२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

अर्घा दरबारबाट चोरी भएको मुर्ती ५० वर्षपछी भेटियो

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । विसं. २०३० सालमा हराएको मन्दिरको मुर्ती भेटिएको छ । सन्धिखर्क नगरपालिका ९ मा रहेको अर्घा भगवती मन्दिरबाट विसं. २०३० सालमा हराएको पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटिएपछी विधिवत रुपमा प्रतिस्थापन गरिएको छ ।

बाइसे–चौविसे राज्यअन्तर्गत पर्ने अर्घा मन्दिर तथा दरवारमा वैदिक विधिपूर्वक पूजाआजा गरी पञ्चेबाजा बजाएर शुभ साइतमा मन्दिरमा मूर्ति पुनः प्रतिस्थापन गरिएको सन्धिखर्क नगरका मेयर कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

५० वर्ष अँघी विसं. २०३० साल वैशाख २५ गते अर्घा भगवति मन्दिरबाट चोरी भएको पञ्चमुख भएका शंकर भगवानको मूर्ति शुक्रवार बिहान शुभ साइत जुराएर वैदिक विधिपूर्वक मन्दिरमा प्रतिस्थापन गरिएको हो । बाइसे–चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा पहिले धेरै देवी देवताका मूर्तिहरू रहेको र २०३० सालमा चोरहरूले मन्दिर फोडेर बहुमूल्य धातुका धेरै मूर्ति चोरी गरेका थिए । त्यसै मध्येको एक शंकर भगवानका मुर्ती रहेको अर्घा मन्दिरका पुजारी केशवराज आचार्यले बताए।

आचार्यका अनुसार मूर्ति हराएपछि खोजतलास गर्दै जाँदा अदालतमा मुद्दा चलेको थियो । हराएका मुर्ती मध्येको एउटा मूर्ती तत्कालीन अञ्चल अदालतमा रहेको भन्ने जानकारी प्राप्त भएपछि खोजीकार्य गरिएको थियो । स्थानिय बुढापाका, सरोकारवाला तथा जानकारहरुले सनाखत गर्दा अर्घा दरबारको मुर्ती नै हो भन्ने यकिन भएपछी ल्याएर प्रतिस्थापन गरिएको हो । ‘जाँचबुझ गर्दा पञ्चमुख भएको मूर्ति अर्घा दरबारकै हो भन्ने प्रमाणहरु फेला परे,‘पुजारी आचार्यले भने,‘सनाखत गरेर अदालतबाट मूर्ति ल्याएर शुभ साइतमा प्रतिस्थापन गरेका छौं ।’

५० वर्षदेखी हरएको मूर्ती झण्डै ४ सय वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ । बडादसैंमा विशेष पूजाआजा हुने यस मन्दिरमा देवी भागवत, वेद पाठ पारायण तथा दूर्गा सप्तसती पाठ हुनुका साथै कोजाग्रत पूर्णिमाको दिन विशेष सराएँ नाच हुने गर्दछ ।

मुर्ती पुनः स्थापना कार्यक्रमा सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, नगर उपप्रमुख मिश्रा आचार्य, चारवटै सुरक्षा निकायका प्रमुख, स्थानिय जनप्रतिनिधि, स्थानियवासी लगायतको उपस्थितिमा बाजागाजा सहित भित्राईएको अर्घा भगवती मन्दीर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले जानकारी दिए।

तस्विर- श्याम घिमिरे ।

तपाईको प्रतिक्रिया
  • खुसी (93%)
  • दुःखी (0%)
  • अचम्मित (7%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?