पनि दसैंका बेला एक अर्बभन्दा रूपैयाँ बढी खर्च हुने अनुमान छ ।

मुलुकमा निजामती, शिक्षक, सेना, प्रहरीलगायत करिब ५ लाख सरकारी कर्मचारी छन् । प्रतिकर्मचारीको मासिक तलब सरदर ३५ हजारका दरले हिसाब गर्दा एकमुष्ट १७ अर्ब ५० करोड रूपैयाँ हुन्छ । एक महिनाको तलबबराबर दसैं खर्च पाइन्छ ।

त्यसैगरी करिब सवा नौ लाख उद्योग, प्रतिष्ठान, कलकारखाना, साना तथा मझौला व्यवसायमा कार्यरत ३२ लाख कर्मचारी छन् । ती कर्मचारीले सरदर मासिक तलब १५ हजार रूपैयाँका दरले हिसाब गर्दा एकमुस्ट ४८ अर्ब रूपैयाँ हुन्छ । उनीहरूले तलबका अतिरिक्त दसैं भत्ता मात्रै करिब ६६ अर्ब रूपैयाँ पाउँछन् । यो बाहेक व्यापार व्यवसाय, खेतीपाती गर्नेले पनि दसैंमा राम्रै खर्च गर्छन् । वैदेशिक रोजगारीमा गएकाले दसैं मनाउन घरमा पैसा पठाउने गरेका छन् । यसरी हेर्दा दसैंमा करिब एक खर्ब रूपैयाँ बढी रकम खर्च हुने अनुमान छ । यसले अर्थतन्त्र विस्तारमा टेवा पुग्छ ।

दसैंमा बैंकिङ च्यानलबाट मात्र करिब ५०÷६० अर्ब रूपैयाँ बाहिरिने नेपाल राष्ट्र बैक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए ।

दसैंमा बजारमा पैसा जाने भएकाले अर्थतन्त्र चलायमान बनाउन केही राहत पुग्ने उनले बताए । ‘अर्थतन्त्रमा सर्ट टर्म बुस्ट हुन्छ,’ उनले भने । आन्तरिक उत्पादन कम खपत हुने र आयातित सामान बढी खपत हुने भएकाले यसले दीर्घकाललाई भने फाइदा नपुग्ने उनले बताए ।

‘उपभोग बढ्दा बजारलाई राहत त हुन्छ,’ उनले भने, ‘अधिकांश वस्तु आयातित भएकाले धेरै टिकाउ हुँदैनन् ।’ आन्तरिक उत्पादन बढाएर स्वदेशी खपत नबढाउँदासम्म अर्थतन्त्रलाई धेरै लाभ नहुने उनले बताए । दसैंमा टिभी, मोबाइललगायत सामग्री खरिद गर्दा पैसा विदेश जान्छ । दसैंमा सामानको खपत बढेकाले आयात पनि बढेको छ । विगतका वर्षमा जस्तो नभए पनि सामानको बिक्री बढेको छ ।

चाडपर्वले महँगी भने बढाउँछ । मागअनुसार वस्तुको आपूर्ति कम हुँदा स्वतः महँगी बढ्छ । चामल, चिनी, दाल, घिउलगायत खाद्यवस्तुको मूल्य बढेको छ । नियमनकारी निकायको भूमिका प्रभावकारी नहुँदा व्यापारीले धेरै नाफा खाएका छन् भने बिचौलिया हाबी भएका छन् । केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने गरेका छन् । माग र आपूर्तिमा तालमेल नमिल्दा मूल्य बढेको सरकारी अधिकारी बताउँछन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सुरुका दुई महिनामा मूल्यवृद्धि ८.१९ प्रतिशत पुगेको छ । यो उपभोक्ता बिन्दुको आधारमा भएको मूल्यवृद्धि हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत छ । यसले मूल्यवृद्धिको संकेत गर्छ ।

अझै मूल्यवृद्धि हुन सक्ने देखिएको छ । चाडपर्वका बेला कालोबजारीसमेत फस्टाउने गरेको छ । व्यापारीले चाडपर्वको मौका छोपी सामान महँगोमा बेच्ने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ‘बजारमा पैसा जाँदा अर्थतन्त्र चलायमान हुन्छ,’ उनले भने, ‘तर, व्यापारीले मनपरी मूल्य बढाउँछन् ।’

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?